धर्मभनेको खासमा कुनै बिचारलाई धारणगर्ने कुरामात्र हो । तर धर्मको बिषयलाई लिएर कुनै समयमा ठूल्ठूला युद्धहरूसमेत भए । कतै, कतै हुँदैपनि छन् । नेपालमा बहुसंख्यकले मान्ने हिन्दु धर्मलाई लिएर बिभिन्न किसिमका तर्कहरूगर्ने गरिन्छ । ०७८ को जनगणना अनुसार कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ मध्ये सबभन्दा धेरै दुई करोड ३६ लाख ७७ हजार ७४४ जना (८१.१९ प्रतिशत) हिन्दु धर्म मान्ने रहेका छन् । दोश्रोमा बौद्ध धर्म पर्दछ । सरकारी तथ्यांकअनुसार २३ लाख ९३ हजार ५४९ जना (८.२१ प्रतिशत) बौद्ध धर्म मान्ने रहेका छन् । त्यसैगरी ५.०९ प्रतिशत इस्लाम, ३.१७ प्रतिशत किराँत र १.७६ प्रतिशत क्रिष्टियन धर्म मान्ने रहेको पाइएको छ । ०६८ को जनगणनाअनुसार नेपालमा १० वटा प्रमुख धार्मिक समुदाय रहेको भनिएको थियो । जसमा हिन्दु, बौद्ध, इस्लाम, किराँत, क्रिस्चियन, प्रकृति, बोन, जैन, बहाई र शिख रहेका छन् । बिभिन्न श्रोतहरूकाअनुसार विश्वमा करिब ८६ राष्ट्रहरू ईसाई छन् । जसमा १५ वटा राष्ट्रजस्तै अर्जेटिना, कोष्टारिया, डेनमार्क, ग्रिस आदि प्रत्यक्षरूपमा चर्चबाटै सञ्चालित भएको पाइन्छ । त्यसै गरी करिब ४८ वटा राष्ट्र मुस्लिम छन्, करिव आठवटा राष्ट्र बौद्धिष्ट छनेभने करिब डेढ करोडको हाराहारीमा रहेको यहुदीहरूको समेत आफ्नो छुट्टै पहिचानसहितको एउटा देश रहेको छ । यस्तो अवस्थामा करिब १५० अर्व हिन्दुहरू भएको विश्वमा किन एउटा हिन्दु राष्ट्र हुन नसक्ने ? भन्ने प्रश्न सहजै उठेको छ ।
तर ०६३ को राजनीतिक परिवर्तनपछि नेपालमा ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ नीतिलाई प्रमुखता दिइयो । खासमा यो सिद्धान्त विश्व साम्राज्यवादको हो । तर त्यसलाई नेपालका माओवादीहरूले अपनाएको देखिएको थियो । समयक्रममा ढाडमा टेकेर टाउकोमा हान्ने सिद्धान्त लिएर नेपालमा प्रबेश गरेकाहरू ‘नक्कली माओवादी र साम्राज्यवादीहरूका अशली खेताला’ भएको प्रमाणित हुँदैगएको छ । उनीहरूलाई यहाँका सक्कली माओवादीहरूले समेत प्रतिक्रियावादी शक्ति भएको औपचारिक घोषणा गरिसकेका छन् । सो शक्तिले नेपालको सत्ता राजनीतिमा प्रबेश गर्नासाथ यहाँको स्थायी शक्ति राजतन्त्रमाथिनै पहिलो प्रहार गरेको थियो । जसका लागि नेकां र एमालेको ढाडमा टेक्ने काम भएको थियो । त्यतिबेला नेपालमा राजतन्त्र हटाउने काम अमेरिका लगायतका पश्चिमा राष्ट्रको रहेको प्रचार गरिएको थियो । हाल त्यसमा भारतकोसमेत हात रहेको खुल्दैगएको छ । हाल नेपालमा भारतले राजतन्त्र स्थापना गराउँछ भन्ने जुन हल्ला गराइएको छ, त्यो सोरैआना गलत कुरा हो ।
