Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

राष्ट्र विवेक खोजिरहेछ

२७ सोमबार , पौष २०७२१० बर्ष अगाडि

अधिवक्ता शिवप्रसाद सिग्देल-
कुरा विक्रम सम्बत १६७५ देखि १६९८ सम्म काठमाडौंमा शासनगर्ने राजा लक्ष्मीनरसिंह मल्लको शासनकालको हो। राजा मल्लको राज्य व्यवस्थामा काजी भीममल्लाको ठूलो हात थियो। भीम मल्ल अर्थशास्त्रबा निकै ज्ञाता थिए। बुद्धिमान, दूरदर्शी तथा व्यवसाय कुशल व्यक्ति थिए।राज्यमा ३२ वटा पसलहरु खोलाएर भोटसित पनि व्यवसायिक सम्बन्ध निकै ठूलो मात्रामा स्थापित गरेका थिए। भोटसँग भएको तत्कालीन सन्धिले भीम मल्लाको बुद्धिमत्ता र दूरदर्शिताकोपरिचय दिन्छ। यिनैले कान्तिपुर राज्यको सीमा आधाकुतीसम्म पुर्‍याएको थिए। काजी भीम मल्ल राजा लक्ष्मीनरसिंह मल्ललाई सम्पूर्ण उपत्यकाको राजा बनाउने प्रयत्नमा लगनशील थिए। काजी भीम मल्लको बढ्दो प्रभुता दरवारको एउटा बर्गको आँखामा कसिंगर झैं बिझ् थाल्यो। ती छुल्याहाहरुले राजाको कानमा यो कुरो भरिदिए कि काजी भीम मल्ल भोटसँग मिली स्वयम् राजा हुने प्रयत्न गर्दैछन्। राजालेसत्य कुराको छानबिन नै नगरिकन काजी भीम मल्ललाई विवेकरहित भई मार्न लगाए। एउटा देशभक्त, कर्तव्यपरायण र दूरदर्शी सेवकको अन्त हुनपुग्यो। पछि पछुटो सिवाय केही हुनसक्ने स्थिति रहेन। सतीको आँसु बग्यो र वेदनायुक्त अश्रुपूर्णरुग्ण कण्ठबाट अनायास सराप निस्कियो– यो राज्यमा विवेक नरहोस्।
त्यसैले यहाँ नियति नैबनेको छ कि जो कोहीलाई पनि शासन सत्ताको बागडोर सम्हाल्ने अवसर मिल्छ, त्यतिबेला सत्ताको कुर्सीमा बिराजमान हुने बित्तिकै विवेक हराएर जान्छ। व्यक्तिगत आर्जन, सुखशैल, मोजकासाथै सत्तामोहका कुटिल खेलहरुमा रुमलिन पुग्छन्। सर्र्वसाधारण किसान, मजदूर, गृहिणी र राजनीतिक दलका इमान्दार कार्यकर्ताहरु र देशभक्त राष्ट्रवादी सबै गुनासोहरु पोखिरेका हुनछन् र विवेकको लागि व्याकुल हुनछन् र पनि विवेक पाउनसक्दैनन्। किनकि यहाँको विवेक श्रापित छ।
देशभक्त भीमसेन थापा जसले यही माटोमा सुधारर निर्माणको बिउ छरेका थिए। साम्राज्यवादको विरुद्धको शंखनादमा एसियाकै ताराको रुपमा चम्केका थिए। इतिहास बोल्न सक्दैन कि उनको कुनै एउटा पनि असामाजिक दुर्गुण थियो वा उनले अक्षम्य अपराध गरेका थिए भनेर तर त्यही राष्ट्रभक्त सपुत षडयन्त्रपूर्वक मारिए र उनको लाश विष्णुमतीको किनारामा फालियो र कौवा, चिल र गिद्धलाई खुवाइयो। हुन त यस्ता सत्य पराजित भएका इतिहास अन्यत्र पनि थुप्रै छन्।
सत्य किन लेखिस्, सत्य किन बोलिस् भनेर राजा एन्टोनीले सिसेरोलाई निर्ममतापूर्वक फाँसी दिए। यथार्थको खोज गरेर पृथ्वी गोल छ भनेर सत्य पत्ता लगाउने  ग्यालिलियोलाई जघन्य अपराध गरेको मानेर झुण्ड्याइयो।     वास्तविक चिन्तक सुकरातलाई विष खुवाएर मारियो।
