हिजोदेखि सुरू भएको एकीकृत समाजवादीको स्थायी कमिटी आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
हिँजो शनिबारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा नेताहरूले बोल्ने क्रम बाँकी रहेकाले आज पनि बैठक बस्न लागेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । त्यस्तै एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सकिएलगत्तै आज साँझ पोलिटब्युरो बैठक बस्ने बैठकले केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने कार्यसूची अनुमोदन गर्ने जनाइएको छ ।
शनिबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा धारणा राखेका थिए । त्यसैगरी पार्टी महासचिव घनश्याम भुसालले महाधिवेशनको तयारीसहितका एजेण्डाबारे बैठकमा जानकारी गराएको बताईएको छ ।
शनिबारको बैठकमा स्थायी कमिटी सदस्यहरू साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले आफ्ना धारणा राखेका थिए । शनिबार शुरूभएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आइतबार बस्नेगरी बैठक स्थगित गरिएको थियो ।