स्वार्थमा डुब्नेका लागि न नीति, न नैतिकता, न सिद्धान्त । केही पनि बाँकी नरहने रहेछ । राजनीति यस्तै छ ।
राजनीतिमा नीति, नैतिकता, सिद्धान्त र निष्ठा चाहिन्छ । यसका साथै जनताप्रति जिम्मेवार र कर्तव्यप्रति जवाफदेही पनि हुनुपर्छ । गैह्र जिम्मेवारले देश चलाउन थाले भने भ्रष्टिकरणबाहेक केही हुँदैन । जता पनि लथालिङ् र भताभुङ्ग हुनजान्छ ।
यतिबेला नेपालमा यही भइरहेको छ । ०६३ सालमा परिवर्तन आउँदा अब त सुशासन आउने भयो, समृद्धि देख्न पाइने भयो भन्ने जुन विश्वास जागेको थियो, १७ वर्षमा त्यो विश्वास बागमतीजस्तो बनेको छ । बागमतीमा पानी होइन, फोहर बग्छ, महामारीका किटाणु हुन्छन् । संसद, सरकार चलाउने र व्यवस्थाका कर्णधार भनिएका तथा प्रत्यो संवैधानिक निकायदेखि राज्यका अङ्ग प्रत्यङ् सबै भ्रष्टिकरणको किटाणुले गलित र संक्रमित भइसकेका छन् ।
यस्तो व्यवस्था राखिराख्नु भनेको राष्ट्रको शरीरमा क्यान्सर पाल्नु हो ।
जतिसुकै तिक्ष्ण नजरले हेरे पनि शासन, प्रशासन र राजनीतिमा नीति भेटिन्न, नीति नैतिकता भेटिन्न ।
राजनीतिज्ञ हुँ भन्नेहरू जसरी फोहर पोखरीमा भैंसी आहाल बस्छ, त्यसैगरी भ्रष्टाचारमा आहाल बसेका छन् । पार्टी कार्यकर्ता, बुद्धिजीवीका विवेक त्यही आहाल बसेको भैंसीसरह नेतृत्वको आङ कन्याइरहेका छन्, मुख र शरीर पखालीरहेका देखिन्छन् ।
तिनै नेतृत्व र तिनका पछुवाहरू लोकतन्त्रको बखान गरिरहेका छन् । सुशासन दिने र समृद्धि ल्याउने ढोल पिटिरहेका सुनिन्छन् । संविधान र संवैधानिक सबै अङ्ग प्रत्यङ्गहरू फोहर पोखरीमा डुबेकाहरूबाट रोगी, दीर्घरोगी, महारोगी बनिरहेका छन् ।
यहीकारण देश प्रगतितिर होइन, अधोगतितिर लागेको छ । एक खर्बको निर्यात ८ खर्बको आयात, १५ खर्बको बजेट, २३ खर्बको ऋणभार । वर्षेनी ६ खर्बको संघीयता, उपलब्धि शून्य । लोकतन्त्रको सार, नैतिकहीनको भार । डुबाउँछ देश र दुनियाँलाई डुबाउँछ यो व्यवस्थाले, रूवाउनु रूवाउँछ ।
पश्चिमा समृद्ध र सभ्य भनिएको अमेरिकामा अस्लिल साहित्यको वार्षिक कारोवार ४ हजार करोड डलरभन्दा बढी हुनेगर्छ । नेपालमा राजनीति, प्रशासन र जनजीवन नै अस्लिलमय बनाइएको छ । अस्लिलतामा हामी सभ्यता खोजिरहेका छौं, फोहरको आहालमा पसेर र बसेर स्वस्थताको बखान गरिरहेका छौं । शिक्षा र चेतनाको स्तर धेरै तल छ, भ्रष्टाचार, अनीति, अत्याचार, नैतिकहीनताको स्तर निकै उकासिएको छ । आधुनिक अस्लिलताको प्रवेशले नेपाल बिकृत र बिकराल समस्या बन्नपुगेको छ ।
जे छ राजनीति र अपराधको मिलोमतो छ । सिद्धान्तहीनता र नैतिकहनिताको समागम छ । यसकारण वर्षेनी झण्डै खरबको अवैध र खरबको बैध तरिकाले भ्रष्टाचार हुने गरेको छ । नियमन र नियन्त्रण कहीँ पनि छैन । केही पनि छैन । चरम उच्छृङ्खलतालाई लोकतन्त्र भनेर ढाँटिदैछ ।
