Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

Image

देश इतिहास गिड्नेहरूको जालमा फस्यो

राजन कार्की

०५ मंगलबार , असार २०८१४ महिना अगाडि

देश इतिहास गिड्नेहरूको जालमा फस्यो

लोकतन्त्रको झ्याली पिट्नेहरूले १८ वर्षपछि पनि झ्याली पिटिरहेका छन् । लोकतन्त्रमा विधि मरिसक्यो, पत्तै छैन । लोकतन्त्रमा लोकलज्जा बाँकी रहेन, नेतृत्वपंक्ति जनताको घृणापात्र बनिसके, तिनलाई होसै छैन । अर्थात, लोकतान्त्रिक शासक अत्याचारी, स्वच्छेचारी, दुराचारी व्यवहार बढाउँदै गएका छन् ।
त्यो शासक अत्याचारी हो, जो स्वेच्छाको अतिरिक्त कुनै नियम जान्दैन । भोल्टेयरले यसै भनेका थिए ।
भोल्टेयरको कथन र नेपालको १८ वर्षे लोकतन्त्रमा कुनै भिन्नता छैन । नेतृत्वको स्वेच्छाबिना लोकतन्त्र बामे पनि सर्दैन । मान्छे बालिग भएपछि विवेकशील बन्छ, आत्मनिर्भरतातिर परिपक्व हुन्छ । नेपालको लोकतन्त्र उमेरले बालिग त भयो, परिपक्व हुनसकेन । लोकतन्त्र लोकका लागि हाँसो बन्यो ।
हाँसो लोकतन्त्र मह जात्रा हो । मह जात्राले सन्देश दिन्छ । लोकतान्त्रिक जात्राले लोकलाई सकस दिइरहेछ ।
सकस, ऐठन लोकतन्त्र हुनसक्दैन ।
२०६३ सालको परिवर्तनपछिका १८ वर्षमा नेपालको शासन स्वेच्छाचारी भयो, स्वेच्छाचारीका रूपमा चलिरहेको छ । यसकारण यो शासन अत्याचारी शासन हो । प्रश्न यत्ति छ, कति सहने ? लोक जागृत भएर विद्रोहमा उत्रनुपर्ने हो ?
राजा गिड्ने जेकोवाइनको रगतको इतिहास छ, राजतन्त्र गिड्ने हाम्रा नेताको भ्रष्टाचारको । देवता भनौं देवत्व छैन, ढुंगा भनौं शासक बनेका छन् ? यी देवता होइन, मानवीय मर्म मार्गसमेत पहिल्याउन नसकेका अविवेकी हुन् । मानव बन्न नसकेका ढुंगा हुन्, जो देशलाई ढुंगेयुगतिर अग्रसर गराइरहेका छन् ।
२०३६ सालमा जनमत संग्रह घोषणा भयो, जनमत संग्रहमा सुधारिएको पञ्चायतले ५४.८ प्रतिशत मत ल्याएर जित्यो, बहुदल हा¥यो । तर वीपी कोइरालाले वक्तव्य नै प्रकाशित गरेर भने– म जनमतको निर्णयको सदर गर्छु  र कदर गर्छु । म जिवित नरहुँला, बहुदलचाहिं आउँछ । नभन्दै २०४६ साल आयो, दलमाथिको प्रतिवन्ध फुकुवा भयो । १९८२ मा ६७ वर्षको उमेरमा वीपीको देहान्त भइसकेको थियो । यी तिनै वीपी हुन् जसले २०३३ सालमा प्रवाशबाट ज्यान हत्केलामा लिएर स्वदेश फर्केपछि भनेका थिए– जब जब मनमा द्विविधा हुन्छ, नेपालको माटो हातमा लिनु, माटोले जे भन्छ त्यही गर्नु ।
राजनेता भनेका त्यस्ता हुन्छन् । कांग्रेस छ, वीपी विचार छैन । आज वीपी छैनन्, वीपीको विचार पनि छैन । हातमा देशको माटो लिएर कसले विवेक प्रयोग गर्ने ? यसकारण नेपाली कांग्रेस धुलोमा छ कि धुवाँमा कतै देखिदैन ।
लामो समय भयो, लोकतन्त्रमा सर्वहारावाद, कम्युनिष्ट तन्त्र रोपेर पानी हाल्ने कांग्रेस वाम विरूवालाई रूख बनाइरहेको छ । कांग्रेसको चुनाव चिन्ह रूख सुकेर जिङ्रिङ बन्नपुगेको छ । यस्तो रूखले छहारी दिदैन ।
