Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

Image

न त कोही कम्युनिष्ट, न कम्युनिष्ट एकता

डा.केशव देवकोटा

११ मंगलबार , बैशाख २०८१एक महिना अगाडि

न त कोही कम्युनिष्ट, न कम्युनिष्ट एकता

नेपालमा बामपन्थी एकता र कम्युनिष्ट एकताको हावा बेलाबखत चल्ने गरेको छ । गत शनिबार र आइतबार ललितपुरको गोदावरीमा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक भएको थियो । बैठकमा एमालेका अध्यक्ष केपी ओलीले पछिल्लो समयमा नेपालका आफूलाई बामपन्थी र समाजवादी भन्नेहरूका गतिबिधिको ब्याख्या र बिश्लेषणगर्दै निश्चित दल, बिचार या शक्तिलाई निषेध गर्नेगरी अघिबढाइने वामपन्थी एकता या समाजवादी ध्रुवीकरण व्यवहारिक र लाभदायी नहुने निष्कर्ष निकाल्नु भएको थियो ।
सत्तारूढ दल माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरू समाजवादी मोर्चामार्फत वामपन्थी एकताको गृहकार्यमा लागेको प्रचार भैरहेका वेला सत्ता साझेदार दलको नेतृत्व गरेको एमालेलेभने तत्काल वामपन्थी एकता सम्भव नहुने निष्कर्ष निकालेपछि मुख्यत माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका केही दलका केही नेतामा छटपटी बढेको देखिएको छ । उक्त बैठकमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमै उपरोक्त कुराहरू उल्लेख भएका थिए । जसलाई सो बैठकले पारितसमेत गरेको छ । अध्यक्ष ओलीले सो प्रतिवेदनमा बिचार मिल्नेहरूमाझ सहकार्य आवश्यक रहेकोभन्दै गहिरो सहकार्य र विश्वासको वातावरण निर्माणहुँदै जाँदा भोलिका दिनमा बिचार मिल्नेहरू क्रमशः एकठाउँमा हुनेसमेत उल्लेख गर्नुभएको छ । राजनीतिक शक्ति सन्तुलन र पार्टीहरूबीचको सम्बन्ध, उपशीर्षकमा ओलीको प्रतिवेदनमा आजका दिनमाभने सबै सकारात्मक शक्तिहरूलाई साथ लिएर अगाडि बढ्नु बढी महत्वपूर्ण छ भनिएको छ । त्यसलगत्तै अर्को एक कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि वर्तमान परिस्थितिमा कम्युनिष्ट पार्टीहरूबीच तत्काल एकताको सम्भावना नरहेको बताउनु भएको थियो । सो पार्टीको धादिङ–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा उहाँले कम्युनिष्ट एकताका लागि बिचार, कार्यदिशा र सिद्धान्तमा आवश्यक छलफलगर्न बाँकी रहेकाले अहिले एकता नहुने तर्क अगाडि सार्नुभएको थियो । 
केही नेताहरूले एकताको हल्ला चलाएको भएपनि त्यसमा कुनै सत्यता नरहेको उनको भनाइ थियो । ओली र पाण्डे एकअर्काका आलोचक भएपनि नेपालमा तत्काल कम्युनिष्ट एकता नहुनेभन्ने कुरामाभने दुबै नेताहरू सहमत हुनुभएको देखिएको छ । एमालेका अध्यक्ष ओली र एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले मुख्यत माओवादी केन्द्रसँगको एकताको प्रशंगमा उपरोक्त कुराहरू बताउनु भएको हो । यसअघि ०७५ सालको जेठ तीनगते पुष्पकमल दाहालको बिशेष चाहना र पहलमा एमाले र माओवादी केन्द्र एक भएका थिएभने ०७७ फागुन २३ गते सर्बोच्च अदालतको एक फैसलालाई बहाना बनाएर तत्कालीन नेकपाबाट अलग पनि भएका थिए । ०७२ मा संविधान जारी भएपछि नेकां र माओवादी केन्द्रले मधेशी दलहरूको चाहना अनुसार दोश्रो पटक संशोधन गराउने प्रयासगर्दा एमालेले इन्कार गरेको थियो । त्यसपछि केही मधेशी दलहरूले एमालेसँग गोकर्ण रिसोर्टमा बैठक गरेका थिए । त्यहाँपनि एमालेले उनीहरूका प्रस्ताव इन्कार गरेपछि सो पार्टीलाई बिभाजन गराएरै छाड्ने मूल रणनीतिका साथ माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गरेको थियो । एमालेसँग पार्टी एकता गरेर नेपाल कम्युनिष्ट पार्टी( नेकपा) बनाएपछि पुष्पकमल दाहालको अगुवाईमा माधव नेपाल र बामदेव गौतमसमेतको अलग्गै गुट तयार गरिएको थियो । सो गुटले एमालेको अध्यक्ष र तत्कालीन अवस्थामा प्रधानमन्त्रिबाट समेत केपी ओलीलाई हटाउन अनेक प्रयास गरेको थियो । ओलीबिरूद्ध सडक आन्दोलन गरेर दाहाल र नेपालको समूहले माइतिघर मण्डलाबाट ओलीलाई अध्यक्षलगायत साधारण सदस्यबाटसमेत हटाएको सार्बजनिक घोषणा गरेका थिए ।
त्यसपछि ०७८ असारमा नेकांका सभापति शेरबहादुर देउवालाई संसद बाहिर अदालतबाटै प्रधानमन्त्रि घोषणा गराइएको थियोभने देउवाकोसमेत साथ सहयोगमा एमालेलाई बिभाजन गराएर एकीकृत समाजवादीलाई वैधानिक मान्यता प्रदान गराइएको थियो । त्यसपछि माओवादी केन्द्रले एकीकृत समाजवादीसँग पार्टी एकतागर्नका लागि अथक प्रयासगर्दै आएको छ । तर सो पार्टीले मानेको छैन । एमाले र सो पार्टीबाट फुटेर बनेको एकीकृत समाजवादीले त्यही पुरानो घटनालाई संझेर माओवादी केन्द्रसँग पार्टी एकतागर्न इन्कारगर्दै आएका छन् । 
मौका पर्नासाथ धोखादिने पुष्पकमल  दाहालसँग पार्टी एकतागर्न उपेन्द्र यादव नेतृत्वको जसपा र डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले समेत मानेका छैनन् । पार्टी एकतागर्न नमानेपछि गत ०८० असारमा भारतीय लबिका चारवटा पार्टीको समाजवादी मोर्चा  बनाइएको थियो । तर समाजवादी मोर्चामासमेत पुष्पकमल दाहालका बिचारहरूको बिरोध भैरहेको छ । गत महिनाको स्वयं दाहालसमेत उपस्थित एक अन्तक्र्रिया कार्यक्रममा त जसपाका अध्यक्ष उपेन्द्र यादवले नेपालमा लागूगराइएको संघीय शासन नक्कली भएको र नेपालमा हालको अवस्थामा समाजवाद आउन नसक्ने ठोकुवानै गर्नुभएको थियो । त्यतिमात्र नभएर माओवादी केन्द्रका नेता राम कार्कीलेसमेत सबै कम्युनिष्ट पार्टीहरूमा आलोचनात्मक बिचारमा रोक लगाइएकोभन्दै आलोचना गर्नुभएको छ । गत शनिबार राजधानीको संवाद डबलीमा ‘प्रगतिशील रूपान्तरण अभियान’ ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको थियो । त्यसक्रममा उहाँले कसैले रचनात्मक टिप्पणी गरे उसको भविष्य भोलिबाटै सकिन्छ । जसले भक्ति गान गायो उसैको भलो हुन्छ भन्नुभएको थियो । उहाँको संकेत पनि आफ्नै पार्टीका अध्यक्ष दाहालप्रति लक्षित रहेको थियो । सोही कार्यक्रममा नागरिक अगुवा श्याम श्रेष्ठले नेपालमा आफूलाई कम्युनिष्ट भन्नेहरूनै आधारभूत इमान्दारितालाई त्यागेर सत्ता स्वार्थमा चुर्ल‘म्महुँदा विगतको संघर्र्षका उपलब्धिहरू पनि गुम्न लागेको बताउनु भएको थियो । नेपालका कम्युनिष्टहरूमा सबैभन्दा बढी अवसरवाद मौलाएको उहाँको भनाई थियो । उहाँले खुलेरै हिजो चप्पलेहरू आज एकाएक महले बन्ने तर जनताको अवस्था ज्यूँकात्यूँ छन् । 
