योद्धा सम्राट अशोक र १८ वर्ष सम्राटजस्तै बनेका यो योद्धा प्रचण्डमा धेरै कुरा मिल्छ । फरक यत्ति छ, सम्राट अशोक जीवनको उत्तराद्र्धमा शान्तिको खोजमा लागे, बुद्धको शरणमा पुगे, बौद्धमार्गीको जीवन यापन गरे । प्रचण्ड जीवनको उत्तराद्र्धमा छन्, उनले शान्ति र बुद्धमार्ग पछ्याउँछन् कि अझै योद्धा बनेर जनयुद्धलाई ताजगीकरण गर्छन् । उनमा युद्ध बाँकी छ कि सकियो ?
इतिहासमा उल्लेख छ– कलिङ्गको युद्धमा लाखौंलाखको लाश देखेका सम्राट अशोकले आफैसँग प्रश्न गर्न बाध्य भए– ‘मैले के जिते खोई ?’ अशोक आफैप्रति घृणित भए । पीडित भए । केका लागि मैले यो योद्धा बनेको, युद्ध जितेको ? आत्मग्लानीले पग्लिएका सम्राट अशोकलाई सन्तोष प्राप्त भएन । त्यसपछि युद्धवीर सम्राट अशोक लुम्बिनी आए, हतियार बिसाए, अन्तिम सत्य आत्मशान्ति नै रहेछ भन्ने बुझे । बुद्धको सामु झुके, बुद्धमार्गी बने । ‘बुद्धम् शरणम् गच्छामी’ को मन्त्र पढेर आत्मशान्तिको खोज गरेर बाँकी जीवन बिताए ।
जनयुद्धका नायक योद्धा प्रचण्डले व्यवस्था परिवर्तन गराए राजतन्त्रलाई किनारा लगाए, हिन्दुराष्ट्र हटाए । परिवर्तनको १८ वर्ष सत्ताको केन्द्रविन्दु बन्न सफल भए । ३ पल्ट प्रधानमन्त्री बने, धेरैलाई प्रधानमन्त्री, मन्त्री बनाए । परिवारजनलाई सत्ता र शक्तिको स्वाद चखाए । यति हुँदा उनीभित्र प्रश्न होला– केका लागि उनले जनयुद्ध, यतिबिघ्न युद्ध लडेका ? उनलाई आत्मशान्ति मिल्यो कि मिलेन ? उनले शक्ति आर्जन गरे, जनताको सम्मान आर्जन गर्न सकेनन्, भ्रष्टाचार जित्न सकेनन्, परिवारवाद, व्यभिचार जित्न सकेनन्, अनैतिकता जित्न सकेनन्, समाजनता र सर्वहाराको हरिबिजोग बनाएकोमा, राष्ट्रलाई घात र राष्ट्रियतालाई निम्छरो बनाएकोमा यिनलाई आत्मग्लानी भएकै हुनुपर्छ । डाइनामिक व्यक्तित्व भनिएका प्रचण्डको विवेक गैंडाका छालाजस्तो त होइन होला ? उनी लुम्बिनी पुगेर बुद्ध शान्तिमा लीन हुनसक्लान् ?