Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

इन्ड अफ दी हिस्ट्री एण्ड दी लास्ट किङ

राजन कार्की

१० सोमबार , भाद्र २०८१३ महिना अगाडि

इन्ड अफ दी हिस्ट्री एण्ड दी लास्ट किङ

यो कथा होइन, नेपालको व्यथा हो । यो व्यथाले राष्ट्र नै सती जानुपर्ने हो कि भन्ने खतरा बढेर जाँदो छ ।
कारण नेतृत्व असक्षम भयो ।
असक्षम नेतृत्वले न राजनीति थाम्न सक्यो, न कूटनीति नै चलाउन सक्यो ।
इतिहास शिक्षा पनि हो । हाम्रा नेतृत्वपंक्तिले इतिहासबाट शिक्षा लिएनन्, आफैलाई इतिहासको कलंक बनाए ।
बुझेनन् यिनले, हिटलरभन्दा शक्तिशली को थियो ? तर समयक्रममा हिटलर पनि आत्महत्या गर्ने दिन आयो । अरूले मात्तिएर के अर्थ ?
हिटलरको कालखण्डभन्दा कम थिएन– २०५२ साल फागुन १ गतेदेखि २०६२ साल मंसिर ५ गतेसम्म चलेको जनयुद्धकालको समय ।
भन्नलाई १७ हजार मारिए भनियो । राष्ट्रसंघले दर्ता गरेको १३२४६ र शान्ति मन्त्रालयले बटुलेको १७,८०० को हत्यासंख्यामध्ये माओवादी र प्रहरी बाहेकको संख्याका पीडितहरूको मर्म एउटै छ । संयुक्त राष्ट्रसंघ–मानवीय अपराध गर्नेहरूलाई दण्डित गर, अपराधीले दण्ड पाउनैपर्छ भनेर ’नेपालको द्वन्द्व प्रतिवेदन’ छ । तर टीआरसी विधेयक पारित भएर राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पुगेको विधेयकप्रति मानवाधिकारवादी र पीडितले पीडकलाई उन्मुक्ति दिनेखालको भएको आरोप लगाएका छन् ।
त्यो समयमा कति मारिए, कति बिधुवा भए, कति अपाङ्ग बने, कतिले सहारा गुमाए, कति बेसहारा भए, बितण्डताको बिनासलीला भनिसाध्ये छैन । यो घाउ लोकतन्त्रले झन कोतरेकाले निको नहुने घाउ हो ।
प्रसङ् २०६२ साल वैशाख २५ गते सम्पन्न ७ दलको प्रतिवद्धता र २०६२ साल मंसिर ७ गते सात दल र माओवादीवीच दिल्लीले गराएको १२ बुँदे सम्झौता पत्रको हो । हुन त प्रश्न २०६३ साल वैशाख ११ गते राजा र राजनीतिक दलहरूबीचको सहमतिको पनि छ । सबै प्रश्नमा भारत र दलहरूको सहमति छ तर राजासँग गरेको सहमति दलहरू सम्झन चाहँदैनन् । यसकारण प्रश्न उठेको हो– राजनीतिमा धर्म हुन्छ कि हुन्न ? इमान चाहिन्छ कि चाहिन्न ? के राजनीतिक दलका नेताहरूले आफ्ना प्रतिवद्धताहरूमाथि आफैले केरमेट गर्न सुहाउँछ ? राजनीतिक दलका नेताहरू संवेदनहीन हुनसक्छन् ? घटनाक्रमले राजनीतिक नेताहरूलाई कुनियत भएको संवेदनाहीन प्रमाणित गरेको छ । बेइमानी ठह¥याएको छ ।
माओवादीको १० वर्षे क्रान्ति भारतमा रोपियो, सिंहदरवारमा फुल्यो र सडकमा झ¥यो । सत्य यही हो । समाज बदल्ने जनयुद्ध र जनआन्दोलन समयक्रमलेसत्ताको ब्रम्हनालमा लम्पसार परेको छ । सर्वहारावाद, समाजवाद, लोकवाद सबै सत्ताको गल्लीमा ‘बरेलीकी बजारमे झुम्का गिरा रे’ गीतमा झुमिरहेको देखिन्छ । जो आफै सत्ता, शक्ति र सम्पत्तिको नशामा बेहास छ, उसले समाज कसरी बदल्न सक्छ ?
यसकारण त नयाँ नेपाल नेताहरूको मुहारमा मात्र झुल्क्यो । गणतन्त्र नेपाली जनताका लागि एउटा कोतपर्वपछि जन्मिएको अर्को जंगबहादुरको राणाशाहीभन्दा भिन्न अर्थमा बुझ्न सकिन्न । जन–जनको प्रश्न छ– के यस्तै हुन्छ गणतन्त्र नेपाल  ? यही हो नयाँ नेपाल ?
