नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेताहरुको कार्यविभाजन र जिम्मेवारी तोकेको छ । बैठकले प्रदेश इन्चार्ज र सह इन्चार्ज तोकेर जिम्मेवारी दिएको हो ।
प्रदेश इन्चार्ज र सह इन्चार्ज तोकेर जिम्मेवारी दिएकाहरुमा कोशी प्रदेश इन्चार्जमा उपमहासचिव हरिबोल गजुरेल र सह–इन्चार्जमा सावित्रीकुमार काफ्लेलाई जिम्मेवारी दिईएको छ । त्यस्तै मधेस प्रदेशको इन्चार्जमा सचिव लिलामणि पोखरेल र सह इन्चार्ज स्थायी कमिटी सदस्य विश्वनाथ शाहले जिम्मेवारी पाएका छन् ।
बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटालाई दिइएको छ भने सह इन्चार्ज खालि राखिएको छ । त्यसैगरी गण्डकी प्रदेश इन्चार्ज सचिव दिनानाथ शर्मा र सह इन्चार्ज हरिराज अधिकारीलाई दिइएको छ ।
लुम्बिनी प्रदेशको इन्चार्जमा सचिव चक्रपाणि खनाल र सह इन्चार्जमा कुलप्रसाद केसीले जिम्मेवारी पाएका छन् । त्यस्तै कालिबहादुर मल्ल कर्णाली प्रदेश इन्चार्ज तोकिएका छन् भने सह इन्चार्ज हाललाई तोकिएको छैन ।
बैठकले सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल र सह इन्चार्ज केन्द्रीय सदस्य बिना मगरलाई तोकेको छ । त्यसैगरी प्रवास प्रदेश समिति मध्यपूर्वको इन्चार्ज उपाध्यक्ष पम्फा भुसाल, प्रवास प्रदेश समिति भारत प्रदेशको इन्चार्ज लक्ष्मण पन्त र सह इन्चार्ज टिबी पाठक तथा प्रवास प्रदेश समिति युरोप अमेरिका इन्चार्ज सुरेन्द्रकुमार कार्कीलाई तोकिएको छ ।
त्यसैगरी विशेष प्रदेश समितिको इन्चार्ज हितमान शाक्य र सह इन्चार्ज यशोदा सुवेदीलाई तोकिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । आजको बैठकले चैत्र १५ गतेदेखि मधेस/तराई राष्ट्रिय जागरण अभियान संचालन गर्ने र वैशाख १५ गतेदेखि हिमाल–पहाड–मधेस राष्ट्रिय एकता अभियान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी मिटरब्याजी पीडित लघुवित्त पीडित र दुग्ध उत्पादक कृषकको समस्या समाधानका लागि स्थायी कमिटी बैठकले सरकारको ध्यानाकर्षण समेत गराएको बताईएको छ ।