५४ अर्वभन्दा बढीको गाडी अवकाशपछिका विशिष्टहरूलाई गाँसबास र सुविधाको बन्दोबस्त गरीव जनताले तिरेको करले गर्नुपरेको छ । कसैलाई लज्जावोध छैन । कसैमा नैतिकता रहेन, आचरण त स्यालको सिङ भएको छ । विश्वकै उच्च व्यवस्था नेपाली नेतृत्वले कसरी नाली बनाइदिए ।
राजस्व खर्चिने कहाँ, कसका लागि, किन ? यसको व्याख्यासमेत हुनसकेको छैन । जसले जति सक्छ लुट्न हो भन्ने मानसिकता विकास भएको छ । यथार्थमा लोकतन्त्र लुटतन्त्र हो भन्ने प्रमाणित भइसक्यो ।
हरेक नेता र पार्टीले समृद्धि र सुशासन, समृद्ध नेपाल र सुखी नेपालीको नारा लगाउँछन् । नारा लगाउनेहरूको आँखा लूटमा हुनेगर्छ, चरित्र लूटतन्त्रमा गाडिएको देखिन्छ ।
स्थायी सरकार मानिने कर्मचारीतन्त्र राजनीतिज्ञहरूसँगको मिलेमतोमा भ्रष्टाचार गर्ने गर्छन् । ०६३ सालको परिवर्तन र ०७४ तथा ०७९ को दुई आवधि निर्वाचनपछिको परिणाम शून्य छ । चुस्त हुनुपर्ने शासन सुस्त छ । चरीत्रहीन शासक र प्रशासकका कारण लोकतन्त्र अपराधतन्त्रमा रूपान्तरण भइसकेको छ ।
संवैधानिक विधि पद्धति र नेतृत्व फोहर पोखरीमा आहाल बस्ने भैंसी भन्दा भिन्न छैन । यिनका लागि यही सुख हो, यही स्वर्ग हो, यही वैतर्णी हो । युवा स्वरोजगार कता पुग्यो, सामाजिक सुरक्षाले हावा खाइसक्यो । वीमा कार्यक्रम, सबैका लागि स्वास्थ्य, सबैका लागि शिक्षा कता पुग्यो पुग्यो । जता हे¥यो उतै कृष्ण भीर ।
बाँदरलाई भ्यासेक्टोमी गराउने तालिम लिन सांसद जान्छन्, सांसद राजदूतसँग छात्रवृत्ति र विकासका योजना माँग्छन्, देशको होनहार युवा सकेसम्म विदेश भाग्ने प्रयासमा छन् । सबैको विश्वास एउटै छ, यो देशमा गरिखान पाइन्न । देशमा भविष्य छैन ।
भविष्य खोज्न विदेशीएका युवा युक्रेन र रूसको युद्धमा आमनेसामने लडिरहेका छन्, खाडीको गर्मीमा मरिरहेका छन्, ६७ देशका जेलमा युवाहरू बिना कारण थुनिएका छन्, असरल्ल छन् । सरकार छ, अभिभावक बन्न सकेन । संविधान छ, सुशासन दिन सकेन । लोकतन्त्र लूटतन्त्र बन्यो । लोकतन्त्रका नाममा जंगलराज चलिरहेछ । लोकतन्त्र हात्तीको देखाउने दाँतमात्र हो । जनताको जीवनमा जिवन्त बन्न सकेन ।
कर तिरेर राज्यकोषमा कसैले योगदान गरेका छन् भने त्यो आमजनताले नै हो । उद्यमी, व्यापारी त नक्कली भ्याट बिल बनाएर राज्यलाई ठगिरहेका छन्, एनसेलजस्ता विदेशी लगानीकर्ताले समेत राज्यले पाउनै पर्ने लाभकरसमेत छलेर रगत पसिनाको कमाई विदेश लगिरहेका छन् । किसान श्रमिक र आम नागरिकका लागि केही सुविधा छैन । जनताको काम भोट हाल्ने र कर तिर्नेमात्र भएको छ । यस्तो पनि लोकतन्त्र हुन्छ ?
