Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कामभन्दा उथलपुथल बढी

११ सोमबार , असार २०८१४ महिना अगाडि

कामभन्दा उथलपुथल बढी

काठमाडौं । जनयुद्ध र जनआन्दोलन भनेको, लोकतान्त्रिक गणतन्त्र भनेको सत्तामात्र रहेछ । सत्ताभन्दा माथि न नीति रह्यो, न नैतिकता । सिद्धान्त भनेको पनि केही होइन रहेछ ।
सर्वहारावादी र प्रजातन्त्रवादी एउटै स्थानमा बसउठ र गाँस बाँडेर खाएको देखियो । एकले अर्कोलाई मत खसालेको देखियो । भागबण्डामा रमाएको देखियो । आफूलाई मदन भण्डारीको अनुयायी भन्ठान्ने हुन् कि माओ भनेकै मै हुँ भन्ने हुन् अथवा बीपी कोइरालाको बिरासत थामेको छु भन्ने सबैको एउटै भातभान्छा भएको देखियो । भोगियो ।
रास्वपाजस्ता नयाँ पार्टी, राप्रपामा उदाएको युवा नेतृत्वले समेत अवसरबादको स्वाद मजैले चाख्न पुगे । युवा नेतृत्व आयो, यिनले राम्रो काम गरे, जनताको आवाज उठाए भने मिसन ८४ मा धेरै युवा नेतृत्व आउनेछन्, जनताको आवाज र अपेक्षाको सम्मान हुनेछ भन्ने जुन आशा पलाएको थियो, त्यो बिस्तारै मर्न थालेको छ । हामी यस्तै त हो नि ब्रो भन्ने गधापच्चिसी ननाघेका उरण्ठेउला ठिटाहरूले बोल्ने भाषाजस्तो बन्नपुग्यो राजनीति । यो राजनीति भनेको मरेका मूर्दा राजनीति हो, चलिरहेछ ।
राजनीति भनेको समाज बदल्ने औजार हुनुपथ्र्यो । परिवर्तनले व्यक्ति बदलिए । व्यवस्था बदलियो, बिधान बदलियो । जे जति बदलिए, त्यो बदलावले अवस्था बदल्न सकेन । केही नेता, तिनका आसेपासे, नातापाता र लेनदेन मिलाउन सक्ने ब्यापारी सोचका व्यक्तिहरूको अवस्था बदलियो । आम नेपाली जनजनको अवस्था झन झन दयालाग्दो, टीठलाग्दो बन्दै गएको छ ।
मुख्य कुरो देशको मान मर्दन भयो, देशको सीमा अतिक्रमण भयो, देशको नीति अस्थिर हुँदा देशमा अराजकता ब्यापक बढ्यो । देशभित्रको कानुनव्यवस्था केही प्रभावशाली नेता, पार्टी र ती पार्टीका माइवाप बनेर भित्रिएका एनजीओ, आइएनजीओ, दूतावासहरूको खेलौना बन्नपुग्यो । एकजना सचिव अथवा राजदूत, संवैधानिक निकायमा समेत बिदेशी प्रभावले निर्णायक भूमिका खेल्न थालेको छ । स्थिति यस्तो छ कि आफ्नै मामाको त यो गति कान्छामामाको कुन गति ? भन्ने उखान झैं पार्टीहरू रिमोटमा चल्ने टीभीजस्ता बन्नपुगेका छन् । जसका कारण देश झन झन कमजोर र प्रभावहीन बन्दै गएको छ । देश त छ, देशभित्र शासन कस्को छ भन्न सकिने स्थिति छैन ।
३२ सिटे माओवादीले कांग्रेसको सहयोगमा सरकार बनायो, चलायो । उसलाईसमेत लतारेर एमाले, रास्वपालगायतसँग मिलेर सरकार बनायो र चलाइरहेको छ । यही माओवादी भन्छ– ठूलै परिवर्तन गर्नसक्छु । प्रम प्रचण्डले गर्ने परिवर्तन भनेको गठबन्धनको फेरबदल र आफू सत्तामा टिकिरहने हो, आफ्नी छोरीलाई उत्तराधिकारी बनाउने हो । योभन्दा बढी प्रचण्डको हैसियत बाँकी छैन भन्छन् बिश्लेषकहरू । हुन त एमालेमा ओलीपछि को ? कांग्रेसमा देउवापछि को ? माओवादीमा प्रचण्डपछि को ? भनेर प्रश्न उठिसकेको छ ।
प्रचण्डले धेरै गर्नसक्थे, अवसर पनि धेरै निर्माण गरे, अवसर लुटे । तर प्रचण्डमा देशका लागि केही गर्ने इच्छाशक्ति गुमाउँदा र सत्तामा टिकिरहने लालसा राख्दा प्रचण्डको शाख गिरिसकेको छ । यो गठबन्धन टुट्ने खतरा बढेको छ । सत्ताबाट बाहिरिने अवस्था आएपछि प्रचण्डले के गर्लान ?