Advertisement Banner
Advertisement Banner

०८ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

कूटनीतिक क्षमतामा प्रश्नैप्रश्न

०१ मंगलबार , आश्विन २०८१७ महिना अगाडि

कूटनीतिक क्षमतामा प्रश्नैप्रश्न

कुनै दिन नेपालले के बोल्छ भनेर विश्वले कान ठाढो पारेर सुन्थ्यो । आज नेपालको कूटनीतिक क्षमता राजदूत पदसमेत राजनीतिक भागबण्डा, व्यभिचार, लेनदेन, किनबेच, नातावाद, कृपावादको चङ्गुलमा परेपछि जेजति कूटनीतिक सम्मानको संचिति थियो, त्यो सबै समाप्त हुनपुगेको छ ।
३२ वर्षमा ३० सरकार बन्नु, सरकारैपिच्छे राजदूत नियुक्ती हुने, फिर्ता बोलाउने र आफ्नो तरिकाले नियुक्ति गर्ने प्रचलनले नेपालको कूटनीतिक क्षमतामा ह्रास आएको छ । त्यसै पनि नेपालले असंलग्नता र पञ्चशीललाई पराइको दबाब र प्रभावमा त्याग्ने नजीर स्थापित गर्नाले पनि नेपालको कूटनीतिक सम्बन्ध कमजोर बन्दै गएको छ ।
सरकारले विभिन्न मुलुकमा राजदूत नियुक्त गर्न सिफारिस गरेका राजदूत कति सक्षम, कति काविल, कति कूटनीतिक दक्षता भएका, कति सिफारिस भएका मुलुकको बारेमा जानकारी राख्ने, कति नेपालको छवि उज्याल्याउन र नेपालमा लगानी भित्र्याउन तथा नेपालसँग मैत्रीभाव–सम्बन्ध बढाउन सक्ने खालका होइनन् भन्ने विषय ती राजदूतहरूको संसदीय सुनवाईका अवसरमै खुलस्त हुनपुगेको छ ।
प्रस्तावित राजदूतहरूले अमेरिकी राष्ट्रपतिलाई नेपाल घुमाउन ल्याउनसक्ने, बेलायतका बृटिस गोर्खाका लामो समयदेखि मुद्दामा रहेको समस्या सुल्झाइदिने, खाडीमा सकेसम्म बढी कामदार लैजाने, फूटबल खेलाडीका देशमा सिफारिस भएका राजदुतले त फूटबलर रोनाल्डिनोलाई नै नेपाल ल्याउनेसम्मका योजना बताए । चीनले महत्व दिइरहेको बीआरआई होइन, हिमालयन कनेक्टिभिटी हुनुपर्छ भने । अर्काले इजरायलको युद्ध नै रोकिदिने क्षमता रहेको बताए । अर्काले रूस र युक्रेनको युद्ध रोक्न सक्ने बताएका थिए भने अर्काले भारतसँग सम्बन्ध आफूले सुधार्न सक्ने बताएका थिए ।
सुनवाईमा बसेका सांसदहरू प्रस्तावित राजदूतहरूका कुरा सुनेर दङ्ग परिरहेका थिए । कुनै पनि सांसदले नेपालको प्रतिनिधित्व गरेपछि राजदूतका रूपमा गर्नुपर्ने काम के के हुन् ? कसरी गर्नुहुन्छ ? पेश भएका योजना हावादारी भएनन् र भनेर सोधेनन् ।
प्रस्तावित राजदूत कसैले पनि परराष्ट्र मन्त्रालयबाट प्राप्त गाइडलाइनमा काम गर्छु भनेनन् । तिनका कार्ययोजना, सुन्दा लाजलाग्ने थियो । के गर्ने एउटा सरकारले नियुक्त गर्ने, अर्कोले फिर्ता बोलाउने, नयाँ नियुक्ती गर्ने, प्रचलन यही छ । यिनले पनि नियुक्ती पाउने पक्का छ । संसदीय सुनवाई त कर्मकाण्ड न हो ।
सत्तामा एमाले, कांग्रेस छन् । यिनले नियुक्त गरेका राजदूतहरूले नेपालको बाँकी छवि पनि धमिल्याउने भए ।