वर्तमान प्रधानमन्त्री प्रचण्ड भारतका लागि असली घोडा हुन् । शेरबहादुर देउवा र कांग्रेस तबेलामा राख्नुपर्ने खालका घोडा हुन् । जसलाई जुनबेला मनलाग्छ, चढ्न सकिन्छ । यस्तै आशय व्यक्त गरेका छन् नेपालबारे जानकार भनिने भारतका अवकाशप्राप्त कर्नेल मेहताले । प्रचण्ड माओवादी पार्टी अध्यक्षमात्र होइनन्, नेपालका प्रधानमन्त्री पनि हुन् । उनलाई यतिबिघ्न अपमान गर्दा पनि कसैलाई बिझ्दैन । जनयुद्ध उतैबाट समर्थित भएकाले हो कि त्यतिबेला सुरूङ युद्धको सगुफा छोड्ने प्रचण्डको असली स्वरूप भारतका नेपाल जानकारले नै देखाइदिएका हुन् कि ?
हामी नेपालीहरू यिनै प्रचण्ड, देउवाहरूलाई अग्रगमनकारी मानिरहेका छौं । एकजना प्रवुद्ध विदेशीले आफ्नो मुलुकका लागि असली घोडा भनेर बेइज्जत गरिसक्दा पनि माओवादी पार्टीभित्र कसैलाई असजिलो भएको देखिदैन । अन्य दल र नेपाली जनतालाई त के चासो भयो र ? काखी कन्यायो, छारो उडायो । माओवादी त साह्रै संवेदनशील थियो, कस्ता नेता विकसित भएछन्, कसैलाई पोल्दैन, अप्ठेरोसमेत हुँदैन । मुलुक लुट्ने, लुटतन्त्रलाई लोकतन्त्र भन्ने अनि विषयान्तर गर्न प्रतिगामीको हौवा चलाउने, भारतका जो कसैले जतिसुकै बेइजत गरे पनि सुनिरहने । प्रचण्ड र माओवादीको मात्र किन ? प्रमुख भनिएका, बोलैया भनिएका दलहरू पनि घोडा बन्न तैयार भएर बसेका देखिन्छन् । भारतलाई खुशी पारेपछि सत्तामा पुग्न, पुगेपछि टिक्न सकिन्छ भन्ने नेतृत्वपंक्तिको मनोदशा दयालाग्दो बन्दै गएको छ । प्रमुख प्रतिपक्षी एमालेका अध्यक्षको कथन छ– जसरी पनि पैसा कमाए हुन्छ, पार्टी र मेरो नाम जोडिनु भएन । नेतृत्वबाट यस्तो सहुलियत सुझाव पाएपछि कसैलाई किन देश दुखोस् ? जसले जेसुकै भनोस्, देशको बदनाम होस् छु मतलव, बस् देश लुट्न पाइयोस् । यही हो मूलमन्त्र ।
कांग्रेसभित्रको के कुरा गर्नु । यो पार्टीभित्र थुप्रै राष्ट्रिय भाउजुहरू छन् । जो लाख, करोड जति पनि खान र पचाउन तम्तैयार बसेका छन् । यिनलाई पनि के मतलव, कसले के भन्यो भनेर । जनता मरून् कि देशका प्रधानमन्त्रीलाई घोडा भनुन्, मुखमुखै लाग्न कोही तैयार छैनन् । सबै भोका छन्, खानका लागि दौडादौड गरिरहेछन् । यसरी नै चलिरहेको छ मुलुक । वास्तवमा पशुपतिनाथ भरोसे भइसक्यो मुलुक ।
मधेशवादीको के कुरा गर्नु ? यिनीहरू पनि द्रव्यपिचास, सत्तालालुप नै छन् । देशलाई सिंगापुर बनाउँछौं भनेर सिंहदरवार पुगेका जो कोहीको पनि घीनलाग्दो, देशघातक, जनतामारा चरित्र उदाङ्गो भइरहेकै छ । देशमा दुईखाले बर्ग विकसित भइरहेको छ । एकथरि आशीर्वाद र अपराधमा डुबेर रातोरात सामन्त बन्ने, अर्को बर्ग हातमुख जोर्न धौधौ हुने । मध्यमबर्ग मासिदै गएको छ । हरेक जनतालाई देशमा के भइरहेको छ, जानकारी छ तर पार्टी पार्टीमा विभाजित र अदना बनेका जनता बिद्रोह गर्न सक्दैनन् । विद्रोह सुरू हुन्छ, राज्यदमनबाट थिचिन्छ, किचिन्छ । सामन्तलाई लुट्दैमा फुर्सद छैन, गरीबलाई समस्या सुल्झाउने कि बिद्रोह गर्न खटिने ? भन्ने नै हो भने जो सत्ता र शक्तिमा छन्, तिनलाई किनारा नलगाएसम्म देश बन्दैन । शासन प्रशासनमा बढ्दो व्यभिचार, अपराधिक राजनीतिबाट बढेको लुटतन्त्र रोक्न सकिएन भने देशको अस्तित्व मटियामेट हुनसक्छ । जबसम्म जनता एक हुँदैनन्, तवसम्म चुनावबाट जित्ने र शासनमा पुग्ने यही बर्ग हो । यो सबै बुझेर पनि दर्जनौं संघसंस्थामा रहेकाहरू एकतावद्ध आन्दोलन, विद्रोह गर्न सक्दैनन् । सबै लोभी र पापी छन्, देशको चिन्ता गर्छन्, सामुहिक रूपमा विद्रोहको बिगुल फुक्न सक्दैनन् । यहीकारण हो, नेतृत्वलाई खरी घसेर प्रश्न गर्न कुनै कार्यकर्ता सक्दैनन् । यस्ता कार्यकर्ताले नेता र भ्रष्टाचार, सुशासन र अपराधिकरणवीचको भिन्नता कसरी छुट्याउन् ? जब जब नेता वा कार्यकर्ताको दानापानी बन्द हुन्छ, त्यतिबेला यिनलाई नीति, नैतिकता, सिद्धान्त, घोषणापत्रको सम्झना आउनथाल्छ । अन्यथा यिनलाई देशको चिन्ता छैन ।
अख्तियार लगायतका संवैधानिक निकाय देखाउनका लागि बाघ हुन् । यिनले गरेको छानबिन, हालेको मुद्दा अथवा अन्य संवैधानिक निकायका रिपोर्टहरू सबै रद्दीको टोकरीमा फालिन्छन् । आज विदेशीले घोडा भने, भोलि तिनैको आदेशमा मुख्यमन्त्री बन्न बेर छैन । जो आफ्नो खुट्टामा उभिन सक्देन, उसका लागि देशको कति महत्व बाँकी रहन्छ र ? आधा जनसंख्या नाना, खाना र छानाका लागि विदेशीएका छन् । विदेशीले देश र प्रधानमन्त्री तथा पार्टीहरूलाई अपमान गरिरहेका छन् । सबै पचाउन सक्ने यी कुन जातका राजनीतिक प्राणी होलान् ? त्यसै भनिएको होइन रहेछ– अल आर इक्वेल बट सम आर मोर इक्वेल । यिनीहरू मोर इक्वेल नै हुन् त ?