Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

राजनीति कहा गर्ने, नेपालै नरहे ?

११ मंगलबार , बैशाख २०८१एक महिना अगाडि

राजनीति कहा गर्ने, नेपालै नरहे ?

समाज विज्ञान नै समाजशास्त्र हो । समाजशास्त्र सामुहिक प्रतिनिधित्वको विज्ञान हो । विद्वानहरूको यही सुझावलाई नेपालका नेतृत्वले स्वीकार गरेर नेपालमाथि देखिएका खतरासँग जुध्न जरूरी छ । नेपाल रह्यो भने राजनीति त जति गरे पनि भयो ।
नेपालै नरहे राजनीति कहाँ गर्ने ?
आफैले एमसीसी मागे, एमसीसीमा बिबाद झिके, आफैले पास गरे । आफैले बीआरआई मागे, सही गरे, बीआरआई कार्यान्वयन गर्न ढिलाइ गरिरहेकै छन् । 
आफैले भारतलाई नेपालको कुनै पनि योजनामा ३ करोडबाट २० करोडसम्म लगानी गर्न दिने स्वीकृति दिए, त्यसबाट नेपालको सार्वभौमिकता खुम्चियन पुगेको अनुभूति नै गरेनन् ।
पार्टी, नेतृत्व, बुद्धिजीवी, नागरिक समाज, अधिकारकर्मी, संसद, सरकार कति सक्षम हुन् ?
हुन त ८ वर्ष लगाएर झण्डै खर्ब खर्च गरेरसंविधान लेखे, संविधानमा नेपालको बुच्चे नक्सा नै छुटाए, जनताले आन्दोलन गरेपछि नक्सा अध्यावधिक गरे, नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुराको भँमि देखिन्छ, ती भूमि मा नेपालको शासन छ कि छैन, यिनले देखाउनै सक्दैनन् , भन्नै सक्देनन् । ती भूमि भारतले आफ्नो नक्सामा हालिसक्यो, संसद र सरकार बहस गर्दैनन्, नेपालको भूमि छाड्न भारतलाई भन्न सक्दैनन् । यसबाहेक भारतले ६० हजार हेक्टरभन्दा बढी सीमा मिचेको छ, कुनै नेता बोल्दैनन्, मानौं यिनीहरू कमैया हुन् । 
भारतले नेपालको लिपुलेकबाट चीनसँग व्यापार गर्ने सम्झौता गर्छन्, राजमार्ग उद्घाटन गर्छन्, बिस्तार भइरहेको घोषणा गर्छन्, हाम्रा सांसद, संसद, सरकार, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, बुद्धिजीवी, नागरिक समाज कोही पनि बोल्दैनन् । यी कुन तह र कति सार्वभौमिसत्ता सम्पन्न नागरिक हुन् ? यिनीहरू ब्लू ब्लेडेड नेपाली हुन् कि विदेशीले गरेको प्लान्टेड नेपाली ?
यिनलाई देशभक्ति सिकाउने कसले ? जनताले आमा नपढाएसम्म यिनका लागि आमा बेच्ने र नाफा कमाउने बस्तुमात्र हुनेछ । आमा सत्य हो, संसार हो, उज्यालो हो । आमाभन्दा पर अन्धकारमात्र हुन्छ भनेर यिनलाई पढाउनु पर्छ । १९७५ को सिक्किम र सुनाखरी पढाउनुपर्छ । अनि बुद्धि फिर्ला कि ?
अणु आकारको बीजले आणविक मान्छे अंकुराउँछ । भूदेवी, पानी, अग्नि, वायु र आकाश बन्छ । यही पञ्चतत्वमा प्रकृति छ,  प्रकृतिको अलौकिक सुन्दरता, सिर्जना र समन्वय छ । समष्टि छ । कत्रो आश्चर्य, बीजसँगै व्यापकता बढ्छ । बीजमा सम्पूर्णता अट्छ ।
अचम्म छ, बच्चा जन्मने बेलामा आमा फक्रिन्छिन्, आमाको छाती रसाउन थाल्छ । जब बच्चा जन्मिन्छ, छातीमा टाँस्नासाथ आमाको छातबाट दुधको धारा बर्सिन थाल्छ । बिस्तारै बच्चाका दाँत पलाउन थाल्छन्, ऊ ठोस खाद्य खान सक्ने हुँदैजान्छ, आमाका दूधका धारा सुक्दै जान्छन् । आमा उमेरले नेटो काट्दै जाँदा सन्तान बालकबाट तन्नेरी हुँदैजान्छ । ऊ प्रौढ भएर वृद्धतिर लस्किँदा तिनका पनि नयाँ सन्तान हुँदै जान्छन् । पुराना पात झर्छन्, नयाँ पलाउँछन् । यो प्रकृति हो ।
सृृष्टि पनि बीज, दृष्टि पनि बीज, सुरू पनि बीज, अन्त पनि बीज । युधिष्ठिर पनि बीज, दुर्योधन पनि बीज । अर्जुन पनि बीज, कृष्ण पनि बीज । आस्तिक पनि बीज, नास्तिक पनि बीज । बल पनि बीज, निर्बल पनि बीज । मानवीय मर्म मार्गको सुुक्ष्म संवेदना आमा अर्थात् अस्तित्व । समयको सुई हुन् आमा । आमा छिन् र बीज छ । बीज छ र संसार छ ।
आमा ः सत्य र मात्र सत्य भनेको आमा हुन् । आमाजस्ती को छन् ?
