Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

अपराध बढ्दा, बुद्धका आँसु बरर...

राजन कार्की

२६ बुधबार , बैशाख २०८१७ महिना अगाडि

अपराध बढ्दा, बुद्धका आँसु बरर...

बुद्धको  देशमा बुद्धलाई समेत अशान्त पार्ने राजनीतिक अराजकता छ । हिंसा र अस्थिरता देखेर स्वयम्भुका त्रीनेत्र पनि रसाउन थालेका छन् ।
तर राजनीतिक नेतृत्व देख्दैन । राजनीतिक नेतृत्वमा खिया लागेपछि प्रशासनमा पनि खिया लाग्ने रहेछ । राजनीति दुषित भएपछि शासन प्रशासन सबै प्रदूषित हुने रहेछन् ।
देश बचाउन र बनाउन एकजना देशभक्त त्यागी वीर त निस्कनै पर्ने भयो । राजनीतिले सकेन, अब साहित्य कला क्षेत्रबाट अगुवा निस्कन जरूरी छ ।
इतिहासमा– फ्रान्समा भिक्टर ह्युगो भन्ने साहित्यकार थिए । देश बर्बादीको भीरमा पुगेको बेला उनले देश जागरणका कविता, उपन्यास, नाटक लेखे, कलम घोटे । विचारभन्दा शक्तिशाली केही हुँदैन भन्ने उनको मान्यता थियो । अर्को व्यक्तिलाई हेर, उसको अनुहारमा भगवान देखिन्छ भनेर मानवता जगाए । सन १८८५, मर्नु अघि सम्म पनि ह्यूगोले फ्रान्सलाई जगाइरहे । फ्रान्सका जागते रहो भन्ने कवि ह्यूगो मर्दा सिंगो फ्रान्सले शोक मनायो, अर्को ह्यूगो जन्माउन युवतीहरूले त्यसै दिन गर्भाधान गर्ने प्रतिस्पर्धामा पनि निस्के । राष्ट्रिय कवि राष्ट्रको सच्चा सिपाही पनि हो । यसकारण त फ्रान्स आज पनि भिक्टर ह्यूगोलाई मानवतावादी, राष्ट्रवादीका रूपमा सम्झिरहन्छ । गर्व गर्छ ।
भ्रष्टको भीडमात्र देखिएको यो कालखण्डको नेपालमा त्यस्तो सिर्जना गर्ने साहित्यकारको खाँचो छ । हरेक सिद्धान्तभन्दा सशक्त छ साहित्य ।
धेरै भयो जिन्दावाद मूर्दावाद । भीडवादको रङ उडिसक्यो । बहुदल, लोकतन्त्रको रङ खुइलीसक्यो । साहित्य समाज हो, अव समाज बोल्नुपर्छ । स्वार्थी राजनीतिक कात्रोले देश बेरिन पुगेको छ, गाँठो फुकाउँ कसरी, देश बौराउँ कसरी ? यस्तो औंशी अँध्यारोमा देश गुम्सिन सक्दैन । साहित्यले समाज परिवर्तनको बिद्रोह बोल्ने, नगारा बजाउने, बिगुल फुक्ने यस्तै बेलामा हो । साहित्य ब्रम्हास्त्र हो, यो अस्त्र चल्नुपर्छ । देश स्वर्ग थियो, नर्क बनाउनेहरू विरूद्ध साहित्यको शंख फुकेर जागरूकताको आरती जगाउने बेला आयो ।
