नयाँ वर्ष २०८१ को सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना ।
हरेक नयाँ वर्षमा अब त सुशासन आउला, आफ्ना सुदिन फर्कलान भन्ने आश लाग्छ । शुभकामना आदानप्रदान गरिन्छ । सकिनसकी त्यसदिन मिठो मसिनो पनि खाइन्छ । सक्नेहरू नयाँ ठाउँ जान्छन्, रमाइलो पनि गर्छन् । विचरा निमुखा नागरिकहरू, भूत त बिग्रियो, वर्तमानमा सत्तासीनबाट आएका शुभकामना सन्देश सुनेर, पढेर तिनले जगाएका आशाहरूमा नै प्रफुल्लित हुने गर्छन् । कुनै वर्ष पनि आमनागरिकका लागि सुदिन, सुशासन र सुसमाचार यिनले दिन सकेनन् ।
हुन त ०४६ सालमा नै नेपालीका दुर्दिन सुरू भएका थिए । देशका नेताले लुट्ने र परचक्रीले चलखेल गर्ने काम सतहमै देखिन थालेका हुन् । परिवर्तनले राजनीतिक स्वतन्त्रता, बोल्ने अधिकार दिएको छ भन्दै राष्ट्र खाक्रो पार्दै गए । धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षताका आडमा राष्ट्रिय मूल्य मान्यता आदर्शलाई तहसनहस तुल्याए । तैपनि नयाँ वर्षमा सत्ताधारीबाट आउने झूठै सही शुभकामना जनताले सुन्छन्, मानौं अब देशमा सुख समृद्धि आउँछ भनेर आशा पनि गर्छन् । तर कुनै वर्ष पनि न सुख आयो, न समृद्धि, कहर थपिदै गयो । जे आयो, नेता र तिनका वरिपरिकालाई आयो ।
संसद सडक जस्तो छ, सडक संसदजस्तो छ । नेपाली कांग्रेस ठूलो पार्टी, पुरानो पार्टी, यसले गरेको भ्रष्टाचारको कुरा गर्नु पनि बेकार भइसक्यो । संसद र सडकमा राप्रपा छ, राप्रपा नेपाल, दुर्गा प्रसाईको सडक आन्दोलन छ, केशरबहादुर बिष्टको राष्ट्रिय अभियान नेपाल पनि सडक आन्दोलनमै छन् । यी सबैका आन्दोलन अवस्था फेर्न व्यवस्था फेर्ने नारा लगाए, एकदिने आन्दोलन गरेर शिथिल भए । यिनले पनि हामी जनताको साथमा छौं भनेर भ्रम नै छरेको अनुभूति हुन्छ । स्टन्ट अरूले गरे, राप्रपाले पनि । निषेधाज्ञा तोड्ने साहस देखाए, उनको आन्दोलन त्यसपछि सेलायो । अहिले राप्रपाको आन्दोलन राप्रपाकै कोठामा सिमित हुनपुगेको छ । जबसम्म बन्द, हड्ताल, जुलुस सशक्त ढङ्गले निरन्तर हुनसक्दैन, तवसम्म व्यवस्था त के केही पनि हुनसक्दैन । यी सत्ताधारी र ठूला पार्टी भनाउँदाहरूले बुझ्ने बन्द र हड्तालमात्र हो । सरकारले तोकेको दिन र ठाउँमा एकदिने जुलुस निकालेर व्यवस्था बदल्नेरे, अवस्था फेर्नेरे, यो सबै आन्दोलनकारी जो देखिएका छन्, नाटकमात्र हो ।
जनता तातेका छन् । अगुवाको अस्थिरताले तातेका जनअसन्तुष्टीमाथि चिसो पानी खन्याइदिएको छ । संसदमा पनि उस्तै, सडकमा पनि त्यस्तै ।
पूर्वराजा ज्ञानेन्द्र । संकटमा फसेको मुलुकलाई बचाउन, अराजकता र अस्थिरतालाई निकास दिन जनताको साथ खोज्दै भौंतारिरहेका देखिन्छन् । उहाँको प्रत्येक अभिव्यक्ति र सकृयतामा मुलुक र मुलुकबासीप्रति चिन्ता झल्किन्छ । जुम्लामा जनतासँगको अन्तरकृयापछि वैशाख १ को सन्देशमा समेत जनताले चाहेजस्तो परिवर्तनका लागि जनताको साथ खोजेको देखिन्छ । पूर्वराजा जता जान्छन्, उतै भीड जम्मा हुने, जयकार गाउने र चूप लाग्ने भएपछि पूर्वराजाले जनविद्रोहसहितको साथ पाउन मुस्किल देखिन्छ । पूर्वराजाले सहमति र सहकार्यको नयाँ श्रृङ्खला सुरू गर्न गरेको आह्वानलाई राजनीतिक दलहरूले बेवास्ता गरिदिएका छन् । यसकारण पनि संशयपूर्ण प्रश्न उठेको छ, यस्तै राजनीतिक बन्दी अवस्थामा मुलुक सकिने भयो त ? दुर्गा प्रसाई देखि राप्रपाको आन्दोलनमा सहभागी जनसमूह देख्दा तुरून्तै परिवतृन हुने संकेत देखिन्छ । भोलिपल्टै आन्दोलन शिथिल हुन्छ, जनसहभागिता पानीको फोका साबित हुनपुग्छ । यसकारण पनि जनताले के गर्ने भऊ पाउनै सकेका छैनन् ।
देशमा यतिबिघ्न बिकृति र बिसंगतिको पसारो छ । जनता वाकबिधि भइसकेका छन् । सकसमा परेका जनताले आन्दोलनमा साथ नदिने कुरै छैन । आह्वानकर्ता जोसुकै हुन्, आन्दोलनको निरन्तरता चाहिन्छ । बृद्ध पूर्वराजा देशभरि दगुरीरहेका छन् । राजतन्त्र र हिन्दुवादी मै नेता हुँ भनेर अहंकार प्रदर्शन गरिरहेका छन् । एकताभावमा शक्ति सिर्जना गर्न तैयार देखिदैनन् । आन्दोलन हुन्छ भन्नेहरू किन अस्थिर छन् ? विदेशी मिडियाहरूले समेत जनप्रदर्शनबाट परिवर्तनको संकेत देखेको रिपोर्टिङ भइसक्दा पनि आन्दोलनले निरन्तरता पाएन । जनताको आशा र अपेक्षालाई आन्दोलनको एजेण्डा बनाउने अनि बीचैमा छाडिदिने, जनताले हेरिरहेका छन् है ।