हुन त मदन भण्डारी, मनमोहन अधिकारीजस्ताले हाँकेको पार्टी टुक्रा टुक्राबाट केही टुक्रा जोडेर नेकपा बनेको थियो । गणतन्त्रको गंगा तर्न सकेन । नेकपासँग बहुमतको डुङ्गा पनि छ तर ख्याउने जनविश्वासको पतैया रहेन । चुनावी जनविश्वास जनआकांक्षविरोधी निर्णय गरेर नेकपाले विश्वास गुमाइसकेको थियो । अदालतले सरकार बनाइदियो, संसदको निकम्मा हुनपुग्यो । त्यसपछि प्रजातन्त्रले सर्वहारावाद बोक्यो, त्यो पनि लड्यो । अहिले फेरि कम्युनिष्ट र केही नयाँ दलले सरकार बनाएका छन् । यो सरकार पनि ढलपल भइसकेको छ । अनेक काण्डहरूमा सत्ताधारी र विपक्षी मुछिएका छन् । न त कुनै दलले जनताको भार बोक्यो, न जनता सरकारको भार उठाउन सक्ने अवस्थामा छन् । प्रष्ट कुरो के हो भने– नागरिकहरू मदन भण्डारी सम्झन्छन्, मनमोहन अधिकारीको नाम लिन्छन्, त्यस्तो मर्यादित तरिकाले कुनै कम्युनिष्टको नाम जनताले लिदैनन् । न प्रजातन्त्रवादीहरू, समाजवादीहरू नै सम्मानित अवस्थामा छन् ।
अराजकता बढेको छ । अस्थिरता देशका लागि घातक छ । सहमति र सहकार्य सम्भव छैन किनभने हरेक नेता अहंकारी छन् । सबै एकअर्काभन्दा म नै ठूलो हुँ भन्ने भाव छ । देश बनाउने सामुहिक खाका, राष्ट्रिय नीतिमा सहमति, राष्ट्रिय सुरक्षामा एक मत केही पनि छैन । जे छ, सत्ताको लागि मरिहत्ते गर्ने प्रतिस्पर्धा चलिरहेको छ । निरन्तरको सत्तायुद्धले प्रशासनसमेत अपराधी बनिसकेको देखिन्छ । यो बेहालप्रति जवाफदेही कोही पनि बन्न चाहदैनन् । लाभ लिन सबै तम्सिन्छन्, खरावीको जिम्मेवारी लिनुपर्ने अवस्थामा पानीमाथिको ओभानो बन्न चाहन्छन् । यही गैह्रजिम्मेवारीले देश बर्बाद हुँदैछ ।
जनयुद्ध र जनआन्दोलनपछि आएको बहुदल यतिबेला संघीय गणतन्त्रको आकृतिमा छ, यो आकृति जनआस्थाको प्रकृति बन्न सकेन, बन्न सक्ने आधारहरू चर्कदै, मर्कदै, भत्कदै गएका छन् । सन १७८९ जुलाई १४ को पेरिस आन्दोलन र नेपालको जनआन्दोलनको कार्यान्वयनमा खासै भिन्नता छैन । जेकोवाइनले राजालाई गिलोटिनमा गिडे, पेरिसको इतिहास रगतले लेखे, नेपालमा संविधानसभामै कु गरियो र राजतन्त्र समाप्त पारियो । फरक यत्ति हो– जनआन्दोलनको शक्तिले फ्रान्सलाई विश्वशक्ति बनायो । नेपालको जनआन्दोलनको शक्तिले पार्टी र नेता गणका परिवारलाई सम्पन्न बनायो । देश र जनता गरीब बन्नपुगे । जनयुद्ध र जनआन्दोलनको बल देशहित र जनहितलाई छल गर्न सफल भयो । छलतन्त्र चलिरहेको छ ।
१९८१ देखि २००३ सम्म प्रधानमन्त्री बनेर, मलेसियालाई विकासको उच्चता हासिल गराएर अवकाशको बुढ्यौली जीवन बिताइरहेका ९५ वर्षका महाथिर मोहम्मद राष्ट्र गलत दिशामा गयो भन्ने लाग्नासाथ पुनः राजनीतिमा प्रवेश गर्छन्, चुनावलाई जनआस्थामय बनाउँछन्, म मरेको छैन देशका लागि म चिहानबाट उठेर आउनसक्छु भन्दै देशको नेतृत्व सम्हाल्छन् । एक से एक युवा देशका लागि सत्तामा जान चाहन्छन् । काम गर्न चाहन्छन् । महाथिरको अनुकरण गर्दै खर्च कटौति, भत्ता कटौती, अव्यवहारिक विदेशी ऋण खारेज लगायतका थुप्रै सुधारात्मक निर्णय लिन्छन् । नेपालमा भत्ता बढाउँछन्, बाँचुन्जेल विशिष्टलाई जनताको करले पाल्नुपर्ने, तिनको सुरक्षा र सम्भ्रान्त जीवन धान्नुपर्ने । कुनै पनि मुलुकमा ४, ५ सय भन्दा बढी बिशिष्ट छैनन्, नेपालमा ४५०० बिशिष्ट छन्, जनतालाई लुटिरहेका छन् । यतिसम्मको लुटतन्त्र चलेको छ ।