परिवर्तनका अनेक पानाहरू पल्टिए । सबै पानाहरू पेण्डोराका बाकस खोलेझैं भयो । नसालु र विषालु किट पतङ्गले माटो निल्दैछ, स्वाभिमान पचाउँदैछ, अस्तित्व समाप्त पार्दैछ । सबै शक्तिहरू निस्तेज भएका बेलामा बलबती हुने साहित्य नै हो । उज्यालो बनेर ब्यूँझ साहित्य, भोर बनेर उठ साहित्य, छरपस्ट भएको देशलाई मिलाउ साहित्य, च्यातिएको गुन्युचोलो सिलाउ साहित्य । जागरण जगाउ साहित्य । रोम जलिरहेझैं देश जलिरहेछ, निरो बन्न सक्दैन साहित्य । देश हो साहित्य, लोक हो साहित्य, संस्कार र संस्कृति हो साहित्य । राजनीति हो साहित्य, कूटनीति पनि हो साहित्य । राग हो, पराग हो, सीमाको खम्बा, स्वाभिमान र जगदम्बा, नेपाली सुर र नेपाली ताल हो, साहित्य हो ।
देशका तमाम समस्याका लागि सर्वौषधि हो साहित्य । नेपाली ह्यूगो अब निस्कनु प¥यो ।
साहित्यले दुर्दसा लेख्नैपर्छ । कोरोनाको कहरले लथालिङ् पारेको अवस्थामा जवाफदेहीता कसैले लिएनन् । लोक भय र हाहाकार बेहोरिरहेका छन्, सत्ताधारी र सांसदहरू इमान र नैतिक धरातलमा उभिन सकेनन् । आउने दिन भोका, नाङ्गाले अरू चिन्ताको आगोमा जल्नुपर्ने निश्चित छ । यो दुर्दशा जिम्मेवार हुनुपर्नेको गिदीमा लिदी भरिएको हो कि होइन ?
बुद्धलाई समेत हामीले शिरमा बोकेर विश्वलाई चिनाउन सकेनौं । एउटै बुद्ध नेपाललाई स्वर्ग बनाउन काफी थियो । धार्मिक देखि प्राकृतिक आकर्षण कति छ कति, राजनीति र प्रशसानले दुरूपयोगमात्र ग¥यो । भ्रष्ट राजनीति र प्रशासनको निर्वाणा शान्ति होइन, सम्पत्ति हो, शक्ति र सत्ता हो । १७ वर्षमा यिनको मुखुण्डो खुलेन र ?
रोजगारी दिने उद्योग बेचिए, देशलाई अर्काको हाटबजार बनाइयो । वाइडबडी जहाज किन्दा ४ अर्व ३५ करोड भाग शान्ति गरेको बेरूजु महालेखाको रिपोर्टमै आयो, संसदीय प्रतिवेदनमै सार्वजनिक भयो र राजनीतिक नेतृत्वले त्यसलाई चकटी बनाएर ओछ्याएको कुरा खुला किताव हो । बाँसबारीदेखि बालुवाटारको सरकारी जग्गा अपचलन, टेरामक्सदेखि सेक्युरिटी प्रेस खरिद प्रकरण, कोटिभिटीदेखि भुटानी शरणार्थी बनाएर नागरिक निकासी काण्ड, ३८ क्विन्टल सुनको गहना कांग्रेस, कम्युनिष्ट कसले लगाएन, बलात्कारी–हत्यारालाई पाता फर्काउनु पर्छ, प्रत्येक पार्टीको अनैतिक महात्म्य कथा सात दिनमा पनि सुनिभ्याइदैन । बहुदलपछिको लोकतन्त्र पनि लोक निचोर्ने सन्यासो न रहेछ । सबैलाई थाहा छैन र ?
