पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद ओलीले जनता र पार्टीको काममा सक्रिय व्यक्तिलाई मात्र पार्टीले उमेदवार बनाउने बताएका छन् । अध्यक्ष ओलीले प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।
नेकपा एमाले वाग्मती प्रदेशले हिजो भक्तपुरको मध्यपुरथिमि बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा आयोजना गरेको जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले अब पार्टी सदस्यताकै आधारमा टिकट नदिने बताएउदै जनता र पार्टीको काममा सक्रिय व्यक्तिलाई मूल्यांकनको आधारमा पार्टीले छनौट गर्ने बताए ।
उनले पार्टी सदस्यता लिएको यति वर्ष भयो भनेर सदस्यता लिएको वर्ष गनेर अब टिकट वितरण नहुने बताएका थिए । देश, जनता र पार्टीका काममा निरन्तर लाग्नेलाई पार्टीले मूल्यांकन गरि
सोहि आधारमा चुनावमा टिकट दिने अध्यक्ष ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले देश र जनताका काममा सक्रिय भएर लाग्ने, समाजको विकासमा लाग्ने र पार्टीको काममा सक्रिय भए मात्रै टिकट पाइने बताए । उनले अब आउने पार्टीको अधिवेशनमा होस् वा स्थानीय तहदेखि संसदीय निर्वाचनमा होस् पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै टिकट पाउने बताएका छन् ।