८–८ वर्ष अमेरिकाको राष्ट्रपति भएका जर्ज डब्लु बुस, क्लिन्टन र बाराक ओवामा सामान्य होटलमा खाजा खान्छन्, सामान्य नागरिकसरह जीवन निर्वाह गरिरहेका छन् । तिनका सन्तान होटलमा, अन्यत्र काम गर्छन् । नेपालको गणतान्त्रिक राष्ट्रपति डा. रामवरण यादव, विद्यादेवी भण्डारीलाई मासिक ८ लाख जनताले तिरेको राजस्वकोषबाट खर्च गर्नुपरिरहेको छ । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति बन्नासाथ बिरामी पर्छन्, ५६ लाख खर्च गराउँछन् र राज्यलाई तिराउँछन् । अब संवैधानिक राष्ट्रपति परिवारसहित स्वीट्जरलेण्ड, जर्मन घुम्न जाने योजना बनाइरहेका छन् । देशका ७ सय ६१ सरकार कर उठाउने र उडाउने काम गरिरहेका छन् । परिवर्तनपछि बनेका कुनै पनि मन्त्री प्रधानमन्त्री करोडपति, अर्वपति हैसियतका छन् । देखाएको सम्पत्ति पनि श्रीमतीको दाइजो भन्छन् । दाइजोविरोधी मुलुकी संहिता यिनैले उल्लंघन गरिरहेछन् । यी आफूलाई लोकतान्त्रिक भन्छन् ।
नेताहरू हरेक नराम्रा कुरा भारतबाट अनुकरण गर्छन् । कुनै पनि भारतीय मेरा भारत महान भन्छन्, नेपाली नेता हाम्रो नेपाल महान भन्न सक्दैनन् । भारतका नेताहरू जनतालाई भगवान मान्छन्, हाम्रा नेताहरू जनतालाई मिठ्ठा बरफ सम्झन्छन्, जुन चुस्यो, चुस्यो, फालिदियो ।
राजेन्द्रप्रसाद भारतका पहिलो राष्ट्रपति बने १९५२ मा । यी तिनै राजेन्द्र प्रसाद हुन् जसले अग्रेजविरोधी क्रान्तिमा सकिय भएका बेलामा रेल चढेर पटना आइरहेका थिए । सोनपुर स्टेशनमा रेल रोकिदा भीडको धक्कमधक्का र गर्मीले अत्तालिएका महिला र बालबालिका पानी पानी भनेर चिच्याएको उनले सुने । उनी रेलबाट ओर्लेर लोटाबाट पानी ल्याउँदै आइमाई, बालबालिकालाई पिलाइरहे । रेल हिड्दासमेत उनी पानी पिलाइरहेका थिए । राजनेता भनेको त्यस्ता हुन्छन् । भूकम्पको कहर खेपेर त्रिपालमुनी पुगेका ७ लाखले अझै घर बनाउन सकेनन्, बाढीपहिरो, कोरोनाको पीडामा छट्पटाएका कति छन् कति ? जनयुद्धपीडितको झन बेहाल छ  । देशको हालत लथालिङ्ग छ, सम्हाल्ने चासो कुनै नेताले गरिरहेका छैनन् ।
बुद्धको देशका हामी, हाम्रा नेता । बुद्धको एउटा उपदेशको मनन गरेमात्र पनि नेतामा सकिएको नैतिकताको उदय हुनसक्छ । बुद्ध जंगलको बाटो जाँदै थिए, डाँकाले डरलाग्दो कर्कश श्वरमा भन्यो– पर्खी । बुद्ध रोकिए । डाँका अगाडि आएपछि बुद्धले भने– म त रोक्किएँ, तिमी कहिले रोकिन्छौं । डाँका झर्कियो– के भनिस् रे । बुद्धले शान्त भएरै सम्झाए– हेर, त्यसै पनि जीवन दुःखको भवसागर हो । जन्मदेखि मरणसम्म दुःखै दुःख छ । तिमी लूट्, मारकाट गरिरहेका छौं । यो सब दुःखबाट तिमी कहिले मुक्त हुन्छौ ? विचार गर त ?
