गैह्रजिम्मेवार राजनीतिले लोकतन्त्र बदनाम भयो ।राजनीतिले सभ्य समाजको सिर्जनामा ध्यान दिनुपर्ने हो । समाज झन झन पछाडि गइरहेको छ । समाज बदलने प्रक्रियामा राजनीति असक्षम सावित भइसक्यो । दीर्घरोगी मान्छेभन्दा रोगी राजनीतिले समाज बदल्ने उद्देश्य पूरा गर्न नसक्ने भयो ।
व्यवस्था खराव भएकाले सपार्नका लागि बदलिएको व्यवस्था आफै खराव हुनपुग्यो । खराव बनाएको नेतृत्वले हो । रोगी समाजको उपचार बन्नुपर्ने राजनीति हिजो पनि रोगग्रस्त थियो, परिवर्तनको १८ वर्षमा झन झन रोगग्रस्त भइरहेको छ । यसकारण शान्ति, समृद्धि, सुशासन स्थापित हुन सकेन । बोल्न पाउनु र चुनाव हुनुमात्र लोकतन्त्र होइन । लोकतन्त्रमा लोकले पाउनै पर्ने आधारभूत सुविधा पाउनु पर्नेमा लोकले पाउनुपर्ने सेवा, सुविधा सबै नेतृत्वले लुटेकाले लोकतन्त्र लूटतन्त्र बनेको हो । लोकतन्त्रका अङ्गप्रत्यङ्ग भनेका संवैधानिक निकायहरू हुन् । प्रत्येक संवैधानिक निकाय भ्रष्टाचार, अनीति र राजनीतिकरणको सिकार बनेका छन् । राजनीतिकरणको आड लागेर अपराधीहरू सलबलाउँदा डसिने नागरिक हुन्् ।
यसकारण लोकतन्त्र लूटतन्त्र बन्यो, लोकतन्त्र बदनाम हुनपुग्यो ।
विश्वमै नभएको दुईपल्ट संविधानसभाको निर्वाचन गरियो । संविधान लेख्न ८ वर्ष लाग्यो । ०७४ को आवधिक निर्वाचनपछि अब त सुधार होला कि, परिवर्तन जनताले अनुभूति गर्न पाउलान् कि भनेको ५ वर्ष राजनीतिक अस्थिरतामा सकियो । ०७९मा अर्को आवधिक निर्वाचन भएको छ । यो निर्वाचनपछि संसद, सडक, सरकारमा जे देखियो, अनैतिकता देखियो । न कुनै पार्टीको नीति, नैतिकता जिवन्छ छ, न सिद्धान्त बाँचेको छ । सत्ता भएपछि जति पनि र जहाँ पनि गल्न, भुल्न सक्ने राजनीतिका कारण लोकतन्त्रजस्तो विश्वले मानेको व्यवस्था नेपालमा बदनाम हुनपुग्यो । यही नेतृत्व रहिरहने हो भने यही व्यवस्थाले १९७५ को सिक्किमको हालतमा नेपाल पुग्ने त होइन भन्ने आमसमुदायमा संशय बढेको छ । यस्तो लज्जा पनि लज्जित हुनेखालको राजनीतिले समाज परिवर्तन र सभ्य हुनसक्दैन । नेपालमा लोकतन्त्रको यो दृश्य दुर्भाग्यपूर्ण छ ।
राजनीतिमा लाग्नेहरूमा देश बनाउँछु, जनताको सेवा गर्छु, अस्तित्व रक्षाका लागि त्याग गर्नसक्छु भन्ने इच्छाशक्ति हुनुपर्छ । नेपालका नेतामा त सत्तामोहबाहेक केही पनि छैन । देश बनाउने राजनीतिक, प्रशासनिक सिपाही छैनन् । देश बनाउने सिपाही नभएपछि बचाउने समस्या बढ्छ । देश आज अस्थिरताको भूमरीमा पर्नु र आन्तरिक मामिलामा विदेशीको हैकम देखिनुको कारण पनि नेतृत्वको नालायकपन हो । देश हाम्रो, हैकम अरूको । शासन प्रशासन हाम्रो, निर्णय विदेशीको । भूमि नेपालको, शासन विदेशीको ।
योभन्दा गए गुज्रेको लोकतान्त्रिक नामधारी पद्धति अरू के हुनसक्छ ? लोक बिद्रोह गरिरहेका छन्, लोकका सामु उभिएर कुरा गर्न नसक्ने नेतृत्व पदमा, जिम्मेवारीमा छन् । ग्रह्रजिम्मेवारीको सीमा पार भइसक्यो । यति दयापात्र बनिसक्दा पनि नेतृत्वमा चेत पलाएको देखिदैन ।
