सहने वा बिदेश पलायन हुने ? नेपाली युवाले अख्तियार गरेको विकल्प यही देखिन्छ । युवाले बिकृति र बिसंगति मास्न गर्नुपर्ने बिद्रोह हो । नेपाली युवाले बिद्रोह गर्ने बाटो रोजेनन् । सकेसम्म सहने, नसके विदेश पलायन हुने मार्ग रोजेका छन् ।
सबैले देखे भोगेका छन्, राज्यका संयन्त्र सबै भ्रष्ट छन् । भ्रष्ट बनाउने ठूला दलहरू शासनमा छन् । संविधान निस्प्रभावी बनिसक्यो । कसैलाई लज्जावोध नै हुन्न ।
कस्तो शासन प्रणाली होला यो ? उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री देखि सभामुख, मन्त्री, सचिव, प्रहरी प्रमुख, सांसद, कर्मचारी आदि सबै नै अपराधी, तस्कर, भूमाफिया काण्डमा मुछिएका छन् ! दाग त न्यायाधीश, केही सैनिकमा पनि लागेको छ । यति हुँदा पनि नेपाली जनतालाई बिझेको छैन । बिद्रोह हुनसक्दैन ।
उता अभियन्ता बनेर हिडेका मेडिकल व्यवसायी दुर्गा प्रसाई सप्रमाण अपराधी, तस्करहरूको तस्वीर नाम सार्वजनिक गर्दै हिडेका छन् । यस्तो कारवाहीको प्रशंसा गर्ने, भ्रष्ट प्रवृत्तिको विरोध पटक्कै नगर्ने । जुन जनता बिरोध गर्दैनन्, तिनले बिद्रोह कसरी गर्लान् ? पञ्चायतलाई सत्तोसराप गरेर ०४६ सालमा बहुदल आयो, बहुदल के आयो, भ्रष्टिकरणको सिलसिला सुरू भयो । जसले मौका पायो, उसैले भ्रष्टाचार ग¥यो, उही नैतिकपतन हुनपुग्यो । नेपाली जनताले पाउनुम्मको गोता पाए तैपनि चेत खुलेन, यिनैलाई नेतृत्व सुम्पिरहेका छन् । जनतामा विद्रोहको भाव भएको भए दुर्गा प्रसाईको वर्तमान अभियानले नतिजा पाइसकेको हुनेथियो । तर खोई ?
जनताभित्र यस प्रकारको उदासीनता भएरै होला, पूर्वराजा ज्ञानेन्द्र पनि चूपचाप बसेको । राजालाई देख्यो कि राजा आउ देश बचाउ भन्ने, यस्तो नारा घन्काएर राजा फर्केपछि मौन बस्ने । नारा लाग्छ, स्वर सुक्छ । आफ्नो नारालाई जिन्त पार्न आन्दोलन हुनसक्दैन । पूर्वराजा अलिकति सक्रिय हुनखोज्दा पार्टीका नेताहरू यिनै जनतालाई उफारेर चोर, देश छोड भन्ने नारा लगाउन लगाउँछन् । ०६३ को परिवर्तनपछिको राजनीति भनेको नेतातन्त्र, कुशासन नै हो । यस्ता जनतालाई सुधार्न भगवान पशुपतिनाथले पनि सक्दैनन् । मुलुक र जनतालाई शोषण गर्ने, विधि मिच्ने र राजनीतिलाई अपराधिक बनाउनेलाई दण्ड दिने माँग सहितको आन्दोलन भनेको एक दुई दिनको तमासामा सिमित हुनपुगेको छ । यहीकारण वाम वाम मिल्छन्, फुट्छन्, वाम र कांग्रेस मिल्छन् टुक्रिन्छन्, वाम र अन्य दलहरू मिल्छन्, सत्ता चलाइरहन्छन् । नेताले खान पाउनुपर्छ, नेताले हेपे हेप्छन् भनेर सहने बानी परेकाले जनताले दुःख पाएका हुन्, देशको अस्तित्व संकटमा परेको हो । कुनै क्षेत्र छैन, जहाँ बिकृतिले जरा नगाडेको । जनताले सबै देखेका छन्, सडकमा आगो बालेर विद्रोह गर्न सक्दैनन् । अंग्रेजले भारतलाई दुई सय वर्ष बिभाजित गर र राज गर भन्ने नीति लिएको थियो, नेपालका पार्टीहरूले यतिबेला त्यही नीति अख्तियार गरेका छन् ।
दुर्गा प्रसाई, राप्रपा, राप्रपा नेपालको आन्दोलन पनि रमझम मात्र हो । दुर्गा प्रसाईले ज्यान नै जोखिममा पारेर मिटरब्याज पीडित, सहकारी, लघुबित्त पीडितलाई न्याय दिलाउन अभियान चलाए । अहिलेका शासक तिनैलाई चकलेट र आश्वासन बाँडेर सत्ता चलाइरहेका छन् । यसबाट पनि थाहा हुन्छ, जनतालाई यही व्यवस्था र शासक प्यारो छ । केही समय अघि मन्त्रीका कारण दुई युवाले ललितपुरमा राज्यको गोली खाएर ज्यान गुमाउन पुगे । तिनका परिवारले केही लाख बुझे, त्यो काण्ड सेलायो । यही हो लोकतन्त्रको न्याय प्रणाली ? वीरका सन्तान नेपाली पानी मरूवा भइसकेछन् । नेपाली समाज सबै कथाव्यथा बुझ्छ, चूप बस्छ, विवेक शुन्य छ ।
राम्रो नराम्रो खुट्याउन सक्छ समाज । नराम्रोलाई नराम्रो भनेर असन्तुष्टि पनि पोख्छ तर संगठित रूपमा आगामी पुस्ताका लागि बिद्रोह गर्न सक्दैन । यस्ता जनताबाट सुखद परिवर्तनको आशा राख्नु मुर्खता हुनथालेको छ । यस्ता जनताले आन्दोलन गर्छन्, आन्दोलनबाट परिवर्तन हुन्छ भन्नु गलत लाग्न थालेको छ । जो सक्दैनन्, उनीहरू सहीरहेका छन्, लुटिएको हेरिरहेका छन् । जो सक्छन्, जुनसुकै मुलुकमा जान पनि तैयार छन्, पलायन भइरहेका छन् । जेजस्तो परिवर्तनका प्रयास भएका छन्, ती निस्प्रभावी हुनुको कारण नै मौनता र पलायन संस्कार हो ।
भ्रष्टाचार, राष्ट्रघात र अपराधिकरण बढ्नुको कारण खबरदारी नभएर हो । जो नागरिक समाज, बुद्धिजीवी छन्, ती पनि मौन छन् । मंसिर ७ को जस्तो जनभीड फागुन १ वा अन्य दिन किन देखिएन ? अनि सत्ताले हेप्दैन, सत्ताले कानुन मिच्दैन ? नागरिक समाजमा नैराश्यता बढेको छ । नेतृत्वमा नैतिकहीनताले सीमा नाघेको छ । सहने वा विदेश पलायन हुने ? यी दुई बिकल्प छन् जनतामा । अस्तित्व रक्षा र सुशासनका लागि संघर्ष गर्न बिर्सिसकेका छन् जनताले भन्ने प्रमाणित भयो ।