यसअघि बनेको चार दलीय समाजवादी मोर्चामा नेकपा एमाले पनि समेटिने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकमा नेकपा एमालेलाई पनि मोर्चामा समेटेर अघि बढ्ने छलफल भएको हो ।
नेपाली कांग्रेससंगको सत्ता गठबन्धन टुटेर एमाले सहितको नयाँ सत्ता गठबन्धन बनेसंगै सो पार्टीलाई पनि समाजवादी मोर्चामा समेट्नेबारे छलपल भएको मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले बताएका छन् । नयाँ सत्ता समीकरण बनेपछि आज पहिलोपटक समाजवादी मोर्चाको बैठक बसेको हो ।
आजको बैठकले एमालेसहितको मोर्चा बनाउने निर्णय गरेको बताईएको छ । एमालेसहितको मोर्चा बनाउनका लागि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेका अध्यक्ष केपी ओलीसँग थप छलफल गर्ने बैठकले निर्णय गरेको बताईएको छ ।
आजको बैठकमा यसअघि स्थगित भएको अन्तरक्रिया कार्यक्रमलाई सञ्चालन गर्ने विषयमा छलफल भएको र समाजवादी मोर्चालाई अन्य दलसँग पनि कसरी जोड्ने भन्नेबारे छलफल केन्द्रित भएको र एमालेसमेत बसेर अन्तरसक्रिया कार्यक्रम टुंग्याउने गरी आजको बैठक स्थगित भएको छ ।
यसअघिको मोर्चाको बैठकले चैत ३ गते काठमाडौँमा अन्तरक्रिया गर्ने निर्णय गरेको भएपनि यसबीचमा सत्ता समीकरण बदलिएपछि अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको थियो । मोर्चामा माओवादी केन्द्र,जसपा, नेकपा एस र नेकपा विप्लव माओवादी रहेको छ भने मोर्चाको नेतृत्व नेकपाका महासचिव विप्लवले गरेका छन् ।