आज इलाम-२ को प्रतिनिधि सभा सदस्य र बझाङ-१ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार छनौट गर्न एमालेको सचिवालय बैठक बस्दै छ । बैठक बिहान ११:३० बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्ने भएको हो ।
सत्तारूढ दल नेकपा एमालेले पार्टीको उम्मेदवार छनौट गर्न सचिवालय बैठक राख्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । आजको बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताईएको छ ।
आज बस्ने सचिवालय बैठकमा सातौँ केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू सर्कुलर (अन्तर पार्टी निर्देशन) कारूपमा पठाउने र इलाम-२ को प्रतिनिधि सभा र बझाङ-१ को प्रदेश सभा सदस्यका लागि वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित जिल्ला र प्रदेश कमिटीबाट सिफारिस भएका नामहरूमाथि छलफल गरिने बताईएको छ ।
इलाम-२ र बझाङ-१ मा हुने उपनिर्वाचनका लागि इलाम-२ मा ६ जना र बझाङ-१ मा तीन जनाको नाम सम्बन्धित जिल्ला र प्रदेश कमिटीबाट नाम सिफारिसमा परेको छ ।