अन्य मुलुकका संक्रमण, निकासजस्ता घटनाबाट शिक्षा लिएर नेताले, सरकारले, नागरिक समाजले, अधिकारकर्मीले राष्ट्रलाई दिशानिर्देश गर्नसक्नुपर्छ । गलतलाई गलत र सहीलाई सही भन्नसक्नुपर्छ । बिग्रे भत्केको देखेपछि खबरदारी गर्नसक्नुपर्छ । नेपालमा त लुट्ने लुटिरहेका छन्, विवेकशीलहरू ट्वाँ परेर तमासा हेरिरहेका देखिन्छन् ।
जब राजनीति सही मार्गमा चलाइन्छ, तव कानुनव्यवस्था, शासन प्रशासनमा सुधार आउँछ । प्रष्ट छन् कानुन, प्रष्ट छन् संविधान, तर कार्यान्वयन शून्य छ । कानुनका छिद्र खोजेर राजनीतिलाई अपराधिकरणमा चोपल्ने र अपराधी शासन र कानुन बनाउने सत्तामा, शासनमा पुग्नु भनेको कुशासन हो । संविधान, पद्धतिको असफलता हो । यसकारण प्रश्न उठेको छ, देश बनाउने राजनीतिक, प्रशासनिक ल्याकत कहीँ पनि छैनन् । लोकतन्त्र ल्यायौं, परिवर्तन ल्यायौं भन्ने नेताहरू संसदमा छन्, सरकारमा छन्, तिनकै हातमा शासन व्यवस्था छ । के तिनले यो परिवर्तन, यो लोकतन्त्रको स्वामित्व लिएका छन् ? छन् भने किसान, आमनागरिक, बैंकपीडित, मिटरब्याज पीडितमात्र होइन, अन्यायमा परेकाहरू न्यायका लागि किन गुहार लगाइरहेका छन् ? अदालतले जन्मकैद ठहर गरेकालाई समेत माफी दिएर राजनीति गर्न छुट दिने सरकार, राष्ट्रपति देशका हितकारी हुनसक्दैनन् ।
नेपाल भूराजनीतिको गोल चक्करमा परिसक्यो । शक्ति राष्ट्रहरूको चासोको विषय, प्रभावको अंकूशमा नेपालका शासन प्रशासन परिसकेका छन् । राज्यका हरेक निर्णयहरूमा विदेशी प्रभाव देखिनु भनेको नेपालको राजनीतिको सबैभन्दा ठूलो हार हो । अराजनीति हो । कूटनीतिक विफलता हो । नेपालमा जे भइरहेको अराजनीति, व्यवसाय भइरहेको छ । यो भोरजूवामा कहिले कांग्रेस, कहिले एमाले, कहिले माओवादी केन्द्र, कहिले ससाना पार्टीहरूले च्याँखे बल्झाउने गरेका छन् । यथार्थमा यो राजनीतिक जूवा खेलाउने खाले विदेशी दबाब, प्रभाव र साधन स्रोत नै हुने गरेको छ । विदेशी चास्नीमा डुबेर हाम्रो नेतृत्व पटक पटक आत्महत्या गरिरहेका छन् । जनविश्वासको संकट छ । विश्वासघात भएपछि केको संविधान, केको विधि ? घातीका लागि सबैभन्दा महत्वपूर्ण भनेको उसको स्वार्थ हो । स्वार्थमा डुबेपछि ऊ विवेकहीन हुन्छ । विवेकहीन शासन सत्ताबाट आमनागरिकले विवेकको न्यायको आशा राख्नु सपना हो । देशभित्रका राजनीतिक घटनाक्रम हेर्दा लाग्छ, नेपालको लोकतन्त्रले देशको अस्तित्व मेटाउँछ ।
लोकतान्त्रिक परिवर्तन, जनयुद्ध, जनआन्दोलन गर्नेहरूले ठूलै क्रान्ति गरेको फुइँकी लगाउन छाडेका छैनन् । त्यतिठुलो परिवर्तनले चेतना ल्यायो, चेतना देशका लागि निर्णायक बन्न सकेन । आँखा चिम्लेर हरेक सवालमा राजनीतिकरण हुने गरेको छ । आमनागरिकलाई पनि विभाजन र राज गरको नीतिमा पार्टीहरूले स्वार्थसिद्ध गरिरहेका छन् । मान्छेहरू बथानका बथान बनेर दलका नारा लगाइरहेका छन् । नारा नेताका लागि, पार्टीका लागिमात्र होइन, राजतन्त्रका लागि समेत लागिरहेको छ । शान्ति, समृद्धीको कुनै राजमार्ग खन्न कोही तैयार छैनन् । भएका भत्काउन सबै तैयार छन् । जनजनमा असन्तुष्टि बढेको छ । असन्तुष्टसमेत विभाजित छन् । देश बनाउने बचाउने राजनीतिक र सुरक्षाकर्मी सिपाहीले हो । देशमा सिपाही भनेको युवा हुन्, युवाहरू गरिखान पाइएन भनेर हरेक दिन लाइन लागेर विदेशीने गरेका छन् । तिनले पठाएको रेमिटान्स अर्थतन्त्र कुनै पनि बेला दुर्घटना पर्नसक्ने खतरा अर्थविद देखाइरहन्छन्, कोही पनि भययुक्त भएको छैन । सबै सकेसम्म लुट्नतिर व्यस्त अभ्यस्त भइरहेका छन् ।
