बैकुण्ठ भण्डारी - - -
सरकार चलाउने, लोकतन्त्र हाँक्नेहरूको लघुचित्त, लघुवित्त देखेर अचम्मित परेको छु ।
सरकारमा बस्नेको आफन्ती नै मुछिएपछि लघुवित्त पीडित, मिटरव्याज पीडितहरूले गोता पाउनु स्वभाविक हो । म पनि पीडित हुँ । पीडितहरूले जतिसुकै आन्दोलन, धर्ना दिए पनि सर्कारमा बस्नेहरूको लघुचित्त, लघुपित्त झन झन साँघुरिदै गएको देखिन्छ । लघुवित्तदेखि सहकारीसम्मबाट लुटिएका आमनागरिकले के कति दुःख पाउने पाउँदै गरून्, लोकतन्त्रेहरूलाई के को चासो ? हालैको घटना हो, काठमाडौंको न्युरोडस्थित सानो गल्लीभित्र एउटी बूढीआमा लौरो टेकेर अगाडि बढ्छिन् । बिस्तारै गल्लीभित्रको साढे सात तल्ले एक कोठे घरको साँघुरो भ¥याङबाट स्वाँऽस्वाँ गर्दै सकी नसकी त्यही लौरोको सहायताले पाँच तल्लामाथि रहेको सहकारीको कार्यालय पुग्छिन् ।
उनी ढोकैको छेउका राखिएको काठको टेबलमा थचक्क बसेर लौरोलाई ढोका काँपमा अड्याएर फेरि खुँइया गर्छिन् । सास फेर्दा नै मरिएला जस्तो ! यति माथि छ । पैसा लिन आउने बेलामा चाहिँ कोठैमा आउनु । लिनचाहिँ प्राण नै जाला जसरी धाउनुपर्नी खै के हो के ! आफैं एक्लै बर्बराउँदै निलो प्लास्टिकको झोलाबाट कच्याककुचुक परेका कागजहरू ओल्टाइपल्टाइ गर्छिन् ।
उनका आँखामा लगाएको चस्माले काम गरेन छ कि क्या हो ? चस्मा फुकालेर फरियाको एउटा टुप्पाले सिसामा लागेका धुलो पुछेर फेरि चस्मा लगाउँछिन् । अनि एक्लै बर्बराउँछिन् । ती नानीलाई घरमै ल्याउँदा बा भनेको मानेको भए पो । उनीचाहिँ दिनदिनै कोठामा आएर यो हुन्छ आमा त्यो हुन्छ आमा भन्थिन् । अहिले त के हो के हो ! पाउनुसम्मको गोता खाइयो, दुःख पाइयो ।
प्लास्टिकबाट पासबुक निकाल्दै बूढीआमा उठ्छिन् । सिसाले छेकिएको अग्लो छेकोबाट पास बुक देखाउँदै, ल नानी यो हेरेर मलाई अलिकति पैसा निकाल्दिनु प¥यो बा ! बूढी आमा, भित्र घुम्ने कुर्सीमा बसेर कम्प्युटरमा फेसबुक हेरेर बसेकी केटीलाई दिन्छिन् । केटी उत्तर नदिएरै म्यासेञ्जरमा होला सायद, भिडियो कलमै मस्काराँ लगाइरहेकी छिन् । आमाले बोलेको नसुनेको हो वा नसुनेको जस्तो गरेको हो भगवान् जानुन् ।
अलि धेरैबेर हातमा पासबुक तेर्साएर उभिएर थाकेकी बूढी आमाले फेरि भन्छिन्, ‘लौन नानी यो हेरेर पैसा निकाल्देऊ न !’ तर उनले सुनेर पनि नसुनेजस्तै गरेपछि आमैलाई निकै पारो तातेको हुनुपर्छ । आमा ठूलो स्वरले कराउन थाल्छिन् । ‘हैन के हो यो पारा ? उतिबेलादेखि कराको करै छु वास्तै गर्दिन ! खुरूक्क मेरो पैसा झिकेर दे ।’
उनीसँगै रहेका अरू दुई–चार जना पनि त्यसैगरी उभिरहेका छन् । तर भित्र बस्नेले खासै वास्ता नगरेको सुनेपछि बूढीआमैले टेबलमा एक मुक्का हानेपछि बल्ल ती केटी जुरूक्क उठ्छन् । कानमा लगाएको कुन्नि के हो निकाल्छिन् र बेस्सरी कराएर हपार्छिन् ।
‘के गरेको त्यस्तो ? यसरी फुट्ने गरी नि ठोक्छन् ?’ आफ्नो पैसा निकाल्न आएका अर्का व्यक्तिले ती केटीलाई भन्छन्, ‘के गर्नु त यी आम्मैले तपाईंलाई बोलाकै कतिबेर भयो ! तपाईं कम्प्यूटरमै दंग परेर बस्नुभाको छ । सुन्दै नसुनेपछि सुन्ने त गर्नुप¥यो नि ।’ केटी अझै ठूलो स्वरले कराउँछिन्, ‘सुन्नु परेन बोल्नलाई ? कानमा एयरफोन लगाएको बेला कसरी सुनिन्छ त ?’ बाझाबाझ बढ्दै गयो ।
