Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

को छैन पीडित, के बोलौं ?

देवी काफ्ले

१८ मंगलबार , भाद्र २०८१३ महिना अगाडि

को छैन पीडित, के बोलौं ?

सुकुमवासकिा समस्याका कुरा, श्रमिकका कुरा, युवाका कुरामात्र होइनन्, नारीको हक अधिकारका भाषण सुनेर कान पनि टट्टाउन थालिसके ।
अधिकार सबैलाई चाहिएको छ, न्याय सबैको खाँचो हो, समानता समयको माग हो । तर निषेध र विभेदको राजनीतिका कारणले शान्ति हुनसकेन, लोकतन्त्र जीवनपद्धति बनेन ।
लोकतन्त्र कार्यान्वयन गर्छु भन्ने हरेक नेता राज्य भ्रष्टाचारमा जोडिएको छ । यिनैले टनका टन सुन भित्र्याए, यिनैले काण्डमाथि काण्ड गराए, हरेक काण्डमा कमिशनले ढाडिने यिनै हुन् ।
समस्या सडकमा छ, समस्या संसदमा छ, समस्या सरकारमा छ, सबैभन्दा ठूलो समस्या नीतिमा छ र नैतिकहीनताको छ । तथापि नेतृत्वतह नैतिक हुन्छु भन्दैन, अचम्म छ ।
यतिबेला नेपाली नारीलाई तीज लागेको छ । तीज यति भड्किलो भइसक्यो कि पुरानो पुस्ता यस्तो पनि तीज हुन्छ भन्न थालेका छन् भने नयाँ पुस्ता रङ्गरलियामा रमाइरहेछन् ।
तीज तडकभडक हुँदै होइन, तीज संस्कार र संस्कृति हो । जसरी वैदेशिक रोजगारीका कारणले नारीहरू छाडा भएका घटना बढे, तीजका नाममा नारीहरूको रहनसहन, लवाइखवाइदेखि तीजलाई बिकृत बनाउनेसम्म देखिन थाल्यो । तीज अनुशासनहीन र संस्कृतिविहीन हुनथाल्यो ।
आजकलका नारीहरू महिला हिंसाका कुरा गर्छन्, पुरूष हिंसा गर्न पछि पर्दैनन्, हिंसा दुबैतिर छ । हो, समाजमा नारीमाथि निच शब्दले गाली गरिन्छ, बोक्सी भनेर मलमुत्र खुवाइने, दाइजोको निहुमा जलाइने, बलात्कार गरि मारिनेहरू छन् । राज्य बलात्कारी र हत्याराको खोजी गर्न सक्दैन ।
वैदेशिक रोजगारीका कारणले घर, समाज बिथोलिएका कथा छन् । नारी बरालिएका व्यथा पनि छन् । आन्दोलनमा हरेक पल्ट उठाइएका नारी हकहितका नारा नारामा मात्र सिमित छन् । संविधानलाई बिकृत पारिएको छ, संसदमा संविधानको छाला काढिएको छ, सरकारमा पनि विधिविधान मिचिएको छ । अनि कसरी समाज सुधार हुन्छ ? समाज परिवर्तन हुन्छ ? समाज सुधार भएको छैन, समाजमा लोकतन्त्र पुगेकै छैन । समाजमा हिंसा बढेकै छ ।