फरिद जकारिया भन्ने एउटा मूर्ख विद्वान बस्छ अमेरिकामा र सिएनएनबाट हरेक हप्ता बुद्ध भारतमा जन्मिएका हुन्, बुद्ध भारतका हुन् भनेर सुगा रटान दिइरहन्छ । उसको यो अभियान २४ वर्षदेखि जारी छ, नेपालका शासक प्रशासक कसैले जकारियाको मुखमा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने प्रमाणको ठेडी जाक्न सक्दैनन् । बौद्ध विश्वविद्यालयका एक से एक पदाधिकारी, ३० बुद्ध नामका संस्थाहरू पनि पटक्कै बोल्दैनन्, सबैको ध्यान नेपाल आउने बौद्धमागीसँग डलर धुत्ने, सम्पर्क बनाएर उनीहरूको मुलुकमा भ्रमण गर्न जाने र बुद्धले टेकेको माटो–इटा, बोधिबृक्षको पिर्का, बुद्धकालीन मूर्ति भनेर डलरमा साट्नमै व्यस्त छन् । श्रीलंकाले बुद्धको दाँत भनेर गुम्वा बनाएर सजाएको छ, त्यहाँ वर्षको १७ लाख पर्यटक जान्छन्, लुम्बिनीमा ४ लाख पनि आउन्नन् किन ? बुद्ध शान्तिको प्रचार गर्ने फुर्सद नै छैन हामीलाई । पर्यटन मन्त्रालय र पर्यटन विकास बोर्ड, बजेट उडाउनमै व्यस्त छ । १७ वर्षे लोकतन्त्र लोकमार्गमै छैन, लुटमार्गमा छ । लुट मार्गमा सभ्य मान्छे भेटिन्न ।
२०४९ सालतिर रसियन कलेजमा पढाउने भारतीय प्राध्यापकले माउण्ट एभरेष्ट भारतमा पर्छ भनेर पढाए । यो सुनेपछि एउटा नेपाली विद्यार्थी जुरूक्क उठेर प्रोफेसरको छेवैमा पुगेर गाला चड्काइदियो, यो घटनाले मस्कोमा ठूलै चर्चा पायो । मस्कोवासीलाई ती नेपाली विद्यार्थीले प्रष्टिकरण दिए– माउण्ट एभरेष्ट नेपालमा पर्छ । गलत पढाउनु अनैतिकता हो । त्यस्ता विद्यार्थी थिए नेपाली, आजका विद्यार्थीमा राजनीतिमात्र छ, देशनीति छैन ।
जनयुद्धकै अर्धाङ्ग मोहन वैद्य र विप्लव जनकारवाही गर्दै समानान्तर जनसरकार चलाउने आगो फुक्दैथिए । बैद्य कता छन्, उनका सहयात्री के गर्दैछन्, कसैलाई पत्तो छैन । तर विप्लव ०८४ को चुवना लड्ने घोषणा गर्न पुगेका छन् । कम्युनिष्ट आश्चर्य कति छन् कति ? युरी गागरिन, प्रथम अन्तरिक्ष यात्री हुन् । उनी फर्केपछि हौसिएको सरकारले भन्यो– जे माँगे पनि सरकार पुरस्कार दिन तैयार छ । युरी गागरिनले ‘मलाई कम्युनिष्ट पार्टीको सदस्यता दिए मेरा लागि सबैभन्दा ठूलो पुरस्कार हुनेछ’ भन्ने माग गरे । त्यस्तो गर्व गर्नलायक कम्युनिष्टका अनुयायी नेपाली कम्युनिष्टले झापा विद्रोहदेखि जनयुद्धसम्म गरे, कम्युनिष्टहरू सत्तामा पनि पुगे, कम्युनिष्टकै दुई तिहाईको सरकार पनि बन्यो । कम्युनिष्टहरू ‘दया’ पात्र बनेका छन् । नेपालको कम्युनिष्ट कस्तो छ भनेर बुझ्न मोहन चन्द्र अधिकारीको मगन्ते हालत र मोहन विक्रम सिंहको बृद्धाश्रमजस्तो अन्धा कम्युनिष्टहरू किन देख्दैनन् ? कम्युनिष्टका माष्टर माइन्ड हुन चारू मरूजदार । एकदिन उनले कार्यकर्ताहरू विचार कम्युनिजम, व्यवहार महल ठड्याएर पुँजीवादी शैलीको देखेपछि आफूले आफैलाई धिक्कारेर झुण्डिन पुगे । नेपालका कम्युनिष्टहरू देखेर चारूहरू लाजले भुतुक्कै भए होलान् । कांग्रेस र अरू नेताहरूको ठालुपन देखेर समाजवाद परलोकबाट वीपी कोइराला आँसु चुहाइरहेका होलान् ।
