Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

देशैभरि धर्मपरिवर्तनको डढेलो

२० मंगलबार , चैत्र २०८०४ महिना अगाडि

देशैभरि धर्मपरिवर्तनको डढेलो

मिसन ०८४ अर्थात, आउने आवधिक निर्वाचन । यो निर्वाचनमा चर्च महासंघले समर्थन नगरेको र सहयोग नगर्ने हो भने कुनै पनि दलका कुनै पनि उमेदवारले निर्वाचन जित्न सक्ने अवस्था रहनेछैन । यो सबै इसाईहरूको बाहुल्यता र प्रभाव बढ्दै गएकाले हो । लोकतन्त्रले जनताको दैनिकीमा पीडा र सकस दिने, इसाई मिसनहरूले मर्दा पर्दा सहयोग गर्ने गरेकाले धर्मान्तरण बढेर जाँदो छ । संविधानमा देशैभरिबाट बटुलिएका सुझावलाई धोक्रोमा थन्क्याएर, सहमति भएको धार्मिक स्वतन्त्रताका ठाउँमा धर्मनिरपेक्षता लेखाउन सक्नेहरूले नेपालमा धार्मिक द्वन्द्वलाई मत्थर पार्न सक्ने अवस्था दिनदिनै कमजोर बन्दै गएको देखिन्छ ।
काठमाडौं । लोकतन्त्र अघि नेपालमा ३ सय चर्च थिए, लोकतन्त्रको १७ वर्षमा ३३ हजार चर्च स्थापित भइसकेका छन् । यो आश्चर्यलाग्दो र डरलाग्दो स्थिति भनेको धर्मान्तरणको खुला छुटले हो । देशैभरि धर्मपरिवर्तनको डढेलो सल्किसकेको छ । यो डढेलोले धार्मिक भिडन्त जन्माएर रक्तपात भयो भने यसको जिम्मेवारी संविधान निर्माता यी ठूला दलहरूले लिने कि नलिने ?
स्पष्ट छ, नेपालमा ९४ प्रतिशत ॐकार परिवारको बसोबास छ । ३ करोड जनसंख्या, ९४ प्रतिशत ॐकारपरिवारमा ३३ हजार चर्च, धर्मान्तरणको खुला छुटले शान्ति जन्माउँछ कि अशान्ति ?
राप्रपा नेपालका अध्यक्ष कमल थापाले  चैत १८ गते फेरि गर्जिएर अभिव्यक्ति दिएका छन्– नेपाललाई सांस्कृतिक उपनिवेश बनाउन खोजियो ।
कमल थापाले भनेका छन्– पहाडाका गाउँ गाउँमा धर्म परिवर्तन भइरहेको छ । तराईमा पनि म सुन्दैछु, बिस्तारै यो धर्म परिवर्तनको महारोग सल्किएर गएको छ । हामीलाई कुनै पनि धर्मको विरोध गर्नु छैन । इसाईहरू आजभन्दा ७० वर्ष अगाडि औंलामा गन्न सक्ने सङ्ख्यामा थिए । १०–१२ जना मात्र थिए याद राख्नुस् । अहिले लाखौँको सङ्ख्यामा भएका छन् ।
उनले पश्चिमा मुलुकहरूले भारत र चीनलाई नियन्त्रण गर्नको निमित्त धर्म परिवर्तन गराएर नेपाललाई सांस्कृतिक उपनिवेश बनाउन खोजीरहेको र त्यसमा प्रमुख राजनीतिक दलहरू हतियारको रूपमा प्रयोग भएका छन् ।
कमल थापा उपप्रधान तथा गृहमन्त्री भइसकेका राजनीतिज्ञ हुन् । उनको आरोप छ– यो धर्म परिवर्तनको लहरले सनातन धर्म कमजोर मात्र हुने नभई नेपालमा कहिले नभएको धार्मिक, सांस्कृतिक द्वन्द्व, विवाद, झगडा, धर्मयुद्ध हुनसक्ने खतरा बढेको देखिएको छ । यो सबै यही भ्रष्ट व्यवस्था र भ्रष्ट शासकले गर्दा भएको हो । नेपालमा सङ्घीय धर्म निरपेक्ष गणतन्त्र असफल भइसक्यो । यसको प्रमाण भनेको अहिले देश भ्रष्टाचारको दलदलमा भासिएको अवस्था हो । सीमित दलका सीमित नेताहरूले सिण्डिकेट खडा गरेर देशमा ब्रम्हलुट मच्चाइरहेका छन् ।
यसकारण देशमा राजासहितको प्रजातन्त्र तथा हिन्दूराष्ट्र पुर्नस्थापना र निर्वाचन प्रणालीमा सुधार अपरिहार्य भइसक्यो । यसमा निर्णय गर्न अबेर गर्नु दुर्भाग्य निम्त्याउनु हो ।
स्मरणीय छ, सन २०११ को गणनाअनुसार पाँचौ अर्थात १.४ प्रतिशत जनसंख्या इसाईको थियो । नेपालमा अधिकांश इभान्जेलिकल प्रोटेकट्यान्ट इसाई रहेका छन् । यो संख्या ह्वात्तै बढेर गएको छ । गाउँमा मात्र होइन सहरका टोल टोलमा चर्चहरू खडा भएका छन् । मानिसहरू भेट हुँदा जैमसी भन्नेहरूको दृश्यले झसङ्ग झसङ्ग झस्काउन थालिसकेको छ । हिन्दुत्व, बौद्धहरू शान्त छन्, तर इसाईहरू उत्तेजित मुद्रामा देखिन्छन् । इसाईहरूको आवाज सानो थियो, अब उनीहरूको आवाजलाई सत्ताले तत्काल सुन्ने स्थिति छ । मजबुत अवस्थामा पुगिसकेका छन् इसाईहरू तथापि सर्व धर्म समभाव राख्ने हिन्दुहरूको एकता मन्दिरमा मात्र छ । इसाईको एकता देशैभरि फैलिसक्यो ।
अर्थात् धार्मिक डढेलो सल्किसकेको छ, इटलीको जंगलमा लागेजस्तो हाहाकार तत्काल नदेखिए पनि मिहिन पाराले यो डढेलोको धुवाँले उकुसमुकुस पार्न थालिसकेको छ । सानो पार्टीले उठाएको आवाज नसुनिएला, कांग्रेस महासमितिका ११ सयले हस्ताक्षर गरेर चलाएको हिन्दुराष्ट्रको माँगमा स्वयम् कांग्रेस सहमत नहुने हो भने नतिजा बिकराल निस्कने छ ।