Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग

१० बिहिबार , जेठ २०८१२ महिना अगाडि

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माग गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा गृहमन्त्री लामिछानेको दोहोरो राहदानी र सहकारीको रकम अपचलनमा संलग्नताबारे छानबिन गर्न माग गरिएको हो ।

राप्रपाका नेताहरुले बुधबार बसेको बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोधपूर्ण भएको बताएका थिए । बैठकपछि प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सिरोहियामाथि लागेको अभियोग न्यायिक निरूपणको विषय भइसकेको उल्लेख गरिएको छ ।

राप्रपाले जुनसुकै ओहदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरीत गरेको कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट रहेको बताउदै नागरिकता प्रकरणमा जुन ढङ्गबाट सिरोहियामाथि छानबिन सुरु भयो त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपमाथि पनि छानबिन हुनु पर्ने माग गरेको छ । साथै, देशको कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनु पर्ने राप्रपाको धारणा रहेको बताईएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन, महामन्त्री डा. धवलशमसेर राणाले साङ्गठनिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङले सचिवालयसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

उक्त प्रतिवेदनलाई सामान्य परिमार्जनसहित यही जेठ ११, १२ र १३ गते काठमाडौँमा बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने जनाइएको छ ।