केही वर्षअघि पोर्चुगल पुगेका मोहन विक्रम सिंहको अभिव्यक्ति सबै कम्युनिष्टले मनन गरून् । सिंहले पोर्चुगलमा प्रष्टिकरण दिएका थिए– ‘नेपाली कम्युनिष्टको स्कूलिङ साह्रै राम्रो थियो । सत्ता र शक्तिमा चुर्लुम्मै डुबेर मोराहरू बिग्रिए ।’ तिनै मोहनविक्रम श्रीमतीलाई सांसद बनाउन मरिहत्ते गरिरहेका थिए, सकेनन् । एमालेको भागमा प¥यो । अन्जान शाक्य मनोनित भइन् ।
नेल्शन मण्डेला भनेर चिनारी कमाएका मोहनचन्द्र अधिकारी काठमाडौंको नैकापको एउटा सानो कोठामा बस्छन्, उनको दुखेसो यस्तो छ– ‘कसैले वास्तै गर्दैनन्, के गर्नु ?’ बिग्रिएका कम्युनिष्ट सत्तामा भए के, सडकमा भए के ? दुःखीलाई उफार्ने र सुख हासिल गर्नु नेपाली कम्युनिष्टको व्यापार भएको छ ।
नेपाली कांग्रेस जो १९८९ मा सदस्यमा सदस्य रहेको सोसलिष्ट इन्टरनेशनलको सदस्य रहे पनि सिद्धान्त अँगाल्न सकेन । सर्वहाराको भरिया बनेको थियो, सर्वहाराले समेत लत्याइदिएको देखियो । यतिबेला एमालेलाई सत्तामा पु¥याएर आत्मतुष्टिका लागि बजेट अधिवेशन समेत चल्न नदिने भन्दैछ । राजनीतिक संकट बढ्दो छ । अराजकता बढ्दो छ ।
समष्टिमा नेपाली राजनीति जुका राजनीति हो । जुका दुहुनु गाईको कल्चौंडो मै पुग्यो भने पनि चुस्ने रगत नै हो । नेपाली राजनीतिमा १७ वर्षदेखि जुकाको बिगबिगी छ ।
इतिहासमा राजनीतिबारे एउटा दृष्टान्त यस्तो थियो– स्टालिनका छोरा जेकव बन्दी बनेपछि उनको बदलामा जर्मन सैनिकको लेनदेन गर्ने प्रस्ताव आयो । स्टालिनले मलाई पुत्रभन्दा राष्ट्रियता प्यारो छ भनेर सेनाको पक्ष लिए, छोराको पक्ष लिएनन् । छोरा जेकब जेलमै सडेर मरे तर स्टालिनले जर्मन मर्न दिएनन् र आज जर्मन त्यो इतिहासलाई गौरव गर्छ ।
नेपालमा अपराधीलाई समेत राजनीतिले संरक्षण गर्छ । पार्टीका नेताले जति देशघात गरे पनि सेटिङ गरी गरी छुटाउँछन् । राजनीतिको अपराधिकरण डरलाग्दो गरेर बढेको छ ।
यस्तो राजनीतिले समाज बदल्न सक्दैन । कुशासनमात्र गर्छ ।
नेपाल वीरको देश थियो । वीरताले देश बनाएका थिए । उपनिवेश हुनबाट बचाएका थिए । त्यस्ता वीरका सन्तान यो कालखण्डमा मरेतुल्य छन् । आफू बन्न र सम्पत्ति कमाउन देश मार्दैछन् । देश मारेर राजनीतिका नाममा कुराजनीति बढाउनु नेतृत्वको राजनीतिक मृत्यु नै हो ।
हामी बडामहाराज पृथ्वीनारायण शाह जिन्दावाद भन्न सक्दैनौं, नेपाल निर्माताको सालिक तोडफोड गर्छौं । बुद्ध नेपाल, शान्त नेपाल, स्वाधीन नेपाल, सगरमाथा नेपाल, हाम्रो नेपाल बनाउने सोच मदन भण्डारीमा थियो । अनेक हत्याकाण्ड, दरवार हत्याकाण्ड भयो, ग्य्राण्ड डिजाइन देख्ने कांग्रेस बोल्दैन । यी कस्ता माओ, माक्र्स, स्टालिन र वीपीका अनुयायी हुन् ? युवा निकासी गरेर भ्रष्टाचारको साम्राज्य सिर्जना गर्छन् ? यो राजनीतिक अपराध नभए के हो ?
