Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

Image

यसरी परिवर्तन हुदैन

शाश्वत शर्मा

०५ मंगलबार , असार २०८१३ महिना अगाडि

यसरी परिवर्तन हुदैन

गत ४ जुनमा भारतको लोकसभा निर्वाचनको परिणाम आयो । दुई कार्यकाल सत्तामा रहेको भाजपालाई नराम्रो झट्का लाग्यो । जनताले सामान्य बहुमतसमेत दिएनन् । अहिले जोडबल लगाएर तेश्रो कार्यकालको सत्तामा पुगेका छन् मोदी । भारतमै भनिन्छ, यो गठबन्धन सरकारले पुरै समय चलाउन सक्दैन । एकथरि भन्छन्, सभामुख गृहमन्त्री अमित शाहले पाए भने स्वतन्त्रलाई मिलाएर यो सरकार चल्नसक्छ, टिक्न सक्छ । भारत अस्थिर भयो, तथापि भारतका कारण नेपालमा के असर पर्ला ?
एकथरि भन्छन्, खासै केही फरक पर्दैन । गणतान्त्रिक संविधान रोक्न नसक्ने मोदीले अब चाहिं नेपालमा के गर्लान् र ? मोदीको टिम उही छ, सरकारमा ससाना क्षेत्रीय पार्टी सहभागी छन् । यो अवस्थामा मोदीले खासै केही गर्न सक्दैनन् । नेपालका हितचिन्तक ठानिएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ निर्वाचन परिणामबाट निकै कमजोर बन्न पुगेका छन् । प्रम मोदी र गृहमन्त्री अमित शाह दुबै नाखुस छन् योगीसँग । मोदीले नेपालसँग डिल गर्न योगीलाई अह्राएको ठान्ने प्रभावशाली नेपालीहरू उत्तरप्रदेश गइरहन्थे । दक्षिणका चन्द्रबाबु नायडु र उत्तरका नीतिसकुमारहरू मोदी नेतृत्वको सरकारका हालीमुहाली बन्दैछन् भने भारतीय सेना, खुफिया एजेन्सी र नोकरसाहहरू नेपालमाथि दुराग्रह राखिरहेकै छन् । यसकारण भन्न सकिन्छ, बिगत १० वर्षमा भारतले नेपालनीति जसरी चलायो, उसैगरी चल्नेछ ।
मोदीले ठूलै परिवर्तन गर्ने उद्घोष गरे पनि खासै केही गर्न सक्ने स्थिति छैन । फेरि भाजपाले न त भारतमा हिन्दुराष्ट्र घोषणा गर्न सक्छ, न नेपालमा राजसंस्था पुनस्र्थापना गराउन नै मद्दत गर्नेछ । भारतले हेर्ने उसको स्वार्थ हो । भारतको स्वार्थ पूरा भयो भने भारतले कुनै विषयमा बोल्नेछैन । नेपालका नेताहरूले भारतले नेपालका भूमि अतिक्रमण गरेको विषय उठाएका छैनन्, यसकारण भारत नेपाली नेताहरूबाट खुश नै छ । भारतले चाहेकै नेपालका नेतालाई लम्पसार पार्नु हो । उता भारतले पूर्वराजालाई स्वागत ग¥यो, यता भारतकै इसारामा राष्ट्रपतिले नागरिकता बिधेयक प्रमाणिकरण गरिदिए । कोही बोलेनन् । नेपालकाप्रति भारतको नीति यही हो ।
भारतले सहयोग गर्छ, राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापित हुन्छ भनेर आशै नगरे पनि हुन्छ । नेपालको हित भारतले हेर्ने होइन, भारतको स्वार्थ हेर्ने हो । जुन भारतकै सकृयतामा राजतन्त्र र हिन्दुराष्ट्र किनारा लगाइयो, त्यही भारतले पुन नेपालको पुरानै स्थितिमा ल्याउन भारत लागिपर्छ भन्नु मुर्खता हुनेछ । जसरी राजतन्त्र हटाउन र हिन्दुराष्ट्र सिध्याउन पार्टीहरू लागेका थिए, त्यसैगरी आमनागरिक सडकमा नउत्रिने हो भने अर्को परिवर्तन सम्भव नै छैन । जबसम्म आमनागरिकले जीवन रोज्दैनन्, जीवनमा राजतन्त्र र हिन्दुराष्ट्र हुनुपर्छ भनेर ठान्दैनन्, परिवर्तन सम्भव छैन ।
कुनै दिन गगन थापाजस्ता कांग्रेसीले परिवर्तन कि यथास्थिति भनेका थिए, त्यही नारा आमनागरिकले दिनुपर्ने अवस्था छ । दुर्गा प्रसाई, राप्रपा अथवा केशर बिष्टहरूकोजस्तो भब्य र सभ्य भन्ने आन्दोलन नामको नौटंकी धेरै देखियो । परिणाम आएपछिमात्र आन्दोलन रोकिन्छ भन्थे, तिनको आन्दोलन कतै देखिदैन । बुढा पूर्वराजालाई गाउँ, सहर, पहाड, तराई, हिमाल उभ्याइयो, परिणाम के आयो खोई ? हुँदा हुँदा भारतको निर्वाचनपछि नेपालमा परिवर्तन हुन्छ भन्थे, त्यो पनि हावा भयो । संसद र सरकारमा जुन भ्रष्टाचारका काण्ड उठेका छन्, छानबिन र फाइल खोल्ने कार्य भएका छन्, यो सबै परिवर्तनका लागि हो भन्नेहरू पनि छन् । खाल्डो खन्ने र मुर्दा उखेल्ने जुन कार्य भइरहेको छ, यथार्थमा यो सबै विषयान्तर गर्ने चलखेल हो ।
भ्रष्ट गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था फालेर देश र दुनियाँको अवस्था सुधार्ने हो भने आत्मरतीबाट उठ्नुपर्छ । जनता उठेपछिमात्र परिवर्तन सम्भव होला ।