यसकारण भन्न सकिन्छ, एच जी वेल्सले लेखेको द वल्र्ड सेट फ्री नामक पुस्तकमा परमाणु बमको नाम उल्लेख गरेका थिए, त्यही नामबाटपछि खतरनाक परमाणु बम निर्माण गरियो । नेपालमा बहुदल, लोकतन्त्र नामक ऐतिहासिक आन्दोलन भए, आन्दोलनबाट प्राप्त परिवर्तनलाई नेताहरूले यतिबिघ्न घृणायोग्य बनाइदिए कि नेपाल असफल मुलुक हुने खतरा उत्पन्न भएको छ । यही गति रहने हो भने नेपालमा धार्मिक बिद्रोह, बिध्वंशको डढेलो नलाग्ला भन्न सकिन्न । नेपालको वर्तमान र भविष्य जोखिममा छ, धरापमा परिसक्यो । बोध कसैलाई छैन ।
बेला बेलामा परमेश्वरका छोरा छोरी नेपाल आउँछन् र नेपाली नेताहरूलाई इसाई मुलुक बनाउने घोषणा गर्छन् । उत्तर दक्षिण र पश्चिमा आउँछन् र नेताहरूलाई खेताला बनाएर जान्छन् । जोसुकै विदेशी आउन्, लाम लागेर होटलमै भेट्न जाने यिनै नेता हुन्, यिनलाई आफ्नो स्तरको पनि ख्याल हुनेगर्दैन । साह्रै खस्कियो कूटनीति, साह्रै बिग्रियो राजनीति ।
नाकावन्दीका बेलामा र देशको नक्सा संविधानमा राख्ने बेलामा राष्ट्रवादमा उभिएका ओली देशभक्तिका लागि अग्ला, बरदानयुक्त नेता साबित भएका थिए । वर्ष दिनमा ३ पल्ट सत्ता परिवर्तन र विश्वासको मत लिने प्रचण्ड शासनले नेपालको नक्साअनुसारको भूमि नोपलको हो भन्न सकेनन्, उनी पनि देशवादी बन्न सकेनन् । देउवा त देउवा भइहाले, भारतले लिपुलेक, कालापानी, लिम्पियाधुरा खाइदियो भन्न सक्दैनन्, यसो भन्नुपर्दा उनको नौनाडी गल्छ । जो संसदमा छन्, शासनमा छन्, जनबिरोधी, देशविरोधी, संविधानविरोधी, परम्परा बिरोधी विदेशी प्यादाका रूपमा देखापरेका छन् । एकपल्ट फेरि परिवर्तनका बाहकहरू भ्रष्टाचार र देशघातक हतियार प्रमाणित हुनपुगेका छन् । यिनको स्वार्थले संकट निम्तियो ।
अर्थात फोहर पोखरीमा भैंसी आहाल बसेझैं लोकतन्त्रलाई फोहर पोखरी बनाइरहेका छन् । आहाल बसिरहेका छन् ।
देशवाद मरेपछि, नेतृत्वमा जनविश्वास गुमेपछि कसरी नेपाल समृद्ध बन्छ ? शासन प्रशासन नै भ्रष्ट बनेपछि कसरी नेपाल सुशासनयुक्त हुन्छ ?
