धर्मरत्न श्रेष्ठ :
पौष २१ गते विराट पेट्रोलियमले भारतबाट ल्याएको पेट्रोल ट्यांकरबाटै बेच्यो। खुला ठाउँमा जर्किन ड्रम, ग्यालनमा बेच्यो। अति प्रज्वलनशील पदार्थबाट हुनसक्ने सुरक्षा संवेदनशीलतालाई समेत ध्यान दिइएन। र, लिटरको १ सय ८० मा बेच्यो। यो सिधै कालोबजारी हो। नेपाल आयल निगमले १ सय ४ मा बेचेको पेट्रोल बिराट आयललाई यसरी अनियन्त्रित, असुरक्षित रुपमा त्यो पनि बढी मूल्यमा बेच्न दिनु कसरी न्यायसंगत हुनसक्छ? एउटै देशमा यसरी द्वैध शासन हुनसक्छ? तर भयो, राज्यले कालो बजारीलाई मान्यता दियो। त्यसपछि निरन्तर बिराट पेट्रोलियमले पेट्रोल बेच्दै आएको छ। निगमकै पम्पबाट बेच्न सुरु गरिसकेको छ। त्यही भारतबाट आयात गरेको तेल निगमले कम मूल्यमा र निजी कम्पनीले बढी मूल्यमा बेच्नु आफैमा आपत्तिपूर्ण घटना हो। गृहमन्त्री भन्दैथिए– त्यस्तो हो भने कारवाही हुन्छ। कहाँ भयो कारवाही? कसले गर्यो कारवाही? सिंहदरवारको ३ किलोमिटरको आसपास बिराट पेट्रोलियम कालोबजार चलाइरहेको छ, ओली सरकार आँखा, नाक, कान, मुख थुनेर बस्यो। यही हो राज्यविहीनता, दण्डहीनता, अराजकता भनेको छ। यिनले बिधिको शासनको कुरा गर्न अव सुहाउँदैन।
विराट पेट्रोलियमले आयात गरेको पेट्रोलको गुणस्तर परीक्षणसमेत गरिएन। हाहाकार भइरहेको बेलामा ल्याएर बेच्छ भने बेचोस् भन्ने हल्का नीतिमा सरकार फसेको छ। यसअघि पनि दण्डित र आरोपित कम्पनी हो बिराट पेट्रोलियम। यो कम्पनीलाई आयल निगमका कार्यकारी गोपाल खड्काले ठाडो आदेशमा पहिले पनि गुपचुप २० करोड उपलव्ध गराएका थिए र अहिले पनि उनकै आदेशमा बिराटले तेल बेचेको हो। बिराट पेट्रोलियम कानुनभन्दा माथि देखियो।
भनिन्छ, बिराट पेट्रोलियममा गोपालबहादुर खड्का, अख्तियारका प्रमुख लोकमान सिंह कार्की र तिनका नातेदारहरुको शेयर छ। यही कारणले २९ जनालाई पूर्जी काट्ने अख्तियारले गोपालबहादुर खड्कालाई कुनै कारवाही गरेन। जब कि उनको आदेशमा पेट्रोलियम पदार्थको कालोबजारी डरलाग्दो रुपमा भइरहेको छ। यो देशमा बिधिको शासन छ भनेर कसैले भन्न सक्छ? छ भने बिधि मिच्नेहरु किन छाडा रुपमा मनपरी चलाइरहेका छन्। लोकतन्त्रमा प्रतिपक्षी हुन्छ। प्रतिपक्षी कुहिराको काग भएका बेलामा उसलाई मार्गदर्शन र बिधिविपरित हिड्ने सत्तालाई खबरदारी गर्न नेपाल बार, नागरिक समाज, अन्य संचेतन बर्गले जागरुकता देखाउनु पर्छ। छैन, हाहाकारमा कष्टपूर्ण जीवन बाँचिरहेका सामान्य जनताजस्ता निरीह बनेका छन् यी शक्तिशाली समूह संस्थाहरु। यही कारणले गर्दा राज्य निरंकूश, अस्थिर, अराजक, कालोबजारीका मुखियाजस्ता भएका छन्।
हामी नयाँ नेपालतिर लागेका भनिन्छ। यसरी द्वैध शासन, समानान्तर शासन र कालो अर्थतन्त्र मौलाउन दिएर नयाँ नेपाल गया नेपालमात्र हुन्छ।