एकीकरण थाल्दा पृथ्वीनारायण शाह २० वर्षका थिए । इच्छाशक्ति थियो र उनले नेपालको एकीकरण सम्पन्न गरे । त्यो दुःखले आज्र्याको स्वतन्त्र नेपाललाई यिनै दलहरूले अघोषित पराधीनताको चक्रव्यूहमा पारिसके । बहुदल आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो, देशको स्वाधीनतामाथि विदेशतन्त्र हावी भयो ।
प्रत्येक सचेत बर्ग भन्छ– नेपालको साँचो विदेशीको हातमा गयो । यो अवस्था ल्याएको यिनै नेताहरूले हो । देशका चालक, सञ्चालक, शासकहरू अपराधिकरण, राष्ट्रघातमा फसेर दलीय मौजा र आर्थिक साम्राज्य फैलाईरहेका छन् । 
राणाकालमा तिहारमा जुवा फुक्थ्यो र दिव्यदेव चमत्कारिक कौडा हान्थे र भूपदेव हिसाव राख्थे । महाभारतको द्युतमा सकुनीले जस्तै जालसाजपूर्ण कौडा हान्थे दिव्यदेव । २०६३ सालपछि नेपाली राजनीतिमा काटामार र लूटामार, लोकतन्त्रको नाममा जालझेल भयो । ०६५ सालमा गणतन्त्र घोषणा गर्दा र ०७२ सालमा संविधान जारी गर्दा पनि षडयन्त्र गरियो । दैत्यगुरू शुक्राचार्य पनि लज्जाबोध गर्नुपर्ने राक्षसी ज्यादतिपूर्ण राजनीतिका कारण विदेशीशक्ति राष्ट्रहरूको चलखेलको रेडलाइट इलाका बन्यो नेपाल ।
नेपाल बनाउँछु भन्नेहरू खलनायक बने । देश भताभुङ्ग भयो, समाज लथालिङ्ग हुनपुग्यो । बुद्ध शान्ति ः छटपटाहटको ओखती थियो । चिन्न सकेनौं । सगरमाथा र प्रकृति स्वर्ग थियो, भिल्लका देशमा मणि हुनपुग्यो ।
बुद्ध धर्माबलम्बी देशहरू ८ (भुटान, बर्मा, कम्बोडिया, चीन, चाइवान, श्रीलंका, थाइल्याण्ड र जापान) मात्र छन् । नेपालमा बुद्धधर्म हिन्दुत्वभित्रै आवद्ध छ । बुद्ध नेपालमा जन्मे, हिन्दूराष्ट्रलाई धर्मनिरपेक्षता घोषणा गरियो । जापानले लुम्बिनीलाई जोड्दै बौद्धतीर्थहरू सारनाथ (धर्मचक्रवर्तन), राजगृह, नालन्दा (बौद्ध शिक्षालय), बुद्धगया (बोधीज्ञान), कुसीनगर (महापरिनिर्माण) जोड्ने बुद्ध करिडोर निर्माणको प्रस्ताव कता हरायो हरायो । भारतले राम (अयोध्या) करिडोरको योजना बनाइसक्यो । चीन सिल्करोड, टीहर्स रोडको आधुनिकीकरण गरेर वान बेल्ट वान रोड योजना सफल पार्र्न अघि स¥यो । हामी फेवातालको डुङ्गा जस्तै ढलपल ढलपल गरिरहेका छौं ।
नेपाली शासन र प्रशासनमा बढ्दो अपराध देखेर स्वयम्भुका त्रीनेत्रबाट आँसु झर्न थालेका छन् । आँसु झार्दै मांसाहार गर्ने गोहीहरूलाई पीडाले किन छुन्थ्यो र ?