यसरी सत्यले सजायको सामना गर्नुपरे पनि कहिले सत्य ओझेल परेर बस्न भने सकेन। सत्य जहिले पनि उजागर भएरै रह्यो।
नेपालको सन्दर्भमा आज प्रत्येक पार्टीभित्रमात्र होइन, सबै क्षेत्रमा इमान्दार र लगनशीलव्यक्तिहरुको उपेक्षा र चाटुकारहरुको बढोत्तरी दिन प्रतिदिन देख्न सकिन्छ। नीति शास्त्रमा भनिएको छ– अयोग्यलाई योग्य सरह सम्झने, योग्यलाई अयोग्य सरह पन्छाउने, काम गर्न सक्नेबाट काम नलिने भएमा काम गर्नेहरुले छोडिदिन्छन्। मणिलाई काँच र काँचलाई मणि सम्झने परिपाटीले प्रत्येक क्षेत्र ग्रसित हुनपुगेको छ। खड्गमान सिंहले जेलमा २० वर्ष भन्ने पुस्तकमा लेखेका छन्– २००७ सालमा प्रजातन्त्र आउनुभन्दा पूर्व राणा शासनकोविरुद्ध प्रजातन्त्रकोलागि संघर्ष गर्ने र चुटाई र पिटाईका साथै जेल जीवन व्यतित गर्नेहरु २००७ सालमा प्रजातन्त्त आएपछि उपेक्षित हुनपुगे। त्यसपछि मनाइने प्रजातन्त्र दिवसका कार्यक्रमहरु र चियापान समारोहमा एक कप चिया खान पनि ती चुटिने, पिटिने र जेलको भुक्तमान खप्ने राजववन्दीहरु सिला खोज्दा पनि नपाइने गरी उपेक्षित भए। प्रजातन्त्रको लडाइमा जेलमा २० वर्ष बिताएका खड्गमान सिंहको यो कारुणिक अभिव्यक्ति साँच्चै नै मार्मिक छ। वर्तमान नेपालका सन्दर्भ बनेको छ।
मैले यी कुरा  २०५२ सालमा लेखेको थिएँ। २० वर्ष अघि लेखेका यी हरफहरु बागमतीमा धेरै पानी बगे पनि आज पनि उत्तिकै सान्दर्भिक छन्। किनभने बहुदलीय प्रजातन्त्रको ठाउँ लोकतन्त्रले लियो र १७ हजार मारिएपछि स्थापित भएको लोकतन्त्रमा पनि जनता मारिन छाडेका छैनन्। जनताका मन पोलेका छन्, जनताको आँखाबाट आँसु बगिरिहेका छन्। देश अराजकता र अस्थिरताको आगोले जलिरहेको देखिन्छ। देश विश्वासको संकटको आगोको मुस्लामा दन्किरहेको छ।
मैले लेखेको थिएँ– सत्यवान मरेपछि सावित्रीले बचाएको इतिहास पढेका हामीले कहिल्यै सावित्री मरेपछि सत्यवानले बचाएको इतिहास पढ्न पाएका छैनौं। त्यसैले प्रत्येक राजनीतिक दल, क्षेत्र र सिद्धान्तमा आवद्ध इमान्दार कार्यकर्ताहरुले यस्तै नियतिमा रुमल्लिनु परिरहेको छ।
    जनताले लोकतन्त्रका लागि आहुति दिए। लोकतन्त्रले जनतालाई के दियो? मैले राजतन्त्र फालें, लोकतन्त्र ल्याउने मै हुँ, संविधान मेरै नेतृत्वमा जारी भएको हो भनेर अहंकार प्रदर्शन गर्नेहरुसँग जवाफ छैन– लोकतन्त्रमा लोक किन यसरी असहाय भएर बाँच्नुपरिरहेछ? यसको जिम्मेवारी लिन हिम्मत नगर्नेहरु लोकतन्त्रका बिधाता बन्न सुहाउँछ?
हाम्रो समाजमा स्थापित कथन छ– चोरलाई चौतारो, सज्जनलाई सूली। न सतीको सराप मोचन हुनसक्यो, न यो कथन असत्य सावित गर्ने नयाँ संस्कार नै स्थापित गर्न सकियो। नयाँ नेपाल बनाउन कम्मर कस्नेहरुको चरित्रहीन लीला कतिञ्जेल हेर्नुपर्ने हो?