नेपालमा इन्डो पश्चिमा शक्तिको बोलवाला रहेसम्म राजतन्त्रमात्र होइन, अन्य कुनैपनि शक्तिलाई स्थापित हुन दिइँदैन । नेपालमा राजनीतिक स्थायित्व कायम हुननदिनकै लागि संघीयता, जातीय समाबेशी र समानुपातिकसहितको मिश्रित निर्वाचन पद्धतिको स्थापना गरिएको छ । नेकां, एमाले र माओवादी केन्द्रकाबीचमा जतिनै बिवाद भएपनि उनीहरू बर्तमान राजनीतिक ब्यवस्थामा रहेका त्रुटी सच्याउन तयार नहुनुले पनि धेरै कुराहरू स्पष्ट गरेका छन् । त्यसैगरी ०६३ को राजनीतिक परिवर्तनपछि हिन्दु राष्ट्रमाथि प्रहार गरियो । धर्म निरपेक्षता कम्युनिष्टहरूले मान्ने सिद्धान्त हो । जसको अर्थ सबै धर्मप्रति समान आदरगर्ने, कुनै धर्माबलम्वीप्रति धर्मका आधारमा भेदभाव नगरिने भन्ने हो । राज्यको त्यस्तो नीतिलाई धर्म निरपेक्षता भनिन्छ । धर्म निरपेक्षता भनेको धर्मको विरोध होइन तर धर्मदेखि स्वतन्त्र हुनु हो ।
पछिल्लो समयमा नेपालको सत्ता र शक्तिमा आएकाहरू धर्म निरपेक्षताको आडमा धर्मको ब्यापारमा लागेको देखिएको छ । कम्युनिष्टहरूले प्रयोगगर्ने नारालाई नेपालका सन्दर्भमा साम्राज्यवादीहरूलेनै प्रयोग गरेको देखिएको छ । धर्मनिरपेक्षता कम्युनिष्टको नारा भएपनि नेपालका कांग्रेसहरू समेत त्यसमा सहमत हुनुले यसका पछाडि अन्तराष्ट्रिय शक्ति रहेको र नेकांले चाहेर पनि त्यसलाई परिवर्तन गर्न÷गराउन नसक्ने स्पष्ट भएको छ । ०६३ पछि नेपाललाई धर्म निरपेक्ष बनाउनमा युरोपीयन यूनियनको प्रमुख हात रहेको भन्ने गरिएको थियो । तर समयक्रममा त्यसका पछाडि मुख्यत भारतको हात रहेको खुल्दैगएको छ । किनकी नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएलगत्तै भारतमा हिन्दुवादी राजनीति अगाडि बढेको छ । पछिल्ला दिनमा कतिपयले भारतले नेपाललाई फेरी हिन्दु राष्ट्र बनाउन दबाव दिएकोभन्ने जुन प्रचार गरेका छन्, त्यो पनि गलत साबित भएको छ । यतिबेला भारतमा आम निर्वाचनमा अन्तिम चरणको मतदान भैरहेको छ । बिभिन्न चरणमा छहप्तासम्म चल्ने भनिएको मतदान आगामी जुन एक तारिख (जेठ १९) मा समाप्त हुँदैछ । जसमा प्रधानमन्त्री नरेन्द्र मोदीनै तेश्रो कार्यकालका लागि पनि निर्वाचित हुने प्रबल संभावना देखिएको छ । पछिल्ला दिनमा प्रधानमन्त्रि मोदी र उहाँको पार्टी भाजपालाई लोकप्रिय बनाउने एउटा मुख्य कारक हिन्दुत्व अथवा हिन्दु राष्ट्रवादी बिचारधारा रहेको स्पष्ट छ ।
नेपालमा तत्कालीन अवस्थामा राजतन्त्र र हिन्दु राष्ट्र समाप्त गराउने काम भारतीय कांग्रेस (आइ) ले गरेको थियो । अर्काको सर्बनाशगर्न चाहानेहरूको आफ्नो पनि सर्बनाशै हुन्छभन्ने कहावतअनुसार भारतीय कांग्रेस (आइ) र सोनियाँ गान्धीहरूको पनि पत्तासाफ हुँदैगएको देखिएको छ । नेपाललाई हिन्दु राष्ट्रबाट च्युत गरिएपछि भाजपाका नेताहरू भारतलाई हिन्दु राष्ट्र बनाउने अभियानमा लागेका छन् । जुन कुरा हाल जारी निर्वाचनले पुष्टि पनि गरेको छ । पछिल्लो समयमा हिन्दुधर्मको प्रचारभने विश्वभर फैलदै गएको छ । नेपाललाई हिन्दु राष्ट्रबाट च्युतगराउन प्रयास गरिरहेका भनिएका अमेरिका र युरोपीयन मुलुकहरूमा समेत पूर्बीय दर्शन र हिन्दुत्वको प्रभाव बढेको देखिएको छ । अमेरिका र उसको प्रभावमा रहेका भनिएका अष्ट्रेलिया लगायतका मुलुकमा हिन्दु देवदेवीका