एक समय फ्रान्सबाट नेगेटिभ जोर्नल प्रकाशित हुन्थ्यो । त्यो जोर्नलमा कुनै पनि विषयमा नेगेटिभ विचारमात्र आउने गथ्र्यो । तर फ्रान्सका शासकहरूले त्यसलाई पोजटिभ अर्थात् सकारात्मक रूपमा अंगिकार गर्थे । 
वर्तमान नेपालमा पार्टी परस्त पोजिटिभ जोर्नलमात्र प्रकाशित हुन्छ । राजनीति नेगेटिभमात्र हुने गरेको छ । दुर्भाग्य नेगेटिभ राजनीतिका पोजेटिभ प्रभावहरू शून्य छन् । नेगेटिभको जवाफ नेगेटिभ रूपमा नै दिने गरेपछि परिणाम पोजेटिभ हुने सवाल आएन । राजनीतिले व्यवस्थापन होइन, तिक्तपन बढाइरहेको छ । निर्णायक तत्वहरूले समस्याका जमरा आफ्नै छातीमा उमारिरहेका छन् । जुँगा मुसार्ने, बाहुला सुर्कने, तिघ्रा ठटाउने गरेपछि मल्लयुद्ध त हुन्छ–हुन्छ । अराजकता त फैलिन्छ फैलिन्छ । सुशासन त हुँदैन हुँदैन । अहंकारी मल्लयुद्ध राजनीतिको महारोग बन्नपुग्यो । पटक पटकको सहयात्रा छिन्नभिन्न हुनपग्यो । आजका दिनमा राजनीतिक दलहरूलाई कुन–कुन सम्झौता, प्रतिवद्धता र सहमतिमा सही गरें भन्नेसम्मको स्मरणशक्ति समेत छ जस्तो लाग्दैन ।
हुनैपर्ने थियो, परम्परागत शक्तिसँग सहकार्य । जुन आजसम्म हुनेसकेन । कुनै पनि बाधा अड्काउ नहुँदासमेत राजनीतिक स्थिरता, शान्ति, समृद्धिको श्रीगणेश हुनेसकेन ।
हरेक दलभित्र मंगलसेन बलशाली बन्दै गएको छ । सबै दलभित्र अन्धा दस्ता तैयार पारिएका छन् । जनताप्रति गरिएका वाचाहरू पूरा गर्नका लागि प्रतिस्पर्धा हुनुपर्नेमा दलगत स्वार्थको भूत जागेको अवस्था छ । एउटा दक्षिणपन्थी, अर्को उत्तरपन्थी, तेस्रो पश्चिमपन्थी र हरेक पन्थभित्र अतिवादपन्थी । यी अनेक पन्थीहरू स्वार्थका लागि जुनसुकै पन्थी बन्नसक्ने अवसरपन्थीका अनुयायी हुन् ।
व्यक्ति स्वार्थको राजनीतिक व्यवसायका कारणले देश र जनताको हित स्वाहा भइरहेछ ।
राजनीतिक दलपतिहरूमा बुद्धि बङ्गारो पलाउँदैन, पलाएन । हरेक नेपालीले परिवर्तनको अनुभूति गर्न पाउनुपर्छ भन्ने सोच व्यवसायी बनेका पार्टीहरूमा उम्रनै सकेन । यही निराशपनमा प्रश्न उठेको छ– लोकतन्त्रको आवरणमा विध्वम्स मच्चाउने आतङ्ककारीको मुटुभित्र मानवीय धड्कन हुन्छ कि हुन्न होला ? किनकि देशमा अपराध बढेको छ, पीडक छाडा साँढे बनेर डुक्रिरहेछ ।
इतिहास साक्षी छ, डाँका ज्ञानी बनेको देखिएको छ तर भ्रष्टाचारी र नैतिकहीनहरूले दह्रो खुट्टा टेकेर राष्ट्रको ध्वजा उठाएको उदाहरण छैन ।
नेपोलियन बोनापार्टको अध्याय अहंकारको युग बन्यो, जसको कारणले वाटर लूको युध्दमा पराजीत हुनुप¥यो । उनी वीर थिए । उनले वीरताको सम्मान त पाए तर उनी सेन्ट हेलेनाको टापुमा घँुडा टेक्नुप¥यो । सेन्ट हेलेनाको त्यो टापुमा बन्दी जीवन बिताउनु परेपछि उनले छोरालाई चिठी लेखे– छोरा, समयलाई चिनेर अघि बढ्नु । मेरा पालामा बन्दूकले सबैलाई बसमा राख्न सकिन्थ्यो । अब समय परिवर्तन भएको छ । तिमीले मानिसको मन, बिचार र भावनालाई बुझ्ने र आफ्नो अवधारणा बुझाउने प्रयत्न गर्नु । जनयुद्ध र जनआन्दोलनताका जनताले नेपोलियनजस्ता नेता ठानेकाहरूमा नयाँपन केही थिएन, देखिएन । लुटाहा थिए, लुटिरहेका छन् । राजनीतिक सेवामा लागेकाहरूका लागि नेपोलियनको त्यो चिठी शिक्षा थियो, लूट गर्न पल्केकाले शिक्षा लिन सकेनन् । राजनीतिलाई व्यापार बनाइदिए ।
