कांग्रेससंगको गठबन्धन टुटेपछी बनेको नयाँ सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । नयाँ सत्ता गठबन्धनको आजको बैठकमा कुन दलले कुन मन्त्रालय पाउने भन्ने विषय टुंगो लगाउन दिउँसो २ बजे बैठक बस्ने भएको हो ।
हिजो सोमबार नयाँ सत्ता गठबन्धन बनेको र माओवादी,एमाले र रास्वपाका तीन जना मन्त्रीले शपथ पनि खाइसकेका छन् । आजको बैठकमा मन्त्रालय पाउने विषय टुंगो लगाउन नयाँ गठबन्धनको बैठक बस्न लागेको बताईएको छ ।
नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको सहभागिता रहेको छ । दिउँसोको बैठकमा शंकर पोखरेल, वर्षमान पुन, स्वर्णिम वाग्ले र राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्ने बताइएको छ ।
नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गर्दै नयाँ ४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । हिजो एमाले, माओवादी, र रास्वपाका बिनाविभागीय मन्त्रीहरुले शपथ लिइसकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबै मन्त्रालयको जिम्मेवारी दिइएकाले नवनियुक्त मन्त्रीहरु विनाविभागीय हैसियतमा रहेका छन् ।