चैत एक महिनामा ७० हजार ३३ ले देश छाडेछन् । यसमध्ये केहीमात्र फर्कने गरी गएका हुन्, बाँकी सबै बैदेशिक रोजगारीका लागि विदेशीएका हुन् । कतिले त विदेशी नागरिकताका लागि समेत नेपाल छाडेका छन् । गणतन्त्र स्थापना भएपछि नेतातन्त्र सुरू भयो र आजित भएर हरेक दिन नेपाल छाड्नेहरूको भीडा लाग्ने गरेको छ । लोकतन्त्रवादी सरकारले युवालाई विदेशमा बेच्ने आतूर छ, हरेक दिन निर्यात गरिरहेको छ । रोजगारीका नयाँ नयाँ गन्तव्य खोजिरहेको छ । श्रम सम्झौता गरिरहेको छ । स्वदेशमा रोजगारीको सिर्जना नगर्ने, भएका उद्योग बन्द गर्ने, चलाउन नदिने, देशलाई भारतको बजार बनाउने काम भइरहेकै छ । यो पीडादायी सूचनाले देशभक्त भनिएका कुनै पनि नेता तथा पार्टीलाई बिझ्दैन, दुख्दैन ।
यही महिना लगानी सम्मेलन गर्दैछ सरकार । लगानी सम्मेलनका नाममा राजधानीमा भएका राजदुतहरूलाई बोलाएर हारगुहार गरेरमात्र लगानी बिभित्रदैन भन्ने कुरा सरकारले बुझेकै छैन । लगानीमैत्री वातावरण बनाउनु पर्छ, उचित कानुनहरू निर्माण गर्नुपर्छ । प्रशासनदेखि बैंकसम्म, हरेक संस्थामा टे«ेड युनियन खोलेर राजनीतिमात्र गर्न जान्ने दलहरूले लगानी भित्र्याउँछन्, लगानीकर्ता नेपालमा आकर्षित हुन्छन् भन्नु सपना मात्र हो । नेपालमा रहेका वैदेशिक लगानीसमेत बिस्तारै फिर्ता हुँदैछन् । किन नेपालमा लगानी गर्न लगानीकर्ता आकर्षित छैनन्, विश्लेषण भएको छैन । सानो सानो कामका लागि समेत घूस दिनुपर्ने र अनेक झमेला ब्यहोर्नुपर्ने शासन प्रशासन छ । सुशासनको प्रत्याभूति नभएसम्म कसरी लगानी भित्रिएला र ?
देशको अर्थव्यवस्थामात्र होइन, सामाजिक अवस्थासमेत चिन्ताजनक छ । राजनीतिमा अराजकता र अस्थिरता त छ नै । सुरक्षा निकाय पनि पदयात्रा, उत्खनन्, बाटो निर्माणजस्ता विषयमा अःिझरहेको देखिन्छ । देशको चिन्ता पूर्वराजालाई छ, पूर्वराजालाई गुहार्ने आमनागरिकमा छ । नागरिक छटपटीमा छन् । देश खोक्रो हुँदो छ । दलहरू सत्तामा जाने, शक्ति आर्जन गर्ने स्वार्थी प्रतिस्पर्धामा मस्त छन् । जनतालाई पार्टी पार्टीमा बिभाजित गरेर कमजोर पारिएको छ । हरेकको विवेकलाई समेत खण्डित गरेर राष्ट्रिय शक्तिलाई समेत छिन्नभिन्न पारिएको छ । कुनै पनि दललाई, सरकारलाई, नेतालाई जनताको पीडासँग संवेदना नै छैन । भ्रष्टाचार चलिरहेको छ, अपराधिकरण पनि बढेको छ । मुद्दा पर्ने र धरौटीमा छुट्ने घटना भइरइरहेको छ । कुनै पनि राष्ट्रघाती, जनताघातीमा कारवाही भएको देखिदैन । प्चार मात्र छ ।
जनता यति कमजोर भएका छन् कि बिकृति सहेर बसेका छन् । सक्नेहरू देश छाडेर पलायन भइरहेका छन् । नसक्ने घुटघुटिएर, छटपटिएर बसेका छन् । देशलाई सोच्ने कसले ? राष्ट्रिय संकटको मोचन हुने कसरी ? जनतालाई कमजोर बनाएकाले जहिले पनि चुनावमा यिनैले जित्छन्, सकेजति भ्रष्टाचार गर्छन् । हेर्दै गए हुन्छ ०८४ को चुनाव पनि यिनैले जित्नेछन् । स्वनामधन्य पत्रकारले समेत राजनीति रङमा पोतिएर राजाका पालामा केही भएन, अहिले विकास भइरहेको प्रचार गरेका छन् । यथार्थ के हो भने अहिले पनि राजतन्त्रले निर्माण गरेको पूर्वाधारमा नेपाल छ । राजाले देश निर्माण गरे, देशलाई औद्योगिकरणमा लगे, सुशासनको प्रत्याभूति दिए, देशको प्रतिष्ठा विश्वमा स्थापित गरे, आँखामा पट्टी बाँधेर विदेशी हण्डी खानेहरू यसरी लोकतन्त्रको वकालत गरिरहेका छन् । केही पाइन्छ भनेर त होला नि ?
हो, राजतन्त्र किनारा लागेको छ । राजतन्त्र अनुशासनमा बसेको छ । राजतन्त्र जनताले चाहे भने फर्किन्छ नै । राजतन्त्रलाई गाली गर्नुको के अर्थ छ र ? आफूलाई लोकतन्त्रवादी हँु भन्नेले किन देख्दैनन् राजतन्त्रका पछाडि लोकको भीड ?
पूर्वराजाले झापादेखि धनगडीसम्म, भक्तपुरदेखि जुम्लासम्म पुगेर सहमति र सहकार्यका लागि आह्वान गर्दा उल्टै तर्साउने भाषा बोल्न थालेका छन् । संसारले देखेका छन्, पद्धति, नेतृत्व, पार्टी, नेता, शासन र प्रशासनसमेतका पक्षमा आमनागरिक छैनन् । आमनागरिक पूर्वराजालाई गुहारिरहेका छन् । पूर्वराजाको लोकप्रियता देखेर पनि पूर्वराजा राजनीतिक शक्ति हो भन्ने मान्दैनन् भने यी कस्तो लोकतन्त्रवादी ? कुनै व्यक्ति, संस्था वा पार्टीको आन्दोलन सफल होला नहोला, पूर्वराजाप्रति जनआस्था बढेर गएको छ । युवा विदेशीने, विदेशी कुत्सित तत्व नेपाल आउने र नेपाली राजनीति अपराधिकरण र भ्रष्टाचारमा रमाउँदै छन् । यो यथार्थ अब बदलिनुपर्छ ।