असन्तुष्ट जनताले सडक तताइरहेका छन् । सडक सडकमा धर्ना दिइरहेका छन् । लघुवित्त पीडितले त संसदभित्रै धावा बोलिसके । सरकार डोरीले निषेधित क्षेत्र घोषणा गरेर कानुनव्यवस्था ठिक हुन्छ भन्ने भ्रममा छ । कतै श्रीलंकामाजस्तो जनविद्रोह हुनपुग्यो भने को कता पुग्छ, यो डोरी निषेधित क्षेत्र रणमैदान त बन्दैन ? विश्वमा जनअसन्तोषलाई कुन तानाशाहले रोक्न, छेक्न र तहलगाउन सक्यो र ? नेपालका सन्दर्भमा नेता, सरकार र प्रशासनप्रति जनताको विश्वास समाप्त भइसकेको छ । अर्को परिवर्तनको झल्का देखिदैछ ।
प्रहरीको लाठी, थुनछेक र दमनले कति दिन जनताको आक्रोशलाई रोक्नसक्छ ? श्रीलंकामा सक्यो र ?
राम्रो काम र जनताको सम्मानले हो राजनेता बन्ने । नेपाललाई गरीबभन्दा गरीब बनाउने, नेता धनी बन्ने अनि तिनै गरिबमाथि भ्रष्ट नेताले शासन गर्ने विधि लामो समय चल्न चलाउन मुस्किल छ । त्याग, तपस्या, बलिदानी भाव नभएकाले राजनेता छैनन् । राजनीति छ, नीति छैन । संविधान छ, विधि छैन । नेता छन् व्यवहार छैन । भाषण छ, शान्ति, सुशासन, समृद्धि छैन । राजनीतिक स्वार्थका लागि नेताहरू लडन्त भिडन्त गरिरहेका छन् । यिनै नेताहरू आमनागरिकलाई जुधाइरहेका छन् । नेता कस्ता छन् भने लाभ पाउने ठाउँमा मिल्छन्, लाभ लिन्छन्, फेरि जुध्छन् । नेताहरू आफै जुधेका होइनन्, यिनलाई जुधाउनेहरू देश विदेशी शक्तिहरू छन् । देश बनाउँछु भन्नेहरू आफू आफूमै जुध्नु भनेको अर्काको रिमोटमा नाच्नु हो । नेपाली नेताहरूमा मौलिक केही पनि छैन । यिनको राजनीति विदेशीका सामु लम्पसार र नागरिकका सामु दमनकारी छ ।
देश बाढी आए बाढीपहिरोमा पर्छ, सुख्खा लागे सुख्खा पहिरोमा परिरहेकै छ । पहिरोबाट देश र नागरिकलाई बचाउनेहरू राजनीतिक पहिरो निम्त्याइरहेका छन् । देशलाई अस्थिरता र अराजकतामा धकेलिरहेका छन् । नेतृतवमा केही छैन । नैतिक सीमा हुन्छन्, देशको सीमा हुन्छ, संविधानको सीमा हुन्छ, लोकाचार हुन्छ । नेपालमा नेतातन्त्र छ, लूटतन्त्र छ । नङ्गातन्त्र छ ।
इतिहासमा वर्णित छ– औरङ्गजेबको व्यक्तिगत हतियार थियो– खञ्जर (छुरा) । सार्वजनिक रूपमा दण्डित गर्नुपरे काँडे कोर्रा (बागन्याक–फलामको काँडे पञ्जा) थियो । जसले स्वराजप्रति घात गर्छ, त्यसलाई औरङ्गजेवले फलामको काँडे पञ्जा छाती र भुँडीमा धस्थे । त्यसैले त सन १६५७ देखि १७०७ सम्म सोल्जरको जीवन बाँचे, स्वराज भन्दै मृत्युवरण गरे ।
बडामहाराजाधिराज पृथ्वीनारायण शाह थिए, नेपाल निर्माण गरिदिए । जातीय सद्भाव र एकताको सूत्र बनाइदिए । यस्तो बहुजातीय अखण्ड देशलाई बिखण्डनको खतरामा पार्ने यही नेतृत्व हो । यस्तो नेतृत्वले नेपालको सुदूर भविष्य अन्धकार अन्धकार मात्र देखिन्छ ।