संघीय संसद्अको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन शुरु हुन लागेको हो ।
संघीय संसद् भवनमा आज अपराह्न २ बजेका लागि बोलाईएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई संघीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै अनुरोध गरिसकेको बताएको छ ।
सरकारको वार्षिक नीति तथा कार्यक्रमको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ । यसअघि अधिवेशनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गरेका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरिसकेका छन् ।
संवैधानिक प्रावधान अनुसार आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने भएकाले त्यसको तयारीका लागि बजेट अधिवेशन शुरु गर्न लागिएको हो ।