नेकपा एमालेको समर्थनमा साउन ८ गते मुख्यमन्त्री नियुक्त भएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले आज विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा नियुक्त भएसंगै आज विश्वासको मत लिने भएका हुन् ।
मुख्यमन्त्री लामाले आज विश्वासको मत लिन प्रदेशसभा सचिवालय हेटौंडामा साउन १३ गते पत्र दर्ता गराएका थिए । सोहि अनुसार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आज अपरान्ह तीन बजेका लागि बोलाइएको बताईएको छ ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका हुन् ।
उनले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम संसद्बाट विश्वासको मत लिने तयारी गरेको बताईएको छ ।
मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थन रहेको छ ।