डाँका एकछिन वाल्ल प¥यो, उसको दिमागमा के फु¥यो कुन्नी, प्वाक्क भनिहाल्यो– आजदेखि मैले डाँका जीवन त्यागिदिएँ । ऊ र उसका सहयोगी डाँकाहरूसमेत बुद्धको अनुयायी बनेर पछि लागे । बुद्धज्ञानको प्रचार गर्दै हिंडे ।
सम्राट अशोक, जो भारतवर्षका चक्रवर्ती राजा थिए । त्यस्ता वीर अशोक लुम्विनी आएर बुद्धको शरणमा परे, हतियार त्यागे, बुद्धको प्रचारमा निस्के । यस्तो देशका नेता ड्याकुल्लाजस्ता, जुकाजस्ता, देश र देशवासीको रगत मात्र चुसिरहने ।
जसले नन्द बंशका शोषक राजा महानन्दको विनास गरे, मगधमा चन्द्रगुप्तजस्ता उपकारी र वीर राजा तैयार गरेर सिकन्दरजस्ता त्यतिबेलाका शक्तिशाली युनानी यवन नरेशलाई हराए र राजाको प्रधानमन्त्री बनेर जंगलको कुटीबाट शासन चलाए, चलाउन सिकाए, ती चाणक्यले भनेका थिए– बुद्धिमानले विहान महाभारत, दिउँसो रामायण र रात्रिकालमा श्रीमद्भागवत अध्ययन श्रवण गरे जीवनका उद्देश्य पूरा हुन्छन्, जीवन सार्थक हुन्छ ।
नेपाली नेताहरूले राजनीतिक स्वार्थका लागि गरेका संघर्ष सफल त भयो, महाभारतका शकुनी, रामायणका असुर र भागवत्का कंश स्वभावले तिनलाई न युधिष्ठिर बन्ने चेत आयो, न राम, न श्रीकृष्ण बनेर माटोका सन्तानहरूको रक्षा गर्ने सद्बुद्धि नै पलायो । सिंहदरवारदेखि पालिकासम्म हेरौं, मेचीदेखि महाकाली नियालौं, सर्वत्र दुर्योधन नै दुर्योधन आततायी बनेको देखिन्छन् । लोकतन्त्रजस्तो पवित्र पद्धति बदनाम हुनपुगेको छ ।
१८ मध्ये १७ भारतीय सैनिक पोष्ट हटाएपछि चीनविरूद्ध हमला गर्न नेपाली भूमिमा खम्पा बिद्रोह गराईयो । २०३० सालमा नेपाली सेनाले खम्पा बिद्रोह समन गरेपछिका निरन्तर नेपाललाई राजनीतिक अस्थिरतामा धकेलियो । यसमा दोष विदेशीको भन्दा पनि नेपालकै बढी छ । कहिले जनमत संग्रह, कहिले बहुदल, त्यसपछि २०५२ साल फागुन १ गतेपछि १० वर्ष लामो जनयुद्ध । ०६३ को जनआन्दोलन, गणतन्त्र घोषणा । त्यसपछि सत्ता भिडन्त, सकेसम्म भ्रष्टाचारमय चरित्र प्रदर्शन ।
दरवार हत्याकाण्ड के हो ? रहस्य नै छ । ज्ञानेन्द्रलाई राजा बनाइयो । सबै राजनीतिक दलले मोहर राखेर सलाम ठोकेकै हुन् । शासनभार राजाको हातमा पु¥याउन कांग्रेसलाई हतियार बनाइयो । राजाको शासन आएपछि माओवादीलाई मिसाएर जनआन्दोलनलाई सघाइयो र राजालाई पनि ठेगान लगाइयो । ०६३ मा परिवर्तन भयो, गणतन्त्र आयो ।
