धेरैलाई लागेको छ, देशमा ठूलो परिवर्तन हुँदैछ । घटनाक्रमले त्यस्तो संकेत देखिन्छ पनि । विश्लेषक भन्छन्– यी सबै ख्वाउने, खाने क्रममात्र हुन् । यी गणतन्त्रवादीहरूले झगडा गर्छन्, खतरा देख्नासाथ आफ्ना खाने ख्वाउने कुरामा मतो मिलाइहाल्छन् । जसरी ०६३ को आन्दोलन र त्यसपछि मतो मिलाउँदै आएका छन्, यिनीहरूले कसैलाई टेर्नेवाला छैनन् । जतिसुकै यिनका जघन्य अपराध छताछुल्ल किन नहोस्, यिनीहरू एकदोस्राप्रति आरोप प्रत्यारोप किन नगरून्, आफ्नो खान्की र बान्की सोचेर मिलिहाल्छन् । लोकतन्त्र भन्नेहरू जुनसुकै पार्टीका हुन् मौसेरा भाइ हुन् ।
मुख्य सवाल जनता सडकमा बिद्रोहमा उत्रनु हो । जनता कहाँ छन् र जो छन् पार्टीका कार्यकर्ता छन् । यिनले पार्टीका मुद्दा उठाउँछन्, देशका मुद्दा बिर्सन्छन् । जो आमनागरिक छन्, कहिले कहिले सडकमा उत्रन्छन्, अनि सेलाउँछन् । नागरिकता, पासपोर्ट, सहकारी, मिटरब्याजी, सरकारी जग्गा र सम्पत्ति हिनामिनाका अनेक मुद्दा छन् । बाजुरामा नुनका लागि जनता मारामार गरिरहेका छन् । कहाँ छ लोकतन्त्र ? यी कार्यकर्ताहरूलाई त राष्ट्रवाद र जनताको सवालमा कुनै मतलव नै देखिन्न । यथार्थमा गणतन्त्रले जनता पीडित भएका छन् । तर जो पीडित छन्, उनीहरू व्यक्ति केन्द्रित छन्, व्यक्तिको बिरोध गरिरहेका छन् । पद्धति नफेरी देशको बेहाल सुध्रिनेवाला छैन । यो पद्धतिमा जे जति निकाय छन्, सबै भ्रष्ट छन्, भ्रष्टाचार व्याप्त छ ।
सत्ता राजनीति प्रचण्ड, देउवा, केपी ओलीका वरिपरि घुमिरहेको छ । केही ससाना पार्टी सुशासन, संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रका मुद्दा उठाइरहेका छन् । तिनीहरूको आन्दोलन पनि पानीको फोकाजस्तै छ । नेता कार्यकर्तालाई भातभान्सा र शक्ति चाहिएको छ । पार्टीहरूको आआफ्नै स्वार्थ छ, आमनागरिक पीडित छन्, तिनलाई एक हुन लागे कि बिभाजित गर्ने अनेक कारण निकाल्छन् । स्थिति पार्टी निकटेहरू दानदातव्यमा बाँचिरहेका छन् भने आमनागरिक श्रीलंकाको राजापाक्षविरूद्धको जनविद्रोह गर्नु अवस्थामा पुगिसकेका छन् । भ्रष्टहरूको जालो, जन्जिर नतोडेसम्म यो गणतन्त्र नामको घिडघिडोले देश र जनतालाई घिटीघिटी पारिरहनेछ । यसकारण जनता सकृय हुनजरूरी छ । जनता निस्कृय रहेसम्म भ्रष्ट भाइरसले पिरोलिरहनेछ ।
जता पनि सेटिङ, जता पनि भागबण्डा । नेताहरूले लाभ पाएसम्म तिनले कार्यकर्तालाई आफ्नै स्वार्थमा परिचालन गरिरहने निश्चित छ । कायृकर्ता पनि आँखामा पट्टी बाँधेजस्ता । खानपिन पाएसम्म गलतलाई गलत भन्न नसक्ने । न्यायालयदेखि निजामती, संवैधानिक र सुरक्षा निकायसम्म सर्बत्र राजनीतिक प्रभाव । धेरैजसो जनताले एक एक पार्टी समातेकै छन् । हिजो राजतन्त्र भएका बेलामा यतिबिघ्न बेथिति थिएन । डर थियो । लोकलज्जा पनि थियो । आज लोकतन्त्रे नेताहरू नङ्गा नाचे हजार दाउ खेलिरहेका छन् । जनता आफैबिरूद्ध शोषण गर्ने र जनताको हक खोस्नेहरूको कार्यकर्ता बनिरहन हुन्न । जनतामा चेत छ, थाहा छ, अब बिद्रोही मानसिकता बिकसित गर्न जरूरी छ । अन्यथा आफ्नो पुस्ता त सखाप भयो भयो, आगामी पुस्ताले समेत नेपाली हुँ भन्न नपाउने अवस्था आउनसक्छ ।
भ्रष्टाचार गर्ने, मिलेर गर्ने । भ्रष्टाचार गरेको रकम तलतलसम्म छर्ने । नेताहरूको यो फर्मुला धेरै हदमा सफल छ । नक्कली नागरिकतामा अदालत पुगेका कैलाश सिरोहियाको पक्षमा मानिस धर्नामा बस्ने मुलुक हो यो । भ्रष्टाचारी कांग्रेसी नेतामात्र होइन, प्रचण्ड, पूर्व उपराष्ट्रपतिको सालिक बनाइने देश हो यो । नागरिकलाई सकेसम्म निकासी गर्ने, अनागरिक शरणार्थी बनाएर अमेरिका पठाउने देश हो यो । ज्यानमारा मुद्दा लागेकाहरू सत्तासीन हुने देश हो यो । बलात्कारी र भ्रष्ट जेलबाट छुट्दा, हत्यारा अपराधीले माफी पाउँदा फूलमाला अबिर जात्रा मात्र होइन, ब्याण्डबाजा नै ठोकेर खुशीयाली मनाउने देश हो यो । यस्ता अनेक घटनाको कति बेलिबिस्तार लगाउनु ?
फेरि पनि भनौं, जनता जगाऔं । नेता र जनतावीचको खानपिनको कडीलाई तोडौं । सामान्य रोडसोले परिवर्तन आउनेवाला छैन । जनताले विवेकशील बनेर बिद्रोहमा नउत्रेसम्म देशमा कुनै परिवर्तन सम्भव छैन । यतातिर मनन गरौं ।