धर्मरत्न श्रेष्ठ-
रंगमञ्चको एउटा कलाकार मनोरञ्जन दिएर कमाएको पैसाले, आफ्ना शुभचिन्तकहरुसँग हात थापेर साधनस्रोत जुटाउन सक्छ र भूकम्पपीडित, चिसोले कठ्यांग्रिएका बेसहाराहरुको सहारा बन्न सक्छ तर प्रधानमन्त्री त्यही बस्ती हेर्छन् र टोलाइरहन्छन्। देशको प्रधानमन्त्रीले चाहने हो भने कलाकार धुर्मुस र सुन्तलीजति पनि गर्न सक्दैनन् र? यसैलाई भनिन्छ, इच्छाशक्ति नभएपनि केही पनि हुँदैन।
पाँचखालको धुर्मुस सुन्तली एकीकृत बस्ती पुगेर बस्तीको अवधारणा, मोडल, नमूना सबै हेरे। बस्तीका समुदायसँग पनि भेटे। अनि सबै जानकारी लिए, केही बेर टोलाए अनि सिंहदरवार फर्किए। तैपनि ओलीको बुद्धि बंगारो पलाएन, केही गरौं भन्ने जाँगर पनि आएन। उनको गलामा जनताले लगाइदिएको फूल ओइलियो, ओलीको दिमागमा भरिएको गोबरबुद्धिले पीडित र संकटमा परेका जनताका लागि तत्काल केही गरिहालौं भन्ने जाँगर आएन। प्रधानमन्त्री कमजोर र स्वार्थी भएपछि देश कमजोर हुनछ, जनताले दुःख पाउँछन् भनेको सत्य रहेछ।
हो, ओलीले प्वाक्क भनिहाले– धेरै मेहनत गरेर बनाउनु भएको रहेछ। यही मोडल अन्य स्थानहरुमा पनि उपयुक्त हुनसक्छ। तर प्रधानमन्त्रीले न आफूले कुनै नमूना बस्ती बनाउने घोषणा गरे न उनका कार्यकर्ता कार्यकारी भएको पुननिर्माण प्राधिकरणलाई नै कुनै आदेश दिए। मात्र बस्तीको बसाइ, पानीको व्यवस्था, शौचालय, ढल, समुदायको मिल्ती हेरे अनि फर्किए। मानों प्रधानमन्त्री होइन, पाँचखालको नमूना बस्तीमा कुनै टुरिष्ट गएका थिए, हेरेर फर्किए।
आश्चर्य, काभ्रेका भूकम्पपीडितले न्यानो कपडा किन्न दिने भनिएको १० हजार कहिले पाइन्छ? यस्तो प्रश्न गरे। काभ्रेमा १९ हजार परिवारले १० पाएका छैनन्। जाडो गएपछि पाइन्छ कि? भन्ने जनताको प्रश्नमा प्रधानमन्त्रीले फेरि वाकवाण हाने– म अहिले नै निर्देशन दिन्छु। पहिले नै बुझेर देशका प्रधानमन्त्री १० हजारसहित ती बिपन्न, सिमान्तकृत र जाडो तथा भूकम्पपीडितहरुलाई भेट्न गएका भए कति सुहाउने थियो। प्रधानमन्त्रीले जनतको प्रश्न सुने, लाज मानेनन्।
राजनीतिमा लोकलज्जा भएन भने त्यो राजनीति नैतिक बन्न सक्दैन। राजनीतिक सत्ता प्राविधिक बहुमतमात्र होइन। समाजको लोकलज्जाको सीमामा पनि बस्नुपर्छ। पुषमा पाउनुपर्ने १० हजारको राहत, भूकम्पको लगत्तै बितरण गरिएको १५ हजारको तत्कालीन राहत १० महिनासम्म पनि पाउन नसक्नु भनेको सरकारको प्रभावकारिता छैन भन्ने हो। प्रभावहीन सरकार हुनुभन्दा नहुने बेश होइन र? मेरी बास्सै, भद्रगोल, सगुन डटकमजस्ता हास्यकलाकार टिमले पाँचखालको पहरी गाउँलाई नमुना बस्ती बसाएर देखाइदियो। गरे के नहुने रहेछ? डिस होम र बायोग्यासयुक्त नमूना बस्ती हेरेर फर्केका प्रधानमन्त्रीले एउटा गाउँलाई नमूना बस्ती बसाउने कुरा गरेनन्, मात्र प्राधिकरणले छिटो काम गर्छमात्र भने। प्रधानमन्त्रीले पहल गरिदिएको भए सय नेताले सय गाउँ बनाउने लहर नै चल्न सक्थ्यो। समाजसेवी र विनोद चौधरीजस्ता अनेक उद्यमी पनि निस्कन्थे, नमूना गाउँ निर्माणको क्रम, उपक्रम चल्थ्यो। नेता नै खराव भएपछि के गर्ने?


