शाश्वत शर्मा :
मुलुक अहिले अन्यौलमा छ। गतिरोध छ, संकट छ, निकास छैन। सबै अलमलमा छन्। संविधान गत असोज ३ मा जारी भयो तर त्यो संविधानले थप अन्यौलता निम्त्याइदिएको छ। गत माघ ९ गते नेपालको संसदबाट पारित संविधानको पहिलो संशोधनले पनि कुनै निकास निकाल्ने छाँट देखाएन। झन झन समस्याग्रस्त हुँदै गयो मुलुक। आन्दोलनरत मधेसी मोर्चालाई जिस्क्याएको जस्तो पो भो यो पहिलो संशोधनले। यो संशोधनले मधेसी मोर्चालाई झन कडा आन्दोलन गर्न हौस्याएको छ। काठमाडौंलाई नै ठप्प पार्न पो कस्सिए यिनीहरु।
ऊ, उता सदभावना पार्टीका राजेन्द्र महतो समर्थन जुटाउन भारतको उत्तरप्रदेश र विहारको दौडाहामा जाने भएका छन्। त्यस्तै गरेर तराई मधेसतिरका भूमिगत संगठनहरु फेरि सलबलाउन थालेका छन्। सरकार र मधेसी मोर्चावीच अहिले बोलचाल बन्दको अवस्था छ। प्रधानमन्त्री ओली भारतको अघोषित नाकावन्दी अव खुकुलो भो भन्दै फागुनको पहिलो हप्ता नयाँदिल्लीको तीर्थाटन गर्ने सुरसारमा छन् भने यता नेपाली जनता, खासगरी काठमाडौंकाले नाकावन्दी खुलेको कुनै भेउ पाएका छैनन्। कालोबजारी, अभाव, उस्तै छ। तीन दिन लगाएर लाइन बसेपछि पेट्रोल पाइनुलाई अनि १५–२० दिन लाइनमा राखेपछि आधा सिलिण्डर ग्यास पाइनुलाई ओली सरकारले नाकावन्दी खुल्यो भनेर आत्मरती प्रचार गरिरहेको छ। हो, काठमाडौंको...अझ नेपालकै लाइफ लाइन भनेर चिनिने वीरगञ्ज नाका बाहेक अरु नाका खुल्ला छ। तर मुख्य वीरगञ्ज...धर्नाकारी नभएता पनि त्यो अझै बन्द छ। अझ मुख्य कुरा भारतले नाकावन्दी गरेको हो कि होइन? त्यसमा नै कन्फ्यूजन छ, स्वयं सरकारलाई पनि। मुख्य नाका वीरगञ्जबाट सामान नपठाइनु (नियतवस नै) लाई नाकावन्दी भनौं, अरु नाका खुल्ला छ। अव अरु नाकाबाट सामान आइरहेको छ भनौं, वीरगञ्ज जुन मुख्य नाका हो, त्यो ठप्प पारिदिनाले, यहाँ हाहाकार छ। स्वयं सरकारी मेसिनरी पनि द्विविधामा छ। एकथरि जानिफकार भन्छन्– प्रधानमन्त्री ओलीले अहिले भारत भ्रमणमा जानु नेपाली जनतालाई धोका दिएको ठहरिन्छ। नाकावन्दी नखुली, नखोलाई भारत भ्रमणमा जान्न भन्ने ओली भारतले नाका अझै सामान्य नपारीकनै नयाँदिल्ली जानु भनेको आफ्नै वचनमा हार्नु हो। राष्ट्रवादी छवि बनाएका ओलीको इवी धूमिल हुनजान्छ। तर अर्काथरि प्रश्न गर्छन्– यी ओली पनि विशुद्ध भारतवादी हुन्। महाकाली सन्धि पारित गराउन यिनले खेलेको भूमिका सम्भि्कए पुग्छ। अहिले वीरगञ्जलाई पनि अलि अलि खुकुलो पारिनु कतै ओलीलाई दिल्ली भ्रमणका लागि बाटो सजिलो पारिदिन त होइन? यो आशंकामा पनि दम चैं छ है।
अर्थमन्त्री विष्णु पौडेललाई आफ्नो नयाँदिल्लीको भ्रमणका लागि तारतम्य मिलाउनका लागि त्यसतर्फ पठाउन लागेका ओलीले वास्तवमा नेपाल र नेपाली दुबैलाई धोका दिएका छन्। फेरि ओली मात्रै किन? उनको पूरा टिम जिम्मेवार छ। न भूकम्प पीडितहरुको उद्धार गर्न सक्यो... न त अघोषित नाकावन्दी नै पूर्ण रुपमा खुलाउन सक्यो। न राष्ट्रिय मुद्धामा सफल... न त वैदेशिक मुद्दामा। सबैतिर असफल ओली र उनको टिम। यो टिमले फूर्ति लाउनु बेकार छ।
अव हामी नेपालीहरुको अवस्थाको चर्चा गरौं। बरु कालोबजारमा रमाउन सक्ने हामी नेपालीहरु आफ्नो हक हितका लागि चुँइक्क बोल्दैनौं। अभाव छ, महगी र हाहाकार छ तर अभावमै, कालोबजारीमै सन्तुष्ट छौं हामी नेपालीहरु। भूकम्पपीडित र चिसो पीडितको राहत पार्टीका पहुँचवालाहरुले लुटिरहेका छन्, आम नागरिक आँसु बगाएर बाँच्न बाध्य छन् तैपनि जनता सहिरहेकै छन्। हिजो राजतन्त्र हुँदा यी दलहरुले घुमाउनसम्म घुमाए,... आज यी दलहरु नै सर्वेसर्वा भएपछि हामी नेपालीहरु त शून्यमा नै झरिसक्या रहेछौं। यी विदेशबाट सञ्चालित दलहरुले चलाए मात्र बोल्ने, उफ्रने हामी नेपालीहरुले आफैलाई के भनेर धिक्कारौं? ...सरकार, नेता र जनता सबै मिलेका छन्। नेता ढाँट्ने, जनता पत्याउने। सरकार भ्रममा पार्ने, जनता हो कि भनेर पत्याएर बस्ने। सधैं हान लाग्यो शून्य जनताको भागमा। सत्तापक्ष र विपक्ष सबैतिर असफल हुने तर जनता चूपचाप सहिरहने ...फेरि तिनलाई नै पत्याउने? वास्तवमा अजव गजब छ नेपाल।


