सामाजिक सञ्जालमा भाइरल खबर छ– कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु पुत्र जयवीर सिंह देउवाले चार वर्षमा एक अरवको ७३ रोपनी जग्गा खरिद गरेछन् । धेरैको प्रश्न छ– देउवा र जयवीरको आर्थिक आम्दानीको स्रोत के हो ? सबैलाई थाहै छ– आर्थिक स्रोत भनेकै देउवा र उनकी पत्नी हुन् ।
अर्को खबर छ, प्रजातन्त्रका पिता भनिएका स्व.गणेशमान सिंहकी पुत्री डा.कान्ता सिंह बाल मन्दिरको जग्गा घोटामा पक्राउ पुर्जी जारी भए पनि घुमिरहेकी छिन् । नक्सालस्थित बाल मन्दिरको जग्गा कौडीको मूल्यमा भाडामा दिएर भ्रष्टाचार गरेको भन्ने आरोप लागेकी उनी पक्राउ नपर्ने र छानबिन नहुनेमा ढुक्क छिन् ।
पछिल्ला यी दुई ठूला ‘माछा’ र यसअघिका भ्रष्टाचार काण्डमा मुछिएर कारवाहीमा परेका फेहरिस्त निकै लामो छ । यसबारेमा नेपाली जनता के भन्छन् ? खाली चियोचर्चो गरेर बस्छन् त ? यस्ता राष्ट्रद्रोहीहरूलाई कानुनी कठघरमा उभ्याउनका लाग सडकमा ओर्लन्छन् कि ? ०४६ अघि पञ्च र पञ्चायतले भ्रष्टाचार ग¥यो भनेर यी प्रजातन्त्रका पिता र परिवार सडकमा उत्रिएका थिए । तर आज ? प्रजातन्त्र र गणतन्त्रवादी भएपछि सात खुन माफी हुने हो त ? आज सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्री, महान्यायाधिवक्ता, प्रहरीले बिना छानबिन नै क्लिन चिट दिइसके । कांग्रेस बेथितिको लागि चिनिन्थ्यो, ताजा उदाहरण अन्य पार्टीका पनि सार्वजनिक भइरहेका छन् । अरूण चौधरीदेखि माओवादीका कृष्णबहादुर महरालाई पनि कुनै कारवाही हुनसकेन । ललिता निवासका योजनाकार र अभियुक्तहरू बाबुरामदेखि माधव नेपालसम्मले त वयानसमेत दिन परेन । विजय गच्छदार, बालकृष्ण खाडहरूमात्र होइन, वाइडबडी जहाज खरिद र सुनकाण्डका अभियुक्तहरूसमेत कानुनलाई गिज्याइरहेका छन् । क्यान्टोनमेन्टका फाइल त खुल्दै खुलेनन् । ठूला नेता मुछिएका कुनै फाइल नै खुल्दैनन् । टेरामिक्सका मोहनबहादुर र ज्ञानेन्द्रबहादुर कार्कीहरूको फइल खुल्ने कुरै भएन । बल्ल अर्जुन लामा मारिएको मुद्दा पेशीमा चढेछ । चोख्याउनकै लागि हुनसक्छ । अग्नि सापकोटा चोख्खिने पक्का छ, किनकि पार्टी सरकारमा छ । लुकाइएका देउवा, आरजुलगायतका प्रकरणमा केही हुँदैन । अनि देउवाका छोराले बिना आम्दानी त्यतिठूलो जग्गा खरिद गर्नु कुन आश्चर्य भयो ।
राजनीति व्यवसाय बनेपछि, अपराधिकरण हुनपुगेपछि हुने यस्तै हो ।
देशमा ७६१ सरकार छन्, सबैतिर भ्रष्टाचारको महाभारत छ । भ्रष्टाचारसँगै हत्या, हिंसा, डकैती, लुटका घटना बढ्दै गएका छन् । यसरी आफू र देश लुटिदै गएको छ, आमनागरिक हेरेर बसेका छन् । जनतामा कहाँ छ चेत ? भर्खरैको इलाम र बझाङको चुनावमा जे जस्ता नजारा देखियो, मिसन ८४ मा पनि यस्तैले मौका पाउने र चुनाव जितेर आउने पनि यिनै हुनेछन् । जनता किन यति कमजोर भएका ?
के गणतन्त्र भनेको जनता मर्ने मारिने, नेता र तिनका परिवारले ब्रम्हलुट गरेर मोजमस्ती गर्ने पद्धति हो ? राजतन्त्रका समयमा बिद्रोह गर्ने जनता कता छन् ? तिनको तातेको रगत सेलाइसक्यो ? हुनसक्छ, जनता चिसो बनेकाले जनताका नेता भनाउँदाहरूले देश र जनतालाई लुटिरहेका छन्, लोकतन्त्रको बदनाम गरिरहेछन्् ।
राप्पा, केशर विष्ट, दुर्गा प्रसाई र राजतन्त्र र हिन्दुवाद जिन्दावाद भन्नेहरू धेरै देखियो । जनता श्रीलंकामा जसरी सडकमा विद्रोहमा नउत्रने हो भने यिनले देशलाई सिध्याउँछन् । जो आन्दोलन गर्छन्, गरेजस्तो गरेर स्वार्थका लागि चुप लाग्छन् । परिस्थिति सुधार्न एउटा न एउटा दह्रो नेतृत्व अघि सर्नैपर्ने देखिन्छ ।
आम नागरिक सेनातिर हेरेर बसेका छन् । सेना सजग छ, सूचित छ । तर सेना अघि सर्नका लागि पनि वातावरण चाहिन्छ, त्यस्तो वातावरण बनाइदिन आमनागरिक अघि सरेकै छैनन् । असन्तोष बढेको छ, जनता पीडामा छन्, राष्ट्रियता कमजोर हुँदै गएको छ । कम्तिमा जनताले बिद्रोहमा त उत्रनु पर्छ । पूर्वराजाको सहमति र सहयात्राको प्रस्तावलाई लुटेरहरूले मानेका छैनन् । यो मुलुकको थाप्लोमा बढ्दो भ्रष्टाचार, नैतिकहीनता र राष्ट्रघात थपिदो छ, कतिञ्जेल मुलुकले थाम्न सक्ला ?