काठमाडौं । राष्ट्रपति हुनासाथ बिरामीको बहानामा ५५ लाख खर्च गरेर आफै तिर्छु भन्ने अनि सरकारलाई तिराएर बिबादमा फसेका रामचन्द्र पौडेल, चुच्चे नक्सा सयको नोटमा छाप्ने सरकारको निर्णयका सम्बन्धमा बिरोध जनाएका सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिले पनि बिबादमा तानिएका थिए । उनलाई फायर गरेर पानीमाथिको ओभानो बनेका राष्ट्रपति रामचन्द्र पौडेल फेरि बिबादमा फस्न पुगेका छन् ।
सरकारले बिदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको केही घण्टामै राष्ट्रपति रामचन्द्र पौडेल जेठ ३१ गते दलबलसहित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन जेनेभा जाने भएका छन् । स्वीट्जरल्यान्ड भ्रमणमा जाने भएका छन् । स्वीटजरलेण्ड गएको मौकामा राष्ट्रपति जर्मन घुम्ने योजना पनि रहेको छ । बजेटमा विदेश भ्रमणमा रोक लगाउने विषय स्वयम् राष्ट्रपतिले पढेर सुनाएका थिए, आफैले पढेको बजेटको बर्खिलाप राष्ट्रपति आफै स्वीट्जरलेण्ड जानलागेका हुन् ।
देशमा आर्थिक संकट छ । टाट पल्टिने अवस्थामा अर्थतन्त्र पुगेको छ भने १८ खर्बको बजेट, २४ खर्बको ऋणभार, १२ खर्बको प्रशासनिक खर्च रहेको मुलुकमा सहकारी ठगी, मिटरब्याजी समस्या, उद्योगधन्दामा समस्यै समस्या, ब्यापारमा मन्दी, बेथितिले सीमापार गरिसकेको अवस्था छ ।
यो अवस्थामा संवैधानिक भनिएका राष्ट्रपतिलाई किन र के कामका लागि ढुकुटी रित्याएर भ्रमणमा निस्किनु परेछ, जनताले सोध्न पाउने कि नपाउने ? भन्ने प्रश्न उठेको छ । यस घटनाले फेरि एकपल्ट सत्ता राजनीति र नेतृत्व तहको मनोमालिन्यको अर्को उदाहरण देखिनेवाला छ ।
असक्षम र अकर्मण्य राजनीति, नेताका पिछलग्गु कार्यकर्ता र जनता, पत्रकारिताका नाममा पर्चाकारिता, राजनीतिको गरलाम र माफियाकरण, प्रशासनमा भ्रष्टाचार र दलालतन्त्रको बिगबिगीले देश निरन्तर रसातलतिर भासिदो छ । समाजमा प्रश्न छ– राजनीतिले कति लाचार बनाएको ?