खु्रस्चेव अर्का उदाहरण हुन् । उनले जनताको भावनामाथि खेलबाड गर्दा नूनखानीमा लखेटिनु प¥यो । महासर्वसत्तावादी स्टालिन आफ्ना तीनजना अति विश्वासपात्रको हातबाट मारिनुपर्यो । जनादेशबाट उठेर पनि मानवताको इतिहासमा कलंकित व्यक्तित्व बनेका हिटलरले आत्महत्या गर्नुप¥यो । विरोधीको टाउको काटेर फुटबल खेल्ने र विरोधीको मुटु कलेजोको भुटुवा बनाएर जिब्रो फट्कारी–फट्कारी स्वादले खाने इदी अमीन जनताबाट डराएर बच्दै जंगलभित्र भाग्नुप¥यो । रोमनियाका शासक चाउचेस्कु जसको दरवारमा बाथरूमको कमोठसमेत सूनको थियो । त्यस्ता सौखिन, सामन्तलाई जनताले दरवारको बार्दलीबाट फ्याँकीदिए । चाउचेस्कुलाई जनताको भीडले कति टुक्रा पारे, गन्ति गर्न सकिएन । जनता आक्रोसित भएपछि आँखा देख्दैनन् भन्ने उदाहरण हुन् यी । यस्तै उदाहरण अफगानिस्तानमा देखियो, श्रीलंकापछि बंगलादेशमा देखियो । नेपालमा पनि जनआक्रोशको हावा चल्न थालिसकेको छ, आँधी बन्नसक्छ ।
नेपाली नेताहरू चेतेको खोई ? हाम्रा शासक बनेका बर्ग जनयुद्ध र जनआन्दोलनको आगोबाट निस्केका हिरा थिए । यिनलाई किरा बन्न १८ वर्ष पनि लागेन । यी कोहिनुर हिरा थिए, लामकिरा बनेर देश र जनतालाई टल्काउनुको साटो डसिरहेका छन् । जनताका लागि आफूले पालेको कुकुरले आफैलाई टोक्छ भनेको यही हो । नेपाल र नेपालीका लागि हामी आवश्यक छौं भनेर कुनै नेताले प्रमाणित गर्न सकेनन् । हिरा मानिएकाहरू कति छिटै स्वार्थको थाङ्ना बनेर फोहरको किरा हुनपुगे ।
नेपालको राजनीतिक वर्णपटमा सत्य सावित भयो महाभारत– आचरण नष्ट हुनु भनेको आफै नष्ट हुनु हो । राजनीतिक जीवनमा अपराध पस्यो भने उसको जीवन नष्ट समान हो । जो आफै नष्ट छ, उसले समाजलाई के दिन्छ ? हाम्रा नेताले केही दिन सकेनन् ।
१९६० को दशकमा चीनमा चम्किएका कम्युनिष्ट नेता माओत्सेतुङ्गजस्ता महान नेताको एकतन्त्रबाद पनि अन्ततः जनताका सामु घँुडा टेकेर झुक्यो । बिसे नगर्चीसँग बुद्धि लिएर नेपाल एकीकरण गर्नेका सन्तान, बेला बेलामा जनताका सामु झुकेर उठेका हुन् । तर, २०६३ सालमा झुक्न नजान्दा वनवास जानुप¥यो । त्यसअघि प्रा. फुकुयामाको ‘इन्ड अफ दी हिस्ट्र एण्ड दी लास्ट किङ्’ पढ्न सुझाव मैले नै दिएको हुँ । दरवार चलाउने दरवारियाहरूले भोगेटेको चस्मा लगाएपछि के लाग्छ ? परिणामतः राजतन्त्र हा¥यो । राजतन्त्र हारेर देशले जित्दा गौरव नै हुन्थ्यो, देशले पनि हारिरहेछ ।
लेनिनले सोभियत रूसलाई २१ जातीय गणराज्यमा टुक्र्याए । नामिबियामा पनि १० वटा जातीय राज्यहरू घोषणा गरिएका थिए । दक्षिण अफ्रिकामा पनि १० वटा जातीय राज्यहरू थपिएका थिए । कतै जातीय राज्यका दुस्परिणाम भोग्नुपरेको देखिन्छ भने कतै विश्व मान्यता नै नपाई मरेको तथ्याङ्क छ । चीनले बगरे बाँडफाँडतन्त्रको गल्ती गरेन । नेपालमा ७ प्रदेश त बन्यो, जातीय गणराज्यको झगडा शान्त भएको छैन । ती प्रदेशदेखि केन्द्रसम्म सत्ताका लागि हरेक दलका नेताहरू लोकसिद्धान्तलाई नाङ्गेझार पारिरहेछन्, संविधान आफै लाजले भुतुक्कै भइरहेको देखिन्छ । नयाँ नेपाल बनाउन ल्याएको लोकतान्त्रिक पद्धतिको यो कस्तो कन्तबिजोग हो ?
तैपनि लोकतन्त्र चलाउनेहरूमा लज्जावोध देखिन्न । कठै नेतृत्व ।