गरीवी र बेरोजगारी बढ्दो छ, अव के गर्ने कसरी अघि बढ्ने मार्गचित्र केही पनि छैन । श्री ३ को फर्मान जसरी शासन चलाउन थालिएको छ । विचारमा, सिद्धान्तमा, योजनामा, करनी र कथनी सबैतिर द्व्रैध चरित्र छ । प्रशासन नेतातन्त्रको अन्यौलमा फसेको छ । अर्थतन्त्र कमिशनमुखी छ, जसका कारण उत्पादन शून्यतातिर झर्दो छ । मुलुक दिनदिनै बिग्रिरहेको छ । अमूर्त भाषण ज्यादा भए, मूर्त काम केही पनि हुनसकेन । आधा भाँडो पानी बढी छचल्किन्छ भन्ने उखान बन्यो लोकतन्त्र र सञ्चालक नेतृत्व ।
मूल कुरो सुरक्षा छैन । जब नागरिकले राज्यबाट पाउनैपर्ने प्राथमिक सुरक्षा पाउन सकेका छैनन्, अन्य सुरक्षाको झ्याली पिटेर के गर्ने ? एउटी निर्मला पन्तको लूटतन्त्र, बलात्कार र हत्यारा पत्ता लगाउनु साटो दमनमा उत्रने सरकारले सुरक्षा र कानुनी राजको कुरा गर्नु दुर्भाग्यपूर्ण छ । यो संसद, सरकार विधिको शासनमा गुणात्मक सुधार ल्याउन चाहदैन । लोकतन्त्रलाई जनताप्रति जवाफेदही व्यवस्था बनाउनै चाहदैन ।
संघीयताका नाममा वर्षेनी ६ खर्ब लुटिरहेका छन् नेताहरू । संघीयता किन ? गाउँ गाउँसम्म पुग्नुपर्ने जवाफदेहीपूर्ण विकेन्द्रीकरण थियो, पुग्यो भ्रष्टाचार कमिशनमुखी संघीयता। सेवाग्राही जनता पाउनै पर्ने सेवा लिनबाट बन्चित छन्, भ्रष्टाचार बेहोर्न बाध्य छन् ।
आइएनजीओ सर्वोच्च अदालतसम्म घुस्यो । मुख्यमन्त्रीको दरवारको रखवाली नै आइएनजीओले गरिरहेको छ । संघीयता चलाउन र राजनीतिक कार्यकर्तारूपी पसले पाल्न जनता करमाथि थप कर तिर्न बाध्य छन् । कर देश विकासका लागि तिर्नुपर्ने हो, नेता विकासको मलका रूपमा करको प्रयोग भइरहेको छ । संविधान भद्रगोलको भूमरीमा देशलाई फनफनी घुमाउने यन्त्र बन्न पुगेको छ । हामी संवैधानिक शासन खोजिरहदा संविधानले संवोधन गर्न सकेन । निर्वाचित सरकार अपराध र भ्रष्टाचारविरूद्ध शून्य सहनशीलतामा हुनुपर्ने, यो त अपराध र भ्रष्टाचार गर्ने, गराउनेहरू लुक्ने ओढार बन्न पुगेको छ । राजनीति व्यापार बनेपछि मुनाफाखोरहरू छनकमनक गरिरहेका छन् । नैतिकता, सक्षमता र इमान केहीले काम गरेको छैन । जता हेरे पनि बेइमानीमात्र देखिन्छ । नेताहरूले राष्ट्र भनेर माखो पनि मारेनन् । कानुन मिच्नु यो शासनको विशेषता हो, जसले गर्दा देश बनेन, नागरिक दुःखित पीडित हुन बाध्य छन् । लोकतन्त्र असफल भयो ।
नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहासका लेखक गृष्मबहादुर देवकोटाले देह त्याग गर्नुअघि लेखेका थिए– पत्रकार पेसाप्रति इमानदारी हुन सकेन, जसका कारण व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका पंगु हुनपुग्यो । स्थिति आज पनि त्यस्तै छ । पत्रकारिता पार्टी र नेताको पर्चाकारितामा सिमित छ ।
यो पद्धतिमा मुलुकबासीले धोका पाइरहेका छन् । अधिकांश जनता होमोग्लोविन कम भएर टाक्सिदै र फुङ्ग उडेको अनुहार लिएर जसोतसो बाँचिरहेका छन्, नेता, तिनका परिवारजन र नातापातामा रहेका केही व्यक्ति सँुगुर मोटाएजसरी मोटाएका छन् । देश यसैगरी टाक्सिदै मृत्यु उन्मुख हुँदैछ ।
अब संक्रमण संकट बनिसक्यो । जनतामा नैराश्यता बढेको छ । यो जनअसन्तोषलाई बिद्रोहमा बदल्नुको बिकल्प छैन । यसैगरी मर्ने कि जीवन बाँच्ने, निर्णय जनताले गर्नुपर्छ । अब जनता जागरुक हुनुपर्छ ।