ल ल भैगो । त्यो हाम्रो पासबुकमा कति पैसा छ, आधा दिनुस् । सहकारीमा पुगेका सदस्यले ती केटीलाई भने । केटी पासबुक हेर्छिन् । ए, तपाईंको पैसा आज हुन्न । अध्यक्षज्यू हुनुहुन्न, भोलि आउनुस् । ल जानुस् । पैसा आज चाहिएको छ, भोलि आउनुस् भनेर हुन्छ ? पैसा त आजै पो लानु प¥यो ? चाहियो ।
ती केटीले महत्व दिइनन् ।
फेरि ती सदस्य भन्छन्, ‘कुरो सुन्नु भो कि नाइँ’ मलाई आजै पैसा चाहिएको छ । आज चाहियो भन्दैमा कसरी दिनु त । मेलै भनिसकेँत अध्यक्षज्यु हुनुहुन्छ ? आमैले दुख विसाईन । ‘लौ न नानी औषधी नै खान नपाइने भो । पैसा लिन आउने नानीलाई भनेको । भनेकै दिनबाट हराईन् । म बूढी मान्छे यति माथि बल्ल बल्ल आएँ पैसा झिक्न । अलि चाँडो गर्देऊ न । पैसा चाहियो चाहियो ।’
ल आमा तपार्ईंको त टन्नै पैसा रैछ खातामा । तर के गर्नु आज अध्यक्षज्यू हुनुहुन्न मैले त पैसा दिन सक्दिन । यसो गर्नुस् पर्सी फोन गरेर आउनुहोला । म अध्यक्षज्यूलाई भनेर राखिदिन्छु ।
पैसा नपाउने भए पछि आमै कड्किन्छिन्, ‘त्यसो भनेर कहाँ हुन्छ । बैंकमा आएपछि पैसा छैन भोलि दिन्छु भनेर हुन्छ ? आफ्नै बचत पनि लिन नपाउनु के हो यो ? कति पटक आउने ? अस्ति पनि त्यसै भनेर गएँ ।’
के गर्नु हुन्छ त ? हामी त कर्मचारी हो जे भन्छन्, त्यही गर्ने हो ।
अँः पैसा लिने बेलामाचाहिँ जुनबेला भन्यो त्यही बेला पाउँछ भनेर उठ्न नपाउँदै कोठैमा पुग्ने । अनि अहिले दिने बेलामाचाहिँ अध्यक्ष र को छैन भनेर हुन्छ ? आज त म मरिकाटे पनि पैसा नलिई जाँदैजान्न । बूढी आमैले अड्डी कसेपछि आफ्नो बचत फिर्ता लिन आएका अरूले पनि होमा हो मिलाए ।
तपाईंहरू जे जुकै गर्नुस् । अफिसमा ‘क्यास’छैन क्यारे । भए त दिइहाल्थ्यौं नि । नभएर पो यस्तो भो त ? हामीले राख्न दिएको पैसो छैन भनेर सुख पाइन्छ ? उहाँ दुर्गेले मोबाइलमा खायो खायो भन्दै कराको करै छ । क्या हो क्या हो हाम्रो पनि पैसा डुब्न लागिसक्यो कि ? आजै छैन भनेको छ, भोलि नै छैन भनेको छ । हुनेचाहिँ कहिले हो, थाहा छैन ?
पाको उमेर छिप्पेका लोग्ने मान्छे फ्याट्ट बोल्छन्, ‘उहाँ लघुपित्तले पैसा खाइदिएर विजोक छ । हाम्रै पैसामा ब्याज टन्न असुलेर तपाईंहरूले घरबारविहीन बनाउँदा पनि टुलुटुलु हेरेर बस्नुपरेको छ । यस्तो पनि हुन्छ कतै ?
हुँदैन । तर भयो । हामीले के गर्ने त ? त्यस्तो लाग्छ भने सरकारलाई भन्नुस् । केटीले ओठे जवाफ फर्काई ।
ए आमा हो ! आफ्नै पैसा लिन पनि यस्तो हुन्छ र भन्या ? अर्का व्यक्ति बोल्छ । केटीले भन्छे, ‘हुन्छ त तपाईंले नै भोग्नुभएको छ त ? मैले भन्दिएँ है । तपाईंलाई पैसा दिन सक्दैनौं अहिले जानुस् । दुई–चार दिनपछि फोन गरेर आउनुहोला ? अब हामी पनि जान्छौं ।
कर्मचारीको कुरा कसले मान्ने ? आफ्नै पैसा लिन पनि धाउँदाधाउँदा दिक्क भएकी बूढीआमा आफैं भन्छिन्, ‘जेसुकै गर म त मरे पनि अब जाँदिन । यहीँ बस्छु ।’ अरू पनि त्यसै भन्छन् । तर केटीले बलजफती निकाल्न सफल हुन्छे र सहकारीको ढोकामा ताल्चा मारेर खुरूरू भ¥याङ ओर्लेर टाप कस्छे ! विचरा बूढीआमैलाई रूनु न हाँस्नु भयो ।
गाउँतिर हे¥यो लघुवित्तले स्वाहा, सहरतिर हे¥यो सहकारीले स्वाहा । सहरतिर हे¥यो लघुपित्त र लघुचित्त भएका नेताले राष्ट्रलाई पारेको स्वाहा । आफ्नो जीवनभरको कमाईलाई सहकारी र लघुवित्तले खाइदिएपछि न्याय नपाउँदा पनि सर्कारीले ङिच्च दाँत देखाउँछन् । यसरी बूढीआमैहरूको, निक्षेपकर्ताहरूको सपना चकनाचुर भएको छ ।