त्यसपछिका दिनहरूमा भ्रष्टाचार बढाइयो, विदेशी हस्तक्षेप चुलिमा पुग्यो । हिन्दुराष्ट्रलाई धर्मनिरपेक्ष घोषणा गराएर संघीय गणतन्त्रको अर्को अध्याय सुरू भएको हो । भारत र पश्चिमाको चाल भनेको नेपालमा धार्मिक हिंसा र उत्पात मच्चाइदिने । स्थिर हुनै नदिने हो । यसैका लागि ०७२ सालमा धर्मनिरपेक्ष संविधान जारी गराइयो । भारतको नजर मधेश र चीनलाई कमजोर पार्नु छ भने पश्चिमाको नजर चीनको बढ्दो प्रभावलाई रोक्नुमा देखिन्छ । भारतले के बुझेको छैन भने बागमतीमा बगेको रगत गंगामा गएर मिसिन्छ । नेपाललाई सिध्याउन खोज्दा भारत दर्जनँैं टुक्रा टुक्रा हुनसक्छ । पश्चिमाको दाउ उत्तरतिरमात्र छैन, दक्षिणतिर पनि उसको तीर सोझिएको देखिन्छ । जनप्रतिनिधि संकट बने, संकटमोचक बन्न सकेनन् ।
भूराजनीतिका कारण नेपाल यतिबेला विश्वशक्तिको मेजर मुद्दा हो ।
भारत र चीनको गेम, अमेरिकाको नेपाल प्रवेश, रूसको नेपालमा खेल, नेपाली नेताहरू को कतिञ्जेल कसको मेम बन्ने ? घोडा फेर्ने बानी परेकाले जोशिलो घोडा खोजिरहन्छ र फेरिरहन्छ । घोडा बन्नेले होस गर्नु बेश । जातिवाद बोक्दा टिमोरमा ३ लाख मारिएको कुरा समाजवादी, सर्वहारावादी, वामपन्थी, प्रजातन्त्रवादीले किन बुझ्दैनन् ? पहिचान नेपालवादी हो, नेपाली राजनीतिकर्मीहरू किन बेहोसी, अझै किन नेपालवाद बोक्दैनन् ?
माष्टर मुसोलिनीले जर्मन राष्ट्रवादका लागि हतियार उठाए, जनता जगाए । बृटिस साम्राज्यको जुत्तामुनी कुल्चिएका अमेरिकनहरूले आफुमाथि कर लादिएपछि त्यसको बिरोधमा ‘वार अफ इण्डिपेन्डेन्ट’ सुरू गरेका थिए । यसका नायक थिए ः जर्ज वाशिङ्टन । उनी हुन् जसले अमेरिकालाई स्वतन्त्र पार्न अगुवाई गर्ने नेता । पछि पहिलो राष्ट्रपतिसमेत बने । नेता भनेको देश जुरूक्कै उचाल्ने हुनुपर्छ । तव न राजनेता बन्छ । हाम्रा नेता भ्रष्टाचार बोकेर हिड्छन्, जनताको नाक गनाएर बान्ता आउने स्थितिमा भइसक्दा थाहा पाउँदैनन् । जनआन्दोलनको औचित्य के थियो, परिवर्तनले सुशासन र समृद्धि कति भयो ? ती भ्रष्टका मतियार बने, राजनेता बन्न सकेनन् । विदेशीको गोटी बनेर देश बन्दैन । नेतृत्वलाई इतिहासले कठघरामा उभ्याएर प्रश्न गर्छ, गर्छ ।

अनुहार ऐनामा हेरून् नेतृत्व बर्गले ।