मठ मन्दीर बनाउने र हिन्दु चाहाड र उत्सवहरू मनाउने होड बढेको छ । त्यहाँका शासकहरू नै हिन्दुका बिभिन्न कार्यक्रममा भाग लिन थालेका छन् । यसअघि अमेरिकी भारतीय, विशेषगरी कट्टर हिन्दुहरूको झुकाव अमेरिकाका पूर्ब राष्ट्रपति डोनल्ड ट्रम्पतर्फ रहेको बताइन्थ्यो । हाल त्यहाँका राष्ट्रपति जो वाइडेन पनि हिन्दुहरूप्रति आकर्षित देखिनु भएको छ । नेपाललाई जतिबेला जसले हिन्दु राष्ट्र घोषणा गरेको थियो, त्यो ज्यादै देशभक्तिपूर्ण र दूरदर्शी निर्णय थियो । भारतमा हिन्दुहरूको चार धाममध्ये जगन्नाथ मन्दिर रहेको पुरीमा गोवद्र्धन, रामेश्वरममा श्रृंगेरी, द्वारकामा शारदा र बद्रीनाथमा ज्योतिर्मठ छन् रहेका छन् । अब भारतीयहरू भारतमै पशुपतिनाथको मन्दिर पनि बनाउने प्रयासमा छन् भने हाल नेपालका सत्ताधरीहरू त्यसको स्वीकृति दिने उपायको खोजीमा लागेको देखिएको छ । त्यसैगरी भारतले नेपाली भूमि अतिक्रमणगर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले ०७७ को बैशाखमा भिडियो कन्फ्रेन्समार्फत धार्च‘ला–लिपुलेक लिंक रोडको उद्घाटन गर्नुभएको थियो । भारतको उत्तराखण्डस्थित धार्च‘ला क्षेत्रको पिथौरागढबाट नेपालको दार्च‘लाको गुञ्जी क्षेत्रहुँदै लिपुलेक पुग्ने सडक मार्ग खोल्नु पनि भारतमा हिन्दु पर्यटकहरू बढाउने र विश्वभरका हिन्दुहरूलाई भारतमा जान बाध्यपार्ने कार्य हो । नेपालले सो क्षेत्रको उपयोगगर्न सक्थ्यो । तर नेपालका ०६३ पछि आएका शासकहरूले त्यसको कुनै प्रतिवादनै गरेनन् । तत्कालीन भारतीय कांग्रेसको पालामा थुप्रै मुस्लिमहरूले आफूहरूविरूद्धको आक्रमण र घृणायुक्त अभिव्यक्ति आउने गरेको बताउने गरेका थिए । तर मोदी नेतृत्वको भाजपाले अल्पसंख्यकहरूमाथि कुनै भेदभाव नगर्ने नीति अगाडि सारेर उनीहरूलाई समेत समेट्दै लगेको देखिएको छ । भारतीय प्रधानमन्त्रि मोदीले ‘टाइम्स नाउ’ नामक भारतीय समाचार च्यानललाई हालै दिएको एक अन्तरवार्तामा आफूहरू इस्लाम र मुस्लिमहरूका विरूद्धमा नरहेको बताउँदै सबैलाई समान दृष्टि राख्ने दाबि गर्नुभएको थियो । सबैभन्दा पछिल्लो सन् २०२१ को जनगणनाले भारतको जनसंख्यामा ८०% हिन्दु, १४ % मुस्लिम, साथै इसाई, सिख, बौद्ध, जैन र अन्य समूदाय बाँकी ६% रहेको स्पष्ट गरेको छ । त्यसैले हाल जारी निर्वाचनपछि बन्ने सरकारले भारतलाई नै हिन्दु राष्ट्र घोषणागर्ने संभावना बढेर गएको छ । नेपालमा ०६३ पछि सत्ता र शक्तिमा आएकाहरू जे बोल्छन् त्यो काम नगर्ने र जे काम गर्छन् त्यो नभन्ने रहेका छन् । त्यसैले नेपालको अस्थित्व समाप्त पार्ने मूल अभिप्रायकासाथ उनीहरूले अद्यापि काम गरिरहेको देखिएको छ । नेपालमा हिन्दु राष्ट्रको नारा दिने र तर त्यसअनुसार काम नगर्ने ( राप्रपा र राप्रपा नेपाल लगायत) पनि रहेका छन् । यो सबै गतिबिधि भारतलाई हिन्दु राष्ट्र बनाउन र नेपाललाई समाप्त पार्न भैरहेको देखिएको छ । आम देशभक्त नेपालीहरू सजग र सतर्क होउ !