घटनाक्रम हेर्दा देखिन्छ, जब आन्दोलन हुन्छ तब नाराजुलुसमा निस्केका पुरूषहरू पनि महिलावादी बनिदिन्छन् अनि सत्ताको खेल शुरू हुन्छ ती आन्दोलनमा अगुवाई गरेका महिला पनि पुच्छरमा पुग्छन् । कोहि आफ्नो क्षमता र कोहि निगाहको भरमा नेतृत्वमा पुगिहाले भने उनिहरूबाट भएका कमिकमजोरीहरू कोट्याई कोट्याई समाजमा पाच्य नै नहुने अपचलनका शब्दबाण प्रहार हुन्छ । बिडम्वना यहाँ पुरूष मात्रै महिला बिरोधी हैनन् महिला नै पुरूषवादी ब्यवहार देखाउने पनि छन् । खासगरी ठूला पार्टी र नेताले छोरी, स्वास्नी, बुहारीको पक्ष लिंदा महिलामाथि हिंसा बढेको देखिन्छ भने न्यायालयदेखि सरकारसम्म, संसददेखि प्रशासनसम्म भ्रष्टाचारमात्र गनाउँछ । जब नीति, नैतिकतामा बस्नुपर्नेहरू, जिम्मेवार र जवाफदेही हुनुपर्नेहरू यसरी छाडा हुन्छन्, देशघात गर्छन् भने तिनको शासनमा महिला, कमजोरबर्ग जो पनि अन्यायमा पर्नु स्वभाविक हो । एकप्रकारले नेपालमा मत्स्यन्याय छ भन्दा फरक पर्दैन । हक सबै बर्गलाई चाहिन्छ । महिला अर्थात आधा आकाशलाई त हक चाहिन्छ, चाहिन्छ । सिमान्तकृतका अधिकार खोस्ने सम्भ्रान्त महिला नै हुन् । यसका अनेक उदाहरण संसदमा पनि देखिन्छ ।
आज आफ्नो स्वार्थ सिद्धिका लागि एक महिला अर्की महिलालाई चरित्रहिन बनाउन उद्धत छिन्, उनका खुट्टा तान्न अग्रसर छिन । यस्तो परिस्थितिमा अन्यायमा परेका अनगिन्ति महिलालाई कसले सम्झने ? कतै चिन्तन छैन, लोकतन्त्रमा महिला हिंसा कसरी रोक्ने ?
न्यायका कुरा धेरै पर छन् । हामी यति नालायक भैसक्यौं कि दलिय राजनितिले पिसेर चटनी बनाईसक्यो हामीलाई । हामी त अब कुन महिला नेतृ कहाँ कसलाई के भन्छिन् ? कुन नेतृले कसको गालामा म्वाई खान्छिन् ? कुन नेतृले कसको हात समाउँछिन् ? कुन नेतृले कति हजारका ब्याग भिर्छिन् ? कुन नेतृले आफ्नो ब्याग बोक्न खेतालो राख्छिन् ? कुन नेतृ कुन दलमा जान्छिन् आउंछिन यस्तै आलुपाँडे चियो चर्चोमा ब्यस्त छौं । सबै जानकारी लिए पछि बजारमा सकेसम्म उनिहरूको चरित्रको धज्जी उडाउने काम गर्छौं । यस्तो काममा लागेकाले कसरी समाजमा न्याय खोज्छन्, व्यवहार देखाउँछन् ? समानतापूर्ण समाजको सिर्जना गर्छन् ।
हामी विवेक गुमाएर जिउँदा मुर्दा भइसक्यौं । राजनीति माफियाकरण भएकैले घूसखोरी बढेको हो, महिला पनि पात्तिन पुगेका हुन् । शंका छ र ?
हिंसा, न्यायका कुरा आजकल डलरमा देखिन्छ । राजनीति, संसद र अदालतमा डलर चल्छ ।  मानवाधिकार भनेको पनि डलर हो । अब त न्याय खोज्ने भनेको उच्च पदस्थका लागि हो, जनताका लागि होइन । सर्वत्र पीडित देखिन्छन्, के बोलौं ?
अवस्था बोल बोल मछली मुखभरि पानीजस्तो छ । जो अगुवा उही बाटो... भएका छन् । यो व्यवस्थाले अवस्था नसुध्रिने भयो । संस्कृति, संस्कार पनि समाप्त पार्ने भयो । संस्कृति सकिनु राष्ट्र सकिन हो ।