काठमाडौं । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमान स्थल बन्यो, केही चार्टर र एकाध उडानपछि दुबै एयरपोर्ट सेतो हात्ती बनेको छ । दुबै एयरपोर्टले ऋणको ब्याज त परैको कुरा, बिजुली, पानीको खर्च समेत उठाउन सकेन ।
पोखरा विमानस्थल चीनको एक्जिम बैंकको ऋणमा बनेको हो, चीनले बीआरआई अन्तर्गत भनेर घोषणा गरिदियो, नेपालले केही जवाफ दिएन । नेपालले अनुदानमा परिणत गर्न भन्दा चीनले मानेको छैन । उडान र पर्यटक पठाउने आशा देखायो, आशाअनुसार उडान र पर्यटक दुबै आएका छैनन् ।
भैरहवा एयरपोर्ट ः ४० अर्ब खर्चेको भैरहवा विमानस्थल अलपत्र अवस्थामा छ । बिजुली र पानीको खर्च उठ्न नसकेपछि अवस्था चिन्ताजनक छ ।
पोखरा पर्यटनका लागि हब बन्नसक्थ्यो, भैरहवा गौतमबुद्धका नामले बुद्धमार्गीका लागि तीर्थस्थल हुनसक्थ्यो, नेपालले ती दुबै सम्भाबनामा काम गर्न सकेन । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २ जेठ २०७९ मा भैरहवा विमानस्थल उद्घाटन भयो भने गतवर्षको जनवरीमा पोखरा विमानस्थल प्रम प्रचण्डले उद्घाटन गरेका थिए । यी अपार सम्भाबना बोकेका विमानस्थल अन्तर्राष्ट्रिय उडानबिहीन रहेपछि सन्नाटा छाएजस्तो दयनीय अवस्थामा छन् ।
कुबेतको जजिरा, नेपाल एयर, हिमालयन एयर, चीनका एकाध विमानले परीक्षणजस्तो उडान गरे पनि नियमित उडान नहुँदा विमानस्थल पालेर राख्नुपर्ने अवस्थामा पुगेको हो । राजधानीको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, विशेष अवस्थामा जहाज होल्ड गर्नुपर्ने, रोक्नुपर्ने समस्या समाधान गर्दै पर्यटन विकासको फड्को मार्न यी दुई अन्तर्राष्ट्रिय विमानस्थल बनेका हुन् । विमानस्थल निर्माण अघि नै भारतसँग कूटनीतिक प्रयासबाट सहमति लिएको भए विमानस्थल नै अप्ठेरोमा पर्ने थिएन । भारत भएर जहाज अवतरण र उडान गर्नुपर्ने अवस्था छ, भारतले अनुमति नदिंदा समस्या झन बल्झेको छ ।
विमानस्थल चालु भएपछि पर्यटकको धुइरो लाग्नेछ भनेर निजी क्षेत्रले दुबै क्षेत्रमा पर्यटन पूर्वाधार निर्माणका लागि व्यापक लगानी गरेका छन् । त्यो लगानीसमेत जोखिममा परेको छ ।
आन्तरिक र नेपाल एयरको हप्ताको एउटा उडानले विमानस्थलले खर्च धान्नसक्ने अवस्था छैन । सन्नाटा छाएको अन्तर्राष्ट्रिय विमानस्थल तमासा बन्नपुगेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार थुप्रै विदेशी एयरलाइन्सले चासो दिएका छन्, तर उडान अनुमति र उडान तालिकामा सकृयता देखाएका छैनन्, अर्थात् सम्भाबना छ, समस्या धेरै भएकाले समस्या समाधानका लागि नेपाल सरकार नै उदासिन रहेको संकेत तिनले गरेका छन् । यो अवस्थामा पर्यटन मन्त्रालयले विज्ञहरूसँग छलफल गरेर निर्माण भएका संरचनाको प्रयोग कसरी बढाउने, चलायमान गराउने भनेर विशेष चासो राख्न ढिला भइसकेको छ ।
कतिपय एयरलाइन्र्स आकर्षित गर्न सरकारले ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षा, ग्राउण्ड हैण्डलिङ शुल्कमा छुटको व्यवस्था गर्दासमेत एयरलाइन्सले भैरहवा र पोखरालाई महत्व दिएका छैनन्, कसरी आकर्षित गर्ने यसबारेमा नेपालको सोच र योजना पनि देखिदैन ।
यी दुबै विमानस्थल बनिसक्यो, चलायमान गराउन के कस्ता सुधारको खाँचो हो, तत्काल सुधार्न जरूरी छ । मुख्य सवाल भारतले दिने रूट परमिट हो, जसका लागि प्रधानमन्त्रीले भारत भ्रमण गर्दासमेत प्राप्त भएन । अहिले त भारतसँग सयको नोटमा चुच्चेनक्सा छाप्ने विषयमा बाझाबाझको अवस्था छ । नेपालको कूटनीतिक क्षमता नहुँदा भारतलाई बुझाउन क्षमता देखिदैन ।
नेपालसँग अन्तर्राष्ट्रिय उडानका लागि बाराको सिमरा हुँदै प्रवेशमार्गमात्र छ । भारत सकारात्मक नभएसम्म नेपालका भैरहवा र पोखरा विमानस्थल चल्न सक्दैनन् भन्छन् विज्ञहरू । राजधानीका ट्राभल एजेन्सी पनि बाधाका रूपमा रहेको क्यानले बताएको छ । नेपालका विमानस्थल हातपार्न दक्षिणले पासो थापेको छ, त्यसैमा पर्ने त ?