एमालेले माओवादीसमेत मिलेर दुई तिहाईको सरकार चलाएकै हो । दुई पाइलटले चलाउने जेटका हुइया पनि फैलाइएकै हो । अब ५० वर्षसम्म यो वाम एकता कायम रहने र नेपालको शान्ति र समृद्धिको यात्रा अघि बढ्यो बढ्यो भनेर गुड्डी हाँकिएकै हो । तर फुट्यो, दुबै पाइलटका कारणले कम्युनिष्ट एकताको जेट दुर्घटनाग्रस्त हुनपुग्यो । तिनै प्रचण्डले कांग्रेससँग मिलेर ओलीलाई सत्ताबाट गलहत्याए । ०७९ को निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन बन्यो, २ वर्ष प्रचण्ड, एक वर्ष नेकपा स का माधव नेपाल र त्यसपछिका २ वर्ष कांग्रेसले सत्ता चलाउने र निर्वाचन गराउने सहमति पनि बन्यो ।
१३ महिनामै माओवादी डाइनामिक मानिएका नेता तथा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई पन्छाएर उही एमालेसँग मिलेर बहुमतको सरकार गठन गर्न पुगेका छन् । कांग्रेस जिल्लाराम हुनपुग्यो ।
झण्डै डेढवर्षभन्दा बढी समय एकदोस्राप्रति तिक्त टिप्पणी गरिरहेका ओली र प्रचण्ड एकदोस्राप्रति यसरी एकता पनि हुनसक्छ भन्ने कसैले विश्वास नै गरेका थिएनन् ।
एकता भयो, प्रचण्डलाई एमालेले समर्थन दिंदा प्रचण्डकै नेतृत्वमा सरकार पनि बन्यो, एकै वर्षमा ३ पल्ट संसदको विश्वासको मत लिने रेकर्ड पनि प्रचण्डले तोड्न सफल भए । २०६३ सालको परिवर्तनपछि प्रचण्ड नेपाली राजनीतिको किङ्पिनकै रूपमा २०८० मा पनि कायम नै रहेका छन् । यसकारण प्रचण्डलाई धेरैले डाइनामिक लिडर मान्छन् ।
प्रश्न, ०६३ को परिवर्तनपछि राजनीतिले समाज बदल्यो कि बदलेन, आमनागरिकले जे जे अपेक्षा गरेका थिए, ती जनअपेक्षा पूरा भए कि भएनन् ? आमनागरिकले पाउनैपर्ने न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न राजनीति सफल भयो कि भएन ? भन्ने हो ।
प्रश्न प्रश्नै छन्, राजनीति संविधानलाई खेलौना बनाएर अपराधिकरणमा रूपान्तरण भयो । न्याय र सुशासनको अनुभूति जनताले गर्न पाएकै छैनन् । राज्यका जुनसुकै निकायमा हेर्दा पनि बिकृति र बिसंगतिमात्र छन् । बिधिको शासनको सीमा सबैले नाघेका छन् । हरेक पार्टीभित्र भ्रष्टाचारी, अनुशासनहीन र नैतिकहीनहरूको हालीमुहाली देखिन्छ ।
प्रधानमन्त्री बनेका देखि मन्त्री, प्रशासक, संवैधानिक प्रमुखहरूमात्र होइन, राष्ट्रपति र उपराष्ट्रपति र तिनका सन्तानसमेत राष्ट्रघाती र नैतिकहीन कर्ममा मुछिएका देखिन्छन् । साँच्चै भन्ने हो भने स्वच्छ राजनीति र विधिको शासनका लागि पोष्टमार्टम गरेर दूध र पानी छुट्याउनु पर्ने आवश्यकता छ ।
राष्ट्र अभिभावकविहीन छ । सहकार्यको राजनीतिका लागि कोही पनि तैयार छैनन् । यस्तो बेलामा कम्युनिष्ट एकताको ढोल बजाइदैछ, कसरी सम्भव होला र ?