अस्तित्व अर्थात् आमा । माटो आमा, ढुङ्गा आमा । हिमाल आमा, झरना, नदी आमा । पहाड आमा, तराई आमा । निर्मलता आमा, पवित्रता आमा । जीवनद्वार आमा, बागद्वार आमा, संसार आमा, स्वर्ग आमा ।  पारिजात आमा, सयपत्री आमा, दुबो आमा, मखमली आमा । नेताहरू किन अस्तित्व आमासँग खेलाँची गर्छन् ?
हामीले जन्मदाता, जन्मभूमिको मुहारमा खुशी दियौं कि दिएनौं ? आमालाई घोचेका घाउहरूका पीडा लियौं कि लिएनौं ? आमा बाँच्दैमा स्याहार ग¥यौं कि गरेनौं, आमाको दुःख दर्दमा साथ दियौं कि दिएनौंं ? आमासँग मन खोल्यौं कि खोलेनौं ? किनकि आमा पँजा सामग्री, आमा सप्ताह, आमा चारधाम, कोटिहोम आमा । अस्तित्व ।
तर हाम्रा नेताहरू राष्ट्रघात, जनघात गरिरहेका छन् । यिनलाई अस्तित्वभन्दा राजनीति प्यारो छ, राजनीतिलाई व्यवसाय बनाएर प्राप्त हुने मुनाफा प्यारो छ । यसकारण हाम्रा नेताहरू राजनीतिमा माफियाकरण गरेकै छन्, व्यापार चलाइरहेकै छन् ।
शाश्वत सत्य के हो भने सन्तानको खुशी आमाको कामना । सन्तानको सुख आमाको चाहना । भोक वा कुनै पनि पीडाले आमालाई असर गर्दैन, जब सन्तान दुःखी हुन्छ । सन्तानको सन्तुष्टि आमाको तृप्तता । पृथ्वीमा जीवित दैव छ भने ती आमा हुन् । मानिसका पहिलो गुरू आमा नै हुन् । आमाले जन्माउँछिन्, खान सिकाउँछिन्, बोल्न सिकाउँछिन् । उभिन सिकाउँछिन्, लडे आमाले उठाउँछिन् । हाम्रो आदि र अन्त्य सबै आमा नै हुन् । यसकारण आमा स्तुत्य छिन्, वन्दनीय छिन् । सन्तान घरबाट निस्किए चिन्ता गर्ने आमा हुन् । कहिले फर्कन्छ भनेर आँखा तानीतानी पर्खने आमा । बिरामी पर्दा निको पार्न अहोरात्र खट्ने आमा हुन् । आमा गाँस हुन्, आमा वास हुन्, आमा जुनसुकै दुःख निवारणकी आश हुन् । हामीलाई  ठेसलाग्दा समेत आमा भन्छौं, जीवनको सर्वस्व आमा हुन् । आमा के होइनन् ? सांसारिक जीवनको प्राण हुन्, उच्चाटित भावना र भावनाभित्रको भवानी आमा हुन् । यस्ती आमा अर्थात् जन्मभूमिमाथि नेताहरू किन यतिबिघ्न अत्याचारको खुँडा चलाइरहेका छन् ।
आज कुनै नेतालाई जनताले सम्मान गरेको देखिन्न । घुणा गर्छन् । यसको मूल कारण अस्तित्व, आमामाथि यिनले चलाएको कुशासन, कुचक्रले हो ।
जन्मदात्री र जन्मभूमि दुवै माताहरू सकसमा छन् । पीडित छन् । घरघरमा जन्मदाता माताहरूको अपमान भइरहेछ । बोक्सीको आरोप लागिरहेछ, चारपाटे मुडेर मलमूत्र ख्वाएर रूवाउने अपराध बढेका छन् । महिला हिंसा त यतिसम्मको भयावह कि श्रीमतीलाई टुक्रा टुक्रा पारेको पनि देखिन्छ । बालबालिका बलात्कार र तिनको हत्याले हाम्रो समाज ढुङ्गे युगतिर फर्कन लागेको आभास दिइरहेको छ । आमा त निर्मला पन्तकी पनि आमा हुन्, कृष्णप्रसाद अधिकारीकी आमा गंगामायाँ पनि आमा हुन् । मेची कालीभित्रको भूमि पनि आमा हुन् । आमाका अनेक रूप स्वरूप छन् । सबै आमाहरूलाई सादर प्रणाम । तर पूजनीय जन्म दिने र जन्मभूमि आमाहरू रोइरहेछन् । आमाहरूको अस्तित्वमाथि बलात्कारी र अतिक्रमणकारी धावा बोलिरहेछन् । यिनै नेताहरूले अत्याचार गरिरहेका छन् । आमाप्रतिको दायित्व वोध हुनसकेको छैन । यी स्वार्थका पुतला, धृतराष्ट्रका नवअवतार हुन् । आमा र देशले यसरी रूनुपर्ने ? कहिलेसम्म ?
