Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

मधेसमा किन ध्यान छैन नेताहरुको?

१८ सोमबार , माघ २०७२१० बर्ष अगाडि

रोशन कार्की -
गएको छैन, पटक्कै मधेसतिर ध्यान गएको छैन नेताहरुको। नेताहरु राजधानी बसेर भारतीय नाकावन्दीको झ्याली पिटिरहेका छन्। भारतलाई सरापिरहेका छन्। मधेसी मोर्चाका नेताहरुको विरोध गरिरहेका छन् र मधेसको सबै माग पूरा भइसकेकाले अव आन्दोलन फिर्ता लिनुपर्छ भनिरहेका छन्। मधेसले कुन विषयमा चित्त दुखाए, कसैले चासो राखेनन्। मधेस भनेको मधेसी मोर्चाका चार नेतामात्र होइनन् भन्ने बिर्सिए ठूला दलहरुले? तर मधेस सन्तुष्ट छैन। मधेसी मोर्चा अधिकारको आन्दोलन भनिरहेका छन्। अधिकार नपाए महाभारत युद्ध लड्न तैयारछौं भनिरहेका छन्। महाभारतको युद्ध अर्थात कुरुबंशको विनास। के नेपाली १ सय २६ जातिको विनासको मुसल हो मधेस। होइन भने राजनीतिक नेताहरुले मधेसलाई प्राथमिकता किन दिइरहेका छैनन्? मधेसको समस्या समाधान गर्न सबैको ध्यान किन गइरहेको छैन?
वर्तमान नेपालमा सबैभन्दा ठूलो समस्या हो मधेस। मधेस आन्दोलन रोकिएन भने नेपालमा मानवीय संकट बढ्छ भन्ने विषयमा राष्ट्रसंघदेखि अमेरिकाका पूर्वराष्ट्रपति कार्टरसम्मले चिन्ता व्यक्त गरिसके। त्यो चिन्ताप्रति राजनीतिक नेताहरुको चासो गएको देखिदैन। मधेसले आफूलाई संवैधानिक ठानिरहेको छैन। संविधानमा आफूलाई बिभेद गरेको भनिरहेको छ। मधेसलाई बुझाउन नसक्नु राजनीतिक दल, सामाजिक कार्यकर्ता र बुद्धिजीवीहरुको नितान्त कमजोरी हो। यस्तो हुनुहुन्न। ३ करोड जनताको सार्वभौम संसद छ। मधेस आन्दोलनको ५ महिनासम्म पनि संसदमा मधेस आन्दोलन प्रवेश गरेकै छैन। यो कस्तो संसद हो? जहाँ जनताको संकट, देशको संकटका विषयमा छलफलसम्म पनि हुँदैन। ताल न तिलका विषयले संसदमा महत्व पाइरहेका छन्, देशको महासंकटबारे संसद मौन छ। यसरी पनि संविधानको कार्यान्वयन हुनसक्छ? संविधान सर्वस्वीकार्य भएन रे, अधिकाधिक स्वीकार्य हुनैपर्थ्यो। भयो, कसरी भयो? अधिकाधिक जनता त विरोधमा छन्। फेरि संविधान लाद्ने विषय हो र? संविधानले जनताको अपनत्व पाएन, पाएको छैन। सत्य यही हो, यो सत्य लुकाएर मुलुक सम्पन्नतातिर कदापि उन्मुख हुनसक्दैन। संविधान जनतालाई बुझाउनै पर्छ।
मुलुक आन्दोलन र असन्तुष्टिको आगोमा झुल्सिरहेको छ। आगो निभाउने जिम्मा सरकारको हो, संसद र सभासदहरुको हो। जनता आन्दोलन गर्ने, जनप्रतिनिधि मौन बसेर तमासा हेर्ने। यो लोकतन्त्रको मान्यता होइन। जनता असन्तुष्ट भएपछि सबैभन्दा महत्व दिएर जनअसन्तुष्टिको संवोधनमा लाग्नुपर्छ। हाम्रा जनप्रतिनिधिहरुले जनताको असन्तुष्टिलाई बेवास्ता गरिरहेका छन्। आगो दन्कनुको कारण यही हो। ठूला दलहरुले देशको आगो निभाउने दमकल हुनुपर्छ।
मधेसका समस्या संकट बन्न थालेका छन्। यो संकट बेलैमा समाधान गरिएन भने मधेस बिखण्डनतिर लाग्न सक्छ। मधेस विखण्डन गराउने साजिस सफल हुनसक्छ। साजिस भारतको हो, भारत अराजकता चाहिरहेको छ र हामी त्यो चाहना पूरा गराइरहेका छाैं र भन्छौं हामी देशभक्त हौं। देशका समस्या संसदमा लगेर समाधान खोज्न नसक्नेहरु कसरी देशभक्त हुनसक्छन्। आफ्ना समस्यालाई विदेशसम्म पुर्‍याएर र विदेशीलाई गाली गरेर देशको हित र संविधानको रक्षा हुनसक्दैन। संविधानलाई जनताले अपनत्व ग्रहण गर्नुपर्छ र यसका लागि संविधानले सबै नेपालीलाई संवोधन गरेको, विभेद नगरेको विषयमा आश्वस्त पार्न सक्नुपर्छ। \
संसद, सरकार, राजनीतिक नेता र अन्य नागरिक समाजले मधेसको समस्यामा गम्भीर चासो नदेखाउँदा मधेस आक्रोसित छ। मधेस समस्या जटिल बन्दैछ। किन मधेसतिर सबैको ध्यान जान सकेन? यो यक्ष प्रश्न हो सबैका सामु उभिएको। ५० जना आन्दोलनको क्रममा मारिइसके। तिनको जिम्मेवारी संसदको हो, राज्यको हो, राजनीतिक नेताहरुले लिनैपर्छ। समयमै संविधानप्रति संचेतना जगाएर जनताको सुझावअनुसार संविधान जारी गरिएको भए जनता मारिने थिएनन्। ठूलो भड्खालो बनिसक्यो जनता र सरकारका वीचमा। संविधान यसको कारण हो। अझै केही बिग्रेको छैन, तत्काल सबै नेपालीलाई एक ठाउँमा राख्ने सोच बनाउने हो भने निकास निस्कनसक्छ, संकट टार्न पनि सकिन्छ। अन्यथा जे पनि हुनसक्छ।
भारतविरोधी सेन्टिमेन्ट बनाएर नेपालको कल्याण छैन। न त चीनसमर्थक सेन्टीमेन्टले नेपालको विकास र स्थिरता सम्भव छ। नेपालले अपनाउने नीति भनेको समदूरी नै हो र दुबै मुलुकसँगको भाइचारा नै हो। सबैको ध्यान जाओस्।