Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अवस्था बदलिन्छ त ?

०८ मंगलबार , श्रावण २०८१३ महिना अगाडि

अवस्था बदलिन्छ त ?

प्रधानमन्त्री केपी ओलीको पहिलो कथन– अवस्था सन्तोषजनक छैन बदल्नुपर्छ ।
०४६ सालदेखि बिग्रेको, ०६३ सालदेखि भत्केको, ०७४ र ०७९ को आमनिर्वाचनले पनि बदल्न नसकसेको, १६ वर्षमा १४ सरकार भनेर विश्वमै इज्जत गुमाएको नेपालको अवस्था दुई ठूला पार्टी मिलेको सरकारले बदल्न सक्ला त ?
देश र देशवासीलाई प्रताडना दिने यिनै हुन् । प्रताडना परास्त गर्छु भनेर प्रताडना थप्दै जाने नेतृत्व उही छ । फरक यत्ति छ, कहिले को को मिले, अहिले तिनैमध्येका दुई ठूला दल मिलेको सरकार छ । नियत बदलियो होला र ?
कुनै दिन हिटलर र मुसोलिनीको समाज बदल्ने इच्छाशक्ति बेजोडको थियो । पछि ग्यास चेम्बरमा मान्छे मार्ने र काट्ने यिनै नरपिचास बन्नपुगे । बहुदल आउँदा यिनै नेताको देश बनाउने हुटहुटी गजबको थियो, कालरात्रि देखाए । जनयुद्ध र जनआन्दोलनको मुद्दा पनि समानता र समृद्धि, देशभक्ति र स्वराज थियो, यिनका सबै चित्ताकर्षक नाराहरू, प्रतिबद्धताहरू तुहिदै गए, यिनीहरू घृणायोग्य बनेका छन् ।
किन ? सवालको जवाफ यिनै नेताको नियत, चरित्र, व्यवहारले दिन्छ । सुध्रिन्छ कि भन्दाभन्दै राष्ट्र भत्किदै गयो, भासिदै गयो । राष्ट्र उठाउँछु भन्नेहरू यिनै थिए, राष्ट्र लडाउँदै गए, असफल पार्दै लगे । हरेक पल, दिन, हप्ता, महिना, वर्ष राष्ट्रवाद मैन पग्लेसरि पग्लिरहेछ । शासन प्रशासन भ्रष्टाचारको कुण्ड बनिरहेछ ।
समय छ, लोकतन्त्र पनि छ, जनताको अन्तिम आशा पनि छ । यही समय हो, वीपी कोइराला प्रवाशबाट फर्केपछि जसरी उनको राष्ट्रवाद र प्रजातन्त्र उजिलेको थियो, त्यस्तो उज्यालो यिनै नेताहरूले ल्याउन सक्छन् । जिउँदै मर्ने कि मरेर पनि बाँचिरहने ? समयले हरेक नेताका सामु यक्ष प्रश्न खडा गरिदिएको छ ।
स्वयम प्रधानमन्त्रीले भनेका छन्– अवस्था सन्तोषजनक छैन, बदल्नुपर्छ । बदल्ने भाषण होइन, इच्छाशक्ति र व्यवहारमा देखिनुपर्छ, देखाउन सक्लान् ?
जनता सुतेका छन्, सधैं झुक्याउन सकिन्छ भनेर नसोचे हुन्छ । बाढी वा आँधी आएपछि सम्हालिन सकिन्न, पहिले नै सचेत हुनुपर्छ । जनता प्रताडित छन् कुशासनले । कुशासनलाई सुशासन बदल्न शासनको बागद्वार राजनीति नै स्वच्छ हुुनुपर्छ । जनतामा बढ्दो निराशा र उदासिनतालाई चिर्न सक्नुपर्छ । लोकतन्त्रलाई जीवनपद्धति बनाउन सक्नुपर्छ । यसका लागि इच्छाशक्ति चाहिन्छ, जनताको अपेक्षा पूरा गर्ने दृढता र काबिलियत पनि चाहिन्छ ।
नेता तिनै थिए, तिनै छन् । ब्यवस्था बदलियो, अवस्था बदलिएन ।
इतिहासमा अमर हुने कि राजनीतिक कलङ्क बन्ने, अन्तिम मौका हो यो ।