Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

नागरिक असन्तुष्टिले भ्रष्ट गणतन्त्र ढल्नेछ 

शाश्वत शर्मा

२२ मंगलबार , जेठ २०८१६ महिना अगाडि

नागरिक असन्तुष्टिले भ्रष्ट गणतन्त्र ढल्नेछ 

लक्ष्य असफल गणतन्त्रको हुनुपर्छ
ललितपुरको रोड शो पछि अब काठमाडौंको पालो । भक्तपुरको नवदुर्गा, ललितपुरको बगलामुखीपछि अब काठमाडौं बसन्तपुरकी जीवित देवी कुमारीको दर्शन गर्नुपर्छ पूर्वराजाले । मेचीदेखि धनगडी, नेपालगञ्जदेखि जुम्लासम्मका जनताले राजा आउ देश बचाउ भनेर जनशक्ति देखाइसके । अब राजधानीबासीले राजतन्त्रप्रति समर्थन जनाएपछि राजतन्त्र र हिन्दुराष्ट्रका पक्षमा जनमत कति छ, जनता के चाहन्छन्, लोकप्रिय को छ भनेर विश्वलाई प्रष्ट हुनेछ । पूर्वराजा देशका विभिन्न भागमा निम्त्याइएका र गएपछि भएका जनसमर्थनले कहीँ कतै लालकिल्ला वा कांग्रेस किल्ला रहेन, सबैतिर राजतन्त्रको छत्रछायाँमा एकताकिल्ला छ भन्ने देखियो, देखिनेछ ।
हो, राजतन्त्रप्रति नकारात्मक भाव फैलाउने र भ्रमण असफल पार्न सत्ता र पार्टीहरूले फर्मान जारी गरेकै हुन् । सकेनन् । राजतन्त्र जिन्दावाद भन्ने भीडमा राजतन्त्रवादी मात्र थिएनन्, नेपालवादी, सुशासनवादी झन बढी थिए । राजतन्त्रको सकृयताले देशभरि नै खुशीयाली छाएको देखिन्छ । जनआन्दोलनताका जुन प्रकारको राजतन्त्र विरोधी भीड सडकमा थिए, त्यही प्रकारको समर्थक भीड सडकमा उत्रिएको छ । जनताको स्वागत देख्दा नेपाल राजतन्त्र, हिन्दुमय देखिएको छ ।
प्रश्न छ, अहिलेसम्मको रोड शोबाट के भयो ? राजधानीमा राजतन्त्रको समर्थनमा जनता उल्टिएपछि के होला ? रोड शो हुन्छ, अनि फेरि सबै चुपचाप बस्छन् । भन्नलाई ४ जुन अर्थात आजै भारतीय लोकसभाको चुनावी नतिजापछि नेपालमा ठूलै परिवर्तन आउनेछ भन्ने लख काटिन्छ, प्रचार भइरहेको छ । जब पूर्वराजा जनताका माझ पुग्छन्, केशर बिष्ट मार्काहरू गणतन्त्र कहाँ छ भनेर सोध्छन् ? भोलिपल्टैदेखि गणतन्त्रवादी भ्रष्टाचारतिर, राजतन्त्र र हिन्दुवादीहरू रोइलोतिर । यस्ता समर्थकबाट केही हुनेवाला छैन । दह्रो नेतृत्व जनभावनालाई संवोधन गर्न तैयार छैन । बरू पूर्वराजा नै अगाडि सरे केही हुन्छ । नसर्ने भए सेना अघि सर्नुपर्छ । प्रधानसेनापतिका केही अभिव्यक्तिले सेना सचेत रहेको र सकृय हुनसक्ने संकेत देखिएको हो ।
जनता जागेका छन्, आन्दोलन पनि हुन्छ । पानीको फोकाजस्तो उठ्छ र सेलाउँछ । राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापना गरिनेछ भनेरमात्र के हुन्छ ? जनताको नेतृत्व गरेर क्रान्तिको उभार ल्याउने, अब यसो गर्ने, यसो हुन्छ भन्ने कार्यक्रमको खाका केही पनि छैन । अर्थात् विश्वासको संकट गहिरिदै जाँदो छ । यो व्यवस्थाले अवस्था बदलिदैन भन्नेहरू धेरै छन् । गर्ने के त ? यही संविधान सुधार कि ०४७ को संविधानको सुधार । मुख्य कुरा राजतन्त्र पुनस्र्थापना भइहाल्यो भने उही निरङ्कूश राजतन्त्र त हो नि भन्ने आरोप उछाल्छन् । जनतालाई भड्काउन खोज्छन् । यथार्थ त्यो होइन भन्ने पनि कोही छैनन् । विभिन्न अभिनन्दन कार्यक्रममार्फत नै पूर्वराजाले नयाँ सहमति गर्न र सहकार्यका साथ राष्ट्रिय समस्या सुल्झाउन अघि सरौं भनेर सबै राजनीतिक पार्टीहरूलाई आह्वान गरिसकेको अवस्था छ । सहमति र सहकार्यबाट मात्र राष्ट्रिय मुद्दाहरू संवोधन हुनेछ भनेको निरङ्कूशता कसरी हुन्छ ? प्रजातन्त्र विरोधी कसरी हुनसक्छ ? यत्ति कुरा बताउने समर्थक पनि सडकमा छैनन् । अन्यौलता बढ्नु र राजनीतिक दलहरूले आलोचना गर्ने ठाउँ राजतन्त्रका समर्थक किन दिइरहेका छन् ? राजतन्त्र र हिन्दुवादीले राजतन्त्रको राष्ट्रियता र प्रजातन्त्रप्रतिको प्रतिवद्धता र हिन्दुवादीले यो धर्म सर्ब धर्म समभाव मान्छ र यही नै सत्य हो भनेर बताउन जरूरी छ । प्रष्ट कुरो के हो भने न त भारतको चुनावी नतिजाले केही असर गर्छ, न त क्षणिक जनप्रदर्शनले । जनता सडकमा आए भने कसैको केही लाग्नेछैन । जनता सडकमा आउँदा तिनलाई नेतृत्व दिएर जनभावनालाई ज्वाला बनाउने नेतृत्व चाहियो ।
जनताले बुझेका छन्, नेतृत्व भ्रष्ट छ, अनैतिक छ, सिद्धान्तहीन छ । जनता र देशप्रति जवाफदेहीता छैन । पार्टीका कार्यकर्ता विवेकी छन्, त्यो विवेक नेताहरूबाट प्राप्त हुने ससाना लोभमा अन्धो भएको छ । त्यो विवेक जगाउन जरूरी छ । केही छिनका लागि नाराले केही हुनेछैन । पार्टीका कार्यकर्ता र आमनागरिक एक भएर सशक्त आन्दोलनमा उत्रिएका दिन त्यही असन्तुष्टिले भ्रष्ट गणतन्त्र ढल्नेछ ।