आमा– सन्तान भन्छिन्, नेतृत्व आमाको मान मर्दन गरिरहेका छन् । हामीले जन्मदाता र जन्मभूमि आमा चिन्ने कहिले ? आमाप्रतिको कर्तव्य वोध गरेर जिम्मेवार हुने कहिले ? भनिन्छ, चरित्रको मूल्य बराबर कुनै वस्तुको मूल्य छैन । हामीले आफंैभित्र आफ्नो चरित्र खोज्न सकेनौं भने जीवनको मूल्य कसरी प्राप्त गर्नसक्छौं ? देशका सचेतबर्ग, विवेकी बर्ग, समाज बदल्छु भन्ने राजनीतिक बर्ग, सुशासन दिन्छु भन्ने प्रशासक बर्गले जिम्मेवार हुने र नैतिक छु भनेर देखाउने कहिले ?
कस्तुरी आप्mनै नाभिमा रहेको बीनाको सुवास खोज्दै यत्रतत्र दौडिरहन्छ । हामी पनि सुख, स्वर्ग खोज्न राष्ट्रहित छाडेर भौँतारिइहेका छौं । माता र मातृभूमिको सेवामा सन्तुष्टि छ, आमाको पैतालामुनि सुखस्वर्ग छ भन्ने नबुझेर स्वार्थको पछि दगुरेका छौं ।  स्वर्ग टपक्क टिपेर थपक्क राखेजस्तो यति रसिलो धर्ती, विश्वले शान्ति र शिखर भएको अनुपम भूमि भनिरहेको छ, हामी मातृचुलीको महिमा भुलिरहेछौं ।
हरेक विहान सूर्यको लालिमासँगै उदाउने र साँझ बत्ती जगाएर शान्त निदाउने हाम्रो मगमगाउँदो जन्मभँमि हाम्रै अन्धोपनले रोगाउँदै जाँदो छ । स्वयम्भूका त्रिनेत्र शान्ति भनिरहेछन्, परेवा शान्तिको सन्देश छरिरहेछ, समृद्धिको कुरामात्रले भ्रान्तिका कुहिरो र तुवाँलो बाक्लिैदै जाँदो छ । हिमाल आमा आफैं पग्लेर निरन्तरको आशीर्वाद बगिरहेको मुलुकका सन्तान माता र मातृभूमिसँग टाढिंदै छन् । 
साक्षात् देवी भनेको एउटै छिन्– जन्म आमा र जन्मभूमि । माटो बाँचेको छ, माटो बाँचे आमा बाच्छिन् । आमा सन्तानको सहारा खोजिरहेकी छिन् । माटोवादका नाममा बीरबलको खिचडी पकाइरहनु जरूरी छैन । प्रत्येक सन्तानले जन्मभूमिको सुरक्षामा लाग्न घण्टाघरले पल पल घचघच्याइरहेको छ ।
महाभारतमा भीमका नाति, घटोत्कचका छोरा बर्बरिक यस्ता महाबली पात्र थिए जसले कमजोर पक्षबाट युद्ध लड्ने बचन दिएका कारण श्रीकृष्णले बर्बरिकलाई चण्डीलाई आत्मबलि दिन प्रेरित गरे । उनका दुई इच्छा थिए– उनको शवलाई श्रीकृष्णले जलाउनु पर्ने र महाभारत युद्ध प्रत्यक्ष हेर्ने । त्यसपछि उनको शीरलाई पहाडको चुचुरोमा राखेर श्रीकृष्णले १८ दिने महाभारत युद्धको प्रत्यक्षदर्शी बन्ने सौभाग्य दिएका थिए । युद्ध समाप्तिपछि उसलाई सोधियो– यो युद्ध कसले जित्यो ? बर्बरिकको जवाफ थियो– अहंकार सबै पाँचै पितामहमा थियो । नियम सबैले तोडेकै हुन् । महाभारतमा निर्णायक कोही थियो भने श्रीकृष्ण र श्रीकृष्णको सुदर्शनचक्र मात्र थियो ।
राजनीतिक परिवर्तन र परिवर्तनपछिको बेथिति, बेहाल अवस्था बर्बरिकजस्तै हो यो हाम्रो भोगाइ । नेपाली सबैलाई चेतना रहोस्, आमाको गौरवमा छाती ठोक्ने र आमालाई काँधमा बोक्ने सन्तानले नै हो । किनकि, झुत्री, मैली जस्ती भए पनि आमा भनेकी आमा नै हुन् । प्रश्न यत्ति मात्र हो कि हामीले आमाको महत्व बुझ्ने कहिले ? नयाँ नेपाल बनाउँछु भन्नेहरूलाई जनताले बुझाउने कहिले ?