यसलाई पथ बिचलनमात्रै होइन पथभ्रष्ट भन्नुपर्ने बताउनु भएको थियो । उहाँले जनवादी केन्द्रीयता भनेपनि बाम पार्टीहरूमा हनुमाने प्रवृत्ति मौलाउनु, देश, बर्ग र पार्टीप्रति प्रतिबद्धभन्दा अवसरमुखी हुनु आजको मुख्य समस्या भएको बिश्लेषण पनि गर्नुभएको थियो । सोही कार्यक्रममा वैज्ञानिक समाजवादी पार्टी, नेपालका संयोजक विश्वभक्त दुलालले नेपालका कतिपय कम्युनिष्टहरू जुन व्यवस्थाको विरोधगर्दै सत्तामा पुग्छन्, त्यसैको मतियार हुनेगरेको कहानी सुनाउनु भएको थियो । उहाँले कतिपय आफूलाई कम्युनिष्टभन्ने नेताहरू शुरूमा दलाल पूँजीवादी व्यवस्थाको सत्तोसराप गर्छन् । सत्तामा पुगेपछि त्यही मान्छे, त्यही व्यवस्थाको दलाल बन्छन् अनि कहाँबाट आउँछ समाजवादी व्यवस्था ? भन्ने प्रश्न पनि गर्नुभएको थियो । त्यसैगरी माओवादी केन्द्रकैतर्फबाट यसअघि चीनको राजद ूत हुनुभएका डा.महेश मास्केलेसमेत नेपालका कम्युनिष्टहरूको बिचार र व्यवहारमा तालमेल नभएको बताउनु भएको थियो । त्यसैगरी सोही कार्यक्रममा आफूलाई एमालेको नेता भएको बताउने तर एमालेका कुनैपनि कार्यक्रममा सहभागी नहुने डा.भीम रावलले पनि उत्पीडित जनताको अधिकार, राष्ट्र र राष्ट्रियताको रक्षाको नारादिँदै नेपाली कम्युनिष्टहरू सत्तामा जाने तर त्यहाँ पुगेपछि सोही सिद्धान्त र प्रतिबद्धता विरूद्ध परिचालित हुने घातक प्रवृत्ति बढेको बताउनु भएको थियो । 
नेता डा. रावलले सत्ता र शक्तिका लागि जुनसुकै हदसम्म जाने प्रवृत्तिले नेपाली जनताको कम्युनिष्टप्रतिको विश्वास घटेको स्वीकारसमेत गर्नुभएको थियो । उहाँले पदका लागि राति, राति भारतीय जासुसहरूसँग मिटिङगर्ने र देश फुटाउँछु भन्नेलाई मन्त्री बनाउनेहरू विचलनमात्रै हैन महाविचलनमा गइसकेको कथनसमेत सुनाउनु भएको थियो । हालैका दिनमा कम्युनिष्ट राजनीति र पार्टीसमेत छाडिसक्नु भएका डा. बाबुराम भट्टराईलाई माओवादी केन्द्रमा फेरी मिलाउन खोज्दा उहाँले मान्नु भएन । उहाँको भनाई नेकपा छाड्ने भए मिल्ने भन्ने रहेको छ । डा. भट्टराई फेरी कम्युनिष्ट नेता बन्न नमानेपछि उहाँको पार्टीलाई तोडफोडगर्ने प्रयास तीब्र पारिएको छ । डा. बाबुराम भट्टराईका कतिपय विश्वासपात्रलाई त प्रधानमन्त्रिको कथित सल्लाहकार दिएर भएपनि नेसपाबाट अलग गराईएको छ । सो पार्टीका कतिपय प्रदेशको मन्त्रि यथावत बनाउने प्रयासमा रहेका छन्भने कतिपयलाई केन्द्रमा मन्त्रिको आश्वासन बाँड्न थालिएको छ । खासमा केपी ओली, पुष्पकमल दाहाल र माधव नेपालहरूले कम्युनिष्ट राजनीति छाडिसक्नु भएको छ । तर उहाँहरूले कम्युनिष्ट पार्टी छाड्न नमान्दा बिभिन्न भ्रमहरू सिर्जना भैरहेका छन् । यस्तो अवस्थामा को कम्युनिष्ट भन्नेनै ठेगान छैन । त्यसैले कम्युनिष्ट एकता हुने कुरा पनि भएन ।