आजबाट गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुदैछ । प्रदेशसभाको हिउँदे अधिवेशन दिउँसो २ बजेबाट सुरु हुने भएको हो ।
आजबाट सुरु हुने प्रदेशसभाको हिउँदे अधिवेशन बैठक दिउँसो २ बजे बोलाइएको छ । अधिवेशन सुरु हुनुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर कार्यसूची तय गर्ने तयारी रहेको बताईएको छ ।
प्रदेश सरकारका प्रवक्तासेत रहेका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक यो अधिवेशनमा पेश हुने जानकारी दिएकी छन् ।
त्यसैगरी आजको बैठकमा प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक पनि सदनमा पेश हुने बताईएको छ ।
यसअघि गण्डकी प्रदेशको आमसञ्चारसम्बन्धी व्यवस्था गर्न विधेयक र सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश मामिला तथा कानुन समितिद्वारा सर्वसम्मत पारित भइसकेको छ ।