धर्मरत्न श्रेष्ठ :
नयाँ शक्ति अर्थात कमरेड डा.बाबुराम भट्टराईले घोषणा गर्न लागेको पार्टी प्रजातान्त्रिक पार्टी हुनेरे। यसो भयो भने कम्युनिष्टले खोल्ने पहिलो प्रजातान्त्रिक पार्टी हुनेछ बाबुरामको पार्टी। यो पनि नौलो प्रयोग नै हुनेछ नेपालमा। बाबुरामले पार्टी घोषणा गर्नासाथ अव उनले यसरी मुठ्ठी उठाएको देख्न पाइनेछैन। कमरेड बाबुरामको यो प्रजातान्त्रिक न्वारान सबैका लागि आश्चर्य र अनौठो हुनेछ।
बाबुरामले घोषणा माघ १० गते केन्द्रीय परिषद घोषणा गरेका छन्। पछि पार्टी घोषणा गर्दासमेत कम्युनिष्ट पार्टी वा विचार जनाउने नाम हुनेछैन। नयाँशक्ति अहिलेसम्मकै फरक पार्टी हुनेछ। नयाँ पार्टी प्रगतिशीलव राष्ट्रवादी हुनेछ। प्रगतिशील, कम्युनिष्ट अथवा समाजवादी पार्टी जति पनि छन्। निर्वाचन आयोगमा दर्ता भएका १ सय ८० पार्टी सबैले आफूलाई नयाँ भनेका छन्, प्रगतिशील भनेका छन्। कुन अर्थमा बाबुरामको पार्टी अलग र प्रगतिशील हुन्छ, उनले खुलाएनन्। तर यो पार्टीप्रति जिज्ञासा सबैतिर बढेको देखिन्छ। प्रचण्डले त मलाई सिध्याउने देशी विदेशी षडयन्त्र हो यो समेत भनिसके।
बाबुरामका अनुसार कम्युनिष्ट र गैरकम्युनिष्टको मिस्कट भएर नयाँ पार्टी बन्छ भनेपछि अधिवेशनपछि कतै यो खिचडी अथवा क्वाँटी पार्टी बन्ने त होइन? बाबुरामले रुसमा बोल्सेविक क्रान्तिपछि मार्क्सवादी, लेनिनवादी पार्टीनाम राख्ने चलन विश्वभरि फैलिएको हो। चीनमा माओको क्रान्तिपछि क्रान्तिकारी देखन माओवादी नाम पार्टीमा जोडिन थालेको हो। अव नेपालको आवश्यकता आर्थिक क्रान्तिको छ। चीनले फरक बाटो लिएर देङको नीतिमा चल्यो। आर्थिक विकास गर्यो। हामी पनि आर्थिक विकासका लागि अघि बढेका छों। अर्थात जनयुद्ध, जनआन्दोलन, संविधान घोषणापछि अव आर्थिक बिकास गर्न बाबुराम पथ अँगाल्न लागेको छनकमनक देखाए बाबुरामले। र, खण्डन गरे, यो भारतीय षडयन्त्रबाट बन्न लागेको पार्टी होइन। आर्थिक विकासका लागि पार्टी जन्मन लागेको हो। यो पार्टी कति गतिशील बिस्तारै देखिदैजाला। जनयुद्धजस्तै हो कि?
नयाँशक्ति विदेश भक्ति नयाँ शक्ति होइन, विदेशी भक्ति हो भन्ने आरोप छ जनार्दन शर्मा प्रभाकरको। विदेशीको चाहनाविपरित संविधान घोषणा हुनासाथ बाबुरामले पार्टी छाडेर थालेको नयाँ शक्तिको कुनै औचित्य छैन भनेका छन् उनले। बाबुरामले त्याग र बलिदानको बाटो त्याग्नु सरासर गलत हो। उनले जनतालाई धोका दिए, इतिहासले त्यसको उचित मूल्यांकन गर्नेछ। प्रभाकरले घुमाएर भने पनि बाबुरामले भारतलाई रिझाउन पार्टी परित्याग गरेको र नयाँ शक्तिका नाममा भारतवादीहरुलाई समेटेर मधेसी आन्दोलन चर्काउन लागि परेको आरोप लगाएका हुन्। भारतवाद माओवादीको पुरानै आरोप प्रत्यारोप गर्ने हतियार हो। प्रचण्डले दिल्ली छलाङ मारेको, रअको खेलौना बनेको भन्ने आरोप लगाउने प्रचण्ड बेद्य एक ठाउँमा आउन सक्छन्, एकीकृत हुने तैयारीमा छन् भने बाबुराम आउन नसक्ने अथवा प्रभाकरले लगाएजस्तो आरोपको औचित्य सकिन कुनै आइतवार पर्खिरहनु पर्दैन। पुरानै रोग हो यो।


