लोकतान्त्रिक गणतन्त्रवादीहरू रडाकोमाथि रडाको गरिरहेका छन् । राजा ज्ञानेन्द्रलाई देशका विभिन्न भागका साथै भक्तपुरपछि ललितपुरवासीले समेत भव्य स्वागत गरे । यो देखेर धेरैलाई लागेको होला– अब परिवर्तन हुन्छ । ०६३ सालदेखि जे बिग्रिएको थियो, त्यो सबै सच्चिनेछ । आमजनता भ्रष्टलाई दण्डित गर्न र राजसंस्था स्थापित गर्न लाग्नेछन् । यसअघि नै सडकदेखि संसदसम्म यस्ता आशा र अपेक्षाका अनेक घटना घटिसकेका छन् । कुनै परिवर्तन हुनसकेन । संसदको शौचालयमा खुर्सानीको पाकेट पाइयो, बजेटभाषण खोसियो, मेच उठाएर हानाहान भयो, सांसदले पेस्तोल बोकेर गएकै हो, अहिले आरोप प्रत्यारोप र धकेलाधकेल भएको छ । उता पूर्वराजाको रोड शोमा जनताले जयजयकार गरेको दृश्य, यता संसद र सरकारमा मारामारको परिदृश्य, जनताको मुखैमा राजा आउ देश बचाउको नारा, नतिजा के निस्क्यो ? यी भ्रष्टहरू झगडा गर्छन्, खुट्टा तानातान गर्छन्, वार्ता गर्छन्, मिल्छन् । यता पूर्वराजाले जयजयकार थाप्छन्, जनताका कुरा सुन्छन्, देश अप्ठेरोमा परेको बुझ्छन् । त्यसपछि तातेको वातावरण बिस्तारै सेलाउँदै जान्छ, सबै चिस्सिन्छन् । भएको यही हो ।
संसद चलोस्, खाने यिनैले हो । मध्यावधि होस् कि मिसन ८४ होस्, जित्ने र सत्तामा जाने, खाने यिनैले हो । राजनीति र राजनीतिको अपराधिकरण यिनले गर्छन् । जबसम्म नागरिकको चेतना जाग्दैन, फोहर छुट्याउन सक्दैनन्, फेरि पनि मासु भात र पकेट खर्चले चुनावको निर्णय गर्नेछ, भ्रष्टाचारी संसद र सरकारमा पुग्नेछन् । यता राजा देख्यो कि जयजयकार गर्नेहरू चुनावका बेलामा भ्रष्टलाई भोट हाल्छन् । जनताका लागि उभिएजस्तो गरेर सत्ता चलाउने हामी नै हौं भनेर यिनले बुझेका छन् । जस्तो जनता छन्, तिनले त्यस्तै नेता पाउने हुन्, नेपाल भ्रष्ट मुलुक बनेको यहीकारण हो । भ्रष्टाचारमा ठूला पार्टीका ठूला नेता प्रचण्ड, देउवा, ओली र अन्य साना दलका नेतासमेत भ्रष्टाचारमा डामिएका छन् । स्वतन्त्र न्यायिक आयोग गठन गरेर छानबिन नभएसम्म अर्थतन्त्र चलायमान नहुनसक्छ, कालोधन व्यवहारमा आउने छैन ।
नेता भ्रष्टाचारमा डामिएर के भो, छानबिन नभएपछि जनता तिनकै पछाडि छन्, सत्ता र संसदको हालीमुहाली तिनकै हातमा छ । जाग्नुपर्ने जनताले हो, बुद्धिजीवी र नागरिक समाजसमेत पन्चर भएको टायर बनेकाले जनताले निर्णय गर्नुपर्नेमा जनता समेत मौसमअनुसारको ट्यूनिक लगाउन थालेपछि हुने भ्रष्टकै राइँदाइँ हो । एकथरि भन्छन्– ४ जुनमा भारतको लोकसभाको चुनाव परिणाम आएपछि भाजपाको सरकार बन्छ र नेपालमा परिवर्तन हुन्छ । सन २०१४ मा पनि यस्तै हाहा हुहु थियो । मोदी र उत्तर प्रदेशमा योगी आदित्यनाथ आएपछि परिवर्तन हुन्छ भनिएको थियो । २०२४ सम्म केही भएन । अर्काथरि रूस, चीन र भारत मिलेर नेपालमा परिवर्तन गराइदिन्छन् भन्नेहरू पनि छन् । हावा हो, थरि थरिका हावा चलिरहन्छन् । असली कुरो नेपाली जनतालाई बिभाजित गर र राज गर भन्ने नीति पार्टीहरूले लिएका छन् । जनतालाई थाहा छ, नेता घाती छन् । तर तिनै घातीलाई शिरमा बोकिरहन्छन् । जनता नै यस्ता भएपछि कसरी परिवर्तन हुन्छ, कसरी शान्ति समृद्धि आउँछ ?
अस्थिरता कतिसम्म भने एउटा प्रधानमन्त्रीले दुईवर्षभित्रै चारपल्ट विश्वासको मत लिनुपर्ने । अराजकता कतिसम्म भने ज्यानमाराले माफी पाउने, भ्रष्ट संसदमा पुगेर नाराबाजी गर्ने, विधि निर्माण गर्ने । संविधान असफल भइसक्यो, त्यही असफल संविधानको शव बोकेर गणतन्त्रवादी लोकतन्त्र भनेर नेतातन्त्र चलाइरहने । देशलाई दुरावस्थामा पु¥याउनेले पुरस्कार पाउने, विश्वले दण्डहीन मुलुक भनिसक्यो, विश्वबैंकले भ्रष्ट मुलुक भनिसक्यो, कसैलाई बिझ्दैन, कसैलाई अप्ठेरो लाग्दैन ।
हरेक नेता, हरेक पार्टी, हरेक पदासीन व्यक्तिको सम्पत्ति छानबिन गर्न किन नहुने ? त्यो हिम्मत कसैमा छैन । हिम्मतिलो जनता बिद्रोह गर्न सक्देनन् । राज्यकोषको र सत्ताको चरम दुरूपयोग भइरहेको छ, नियन्त्रण गर्ने निकाय सुतेर बसेको छ । भन्नुपर्दा यदि यी लुटाहलाई कोर्रा हानेर यिनले लुटेको धन फिर्ता गराउन जनता विद्रोहमा उत्रनैपर्छ, मृत्यु कि विद्रोह जनताले रोज्ने र खोज्ने समय यही हो ।