Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

ऐतिहासिक एलिट क्लव र राप्रपा नेपालका अध्यक्ष कमल थापा

२६ मंगलबार , माघ २०७२१० बर्ष अगाडि

स्वयम्भुनाथ कार्की :
(कमल थापाको यो कार्यक्रम पछि त्यसवखत अनुत्तरित प्रश्नहरुलाई समेटेको यो आलेखले बल्ल उपप्रधानमन्त्री कमल थापाबाट उत्तर पाएको छ।)
२०१५ साल बैशाख १ गतेको दिन स्थापना भएको विराटनगरको एलिट क्लव केवल स्थापना मितिले मात्र ऐतिहासिक भएको हैन। यसले नेपालको इतिहासमा मोड दिने घटना मध्ये धेरैमा सहभागी हुन पाएको छ। विविध विचारधारा अनि विभिन्न क्षेत्रमा असर राख्नेहरु सदस्य भएको यो क्लवमा सदस्यहरु सय नाघेका र्छैनन् र नाघ्न दिने गरिएको पनि छैन। संख्या हैन गुरुतालाई महत्व दिइने भएकोले संभवत यसो गरिएको होला। तर यसले 'विराटनगरले जे सोच्छ त्यो बाँकी नेपालले दश बर्ष पछि सोच्छ' भन्ने भनाई चरितार्थ गर्न ठूलै भूमिका खेलेको छ। विराटनगरको वौद्धिक, राजनैतिक, आदि क्षेत्रमा कुुरो पुग्न एलिट क्लव मार्फत सजिलो भएको छ। हरेक कालखण्डका चर्चित व्यक्तित्वहरुले यस क्लव मार्फत आफ्नो कुरा समाजका अग्रणीहरु समक्ष राखिसकेका छन।
लामो समयसम्म यसले मञ्च दिदै आएको तात्कालिक विपरित धार अहिले मुलधार जस्तै हुँदा एलिट क्लवले मुलधारको पक्षपोषण गरेको भान पर्ने सक्नु स्वभाविक नै हो। वर्तमानको वैकल्पिक धार अझ वर्तमानका परिवर्तनकारीले उल्टो भन्ने गरेको धार बोकेको दावी गर्ने राप्रपा नेपालका राष्ट्रिय अध्यक्षको पनि पक्ष सुन्न त्यसका राष्ट्रिय अध्यक्ष कमल थापालाई आमन्त्रण गर्नु विविध विचार सुन्ने र छलफल गर्ने एलिट क्लवको स्थापना लक्ष अनुरुप नै थियो। त्यसैले राप्रपा नेपालको केन्द्रिय समितिको बैठक विराटनगरमा राखेको मौकामा उनलाई आमन्त्रण गरियो। त्यसै पनि विराटनगर स्थापनाको सय बर्ष पुगेको अवसरलाई आदर गर्न राप्रपा नेपालले विराटनगरमा यो बैठक राखेको घोषणा गरेकोले त्यसको विराटनगरलाई दिएको मानको प्रतिउत्तर आवश्यक नै थियो।
    एलिट क्लवमा आफ्नो प्रस्तुति र त्यसमा सहभागिहरुको संलग्नता कस्तो लाग्यो भन्ने कुरा अध्यक्ष कमल थापाले नै मुल्यांकन गर्ने कुरा हो। तर विराटनगरका धेरैका प्रिय नन्दन कोइरालाको त्यहि दिन भएको देहावशानले त्यो कार्यक्रममा उपस्थिति भने केही कम रह्यो। त्यस बाहेक संभवत कार्यक्रममा आउनुभन्दा पहिला एलिट क्लवको बारेमा अतिथिलाई प्रयाप्त जानकारी लिन चाहेनन् त्यसैले उनको प्रस्तुतिमा आलोचक समक्ष आफ्नो कुरा राखेको जस्तो लाग्ने तत्व प्रशस्त थिए। उनले केलाएको मुलुकको वर्तमान परिस्थितिको कारण बारेमा अलग धारणा राख्नेहरुको कमी थिएन भने ति कारणमध्ये धेरैलाई स्विकार गर्नेहरु पनि प्रशस्तै थिए। त्यसले जन्माएको वर्तमान परिस्थितिको आकलनमा उनीसंग राय बझाउन आवश्यक ठानिएन। सबैको उत्सुकता वैकल्पिक धार बोकेको भनेर दावी गर्ने दलसंग जुन भयवाह स्थितिको खाका यनले खिचे त्यसको निराकरणको केहि योजना पनि छन् कि भन्ने नै थियो।
प्रश्न तथा टिप्पणीमा विगतको कारण र दलले बोकेको सिद्धान्तका बारेमा अत्यन्त न्यून कुरा आए। सबैजसो प्रश्न वा टिप्पणी उनीसंग यो आसन्न भयवाह परिस्थितिको निराकरणको निमित्त के धारणा, कार्यक्रम छ भन्ने नै थियो। आर्थिक जगतले अझ ठूलो खड्गो भोग्नुपर्ने लक्षण छ भन्ने उनको कुरामा यसबाट पार पाउने कुनै तरिका छ भनेर सोधिएको प्रश्न केवल प्रश्न थिएन। चित्तबुझ्दो बाटो देखाउन सकेमा साथ दिने मनसाय पनि थियो। हरेक ती प्रश्नहरु जो मुलुकलाई थप विनाश तिर जान रोक्न कुनै उपाय छ भन्ने आशयका थिए ती सबै सहि विकल्प भए साथ दिने मनसायले प्रेरित थिए। यो एक राम्रो अवसर थियो राप्रपा नेपाल साँच्चै वैकल्पिक शक्ति हो भनेर सावित गर्ने , तर यसमा भने उनी नराम्ररी चुकेको महशुस भयो।
प्रतिउत्तर दिने क्रममा उनले आफु वैकल्पिक शक्तिको नेता भएको छनक दिन सकेनन्। बरु दलले बोकेको सिद्धान्त तथा विगतको आफ्नो गृहमन्त्रीकालको प्रश्नको उत्तर दिन ज्यादा महत्वको सम्झे। जसले राप्रपा नेपालको तस्वीर वैकल्पिक धारको भन्दा अन्य दलहरुको जस्तै सैद्धान्तिक कुरा आदर्शको रुपमा राखेर प्राप्त मौकालाई आफ्नो हितमा प्रयोग गर्ने अवसरवादीे दलको जस्तो बन्यो। प्रतिवन्धित कालमा नेपाली कांग्रेसले गरेको जस्तो संघर्षसम्म पनि गर्न अनिक्षा जस्तो देखियो भने अन्य क्रान्तिकारी भनिने दलहरुले जस्तो आन्दोलन आदिको त उनी कल्पनासम्म गर्न सक्दैनन भन्ने भान पर्‍यो। राप्रपा नेपालको संघर्षको केवल एउटै रुपको खाका देखियो त्यो हो वैकल्पिक धारको कुराको पनि कुनै न कुनै सम्बोघन कांग्रेस एमालेले गरि दिउन्, गरेनन् भने उनीहरुलाई समयले दण्ड दिनेछ। समग्रमा सैद्धान्तिक बल्छी लिएर अबसरको माछा मार्न बसेको व्यक्ति जस्तो राप्रपा नेपालको स्वरुप एलिट क्लवमा प्रस्तुत हुनु कसैलाई त सुखद होला तर चौविस स्थान दिलाउने मतदाताको निमित्त भने निराशाको कारण बन्न सक्छ।