राष्ट्रिय सभामा रिक्त रहेको अध्यक्ष पदको निर्वाचनका लागि आज ११ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि मनोनयन दर्ता हुने समय १ बजेसम्मलाई तोकिएको हो ।
सचिवालयको निर्वाचन कार्यक्रम अनुसार आज १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने छ । उम्मेदवारको मनोनयन दर्ता संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा हुने र आजै साढे १ बजे दर्ता भएका प्रस्तावको सूची प्रकाशित गरिने बताईएको छ ।
त्यसैगरी भोलि फागुन २९ गते मंगलबार बिहान ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव पेश गर्ने र समर्थकले समर्थन गर्ने कार्यक्रम रहेको छ । एक भन्दा बढी प्रस्ताव आएमा संक्षिप्त छलफल हुने र प्रस्ताव दर्ताक्रम अनुसार निर्णयार्थ प्रस्तुत हुने तालिका संसद सचिवालयले सार्वजनिक गरेको छ ।
नयाँ बनेको सत्ता गठबन्धन दलको तर्फबाट राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाउने भएको छ भने अर्को तर्फ कांग्रेसले राष्ट्रियसभामा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको बताईएको छ ।