जनमतमाथि घात, जिम्मेवारीमाथि घात, जवाफदेहीतामाथि घात, संसदमाथि घाट, संविधानमाथि घात, प्रशासनमाथि घात, घातैघात ।
देश घातैघातको खातैखातैममाथि उभिएर मर्नु न बाँच्नुको अवस्थमा रहेको छ, लोकनेताहरू लोकमाथि न्वारानको बल लगाएर घात गरिरहेछन् ।
घात भएपछि केको संविधान, केको विधि ? घातीका लागि सबैभन्दा महत्वपूर्ण भनेको उसको स्वार्थ हो । स्वार्थमा डुबेपछि ऊ विवेकहीन हुन्छ । विवेकहीन हुनु भनेको मान्छे मान्छे नरहनु हो । देशभित्रका राजनीतिक घटनाक्रम हेर्दा लाग्छ, हामी अँध्यारो सुरूङभित्र बाँचिरहेका छौं । अमान्छेको शासनको सकसमा बाँचिरहेका छौं ।
जनयुद्ध, जनआन्दोलन गर्नेहरूले ठूलै क्रान्ति गरेको फुइँकी लगाउन छाडेका छैनन् । हो, त्यतिठुलो क्रान्तिमा चेतनाको विकासचाहिँ भएको छ । जुन चेतना आफ्नालागि, समाज र देशका लागि काम लाग्दैन र आँखा चिम्लेर राजनीतिकरणको कित्ता कित्तामा बाँडिन तैयार हुन्छ, त्यो चेतनाले यतिबेला नेपालमा काम गरिरहेको अवस्था छैन । मान्छेहरू बथानका बथान बनेर दलका नारा लगाइरहेका छन् । किन नारा लगाएको लगाउने नागरिकलाई अत्तोपत्तो छैन । कस्तो लोकराजनीति हो यो ?
देश बनाउने सिपाहीले हो । सिपाही चरित्रले हो । सिपाही भनेको युवा हुन्, युवाको जुझारूपनले देश बन्छ ।
नेपालका युवाहरू निकासी भइरहेका छन् । तिनले विदेशमा मर्नु न बाँच्नुको काम गरेर पठाएको रेमिटान्सले देश चलिरहेको छ । लोकतन्त्रमा लोक असुरक्षित छन् । युवा देशमा भविष्य नदेखेर विदेशतिर भागिरहेका छन् ।
चुस्ता लगाउँदैमा कोही सिपाही हुँदैन । भाषण गर्दैमा कोही राजनेता बन्दैन । व्यभिचार गरेर ठूलो पदमा पुग्दैमा कोही शासक वा प्रशासक बन्दैन । न्याय गर्न खुट्टा कमाउने न्यायाधीश भनेको पनि परालखुट्टे नै हो ।
यस्तै यस्तै राजनीति छ, प्रशासन छ, नेता छन्, संसद छन् । बुद्धिजीवी र चेतनशील छन् । हरेक व्यक्ति पार्टीका पछि लागेका छन् । गलतलाई गलत भन्ने कोही नभएपछि पदमा बस्नेहरू, प्रभावशालीहरू अविवेकी हुनेनै भए ।
देशमा विवेकहीनता छताछुल्ल छ, न्याय मर्दै गएको छ, न्याय मार्नेहरू शासन र प्रशासनमा गजधम्म बसेका छन् ।
नुवाकोटको तारूकेमा गोरू जुधाए, जुधेझैंको परिदृश्य देखिन्छ । गोरू जुध्ने हो, कहिले कसको, कहिले कसको सिङ् भाँच्ने हो । केही समयपछि मिलेर घाँस खाने हो । नेपालको राजनीति र गोरू जुधाइमा केही फरक देखिदैन । युवाजति विदेशीएपछि मै हुँ भन्नेहरूले देश र जनताको हक र हितलाई पराल सम्झेर जति खाए पनि भयो, जति उग्राए पनि भयो ।
लोकतन्त्र आयो, जनता नागरिक भए, हामी सार्वभौम भयौं भन्ने भ्रम छरिरहेकाहरू भ्रमको राजनीति गरिरहेकै छन् । यिनलाई गोरू बनाएर जुधाउनेहरू देश विदेशी शक्तिहरू छन् । यिनीहरूभित्रको स्वार्थ छ । देश बनाउँछु भन्नेहरू आफू आफूमै जुध्नु भनेको अर्काको रिमोटमा नाच्नु हो । जसरी टेलिभिजन चलिरहेका छन्, त्यसैगरी नेपाली राजनीतिमा परिदृश्यहरू समय समयमा फेरिनेक्रम जारी छ । जनताका लागि कौवालाई बेल पाकेसरह छ लोकतन्त्र ।
स्वराज चाहने, स्वाधीनहरू यसरी अस्थिरतामा नाच्दैनन् । देश बाढी आए बाढीपहिरोमा पर्छ, सुख्खा लागे सुख्खा पहिरोमा परिरहेकै छ । पहिरोबाट देश र नागरिकलाई बचाउनेहरू यसरी राजनीतिक पहिरो निम्त्याउँदैनन् । आफैले अराजकता सिर्जना गरेर यसरी हाँस्दैनन् । यी कति स्वाधीन छन् ?
खाँचो प¥यो सोल्जरको । किनकि देश देशजस्तो नभएर हाटबजारजस्तो भयो । मधुशाला अथवा दोहोरी साँझजस्तो वातारण देश हुनसक्दैन । मान्छेका सीमा हुन्छन्, देशको सीमा हुन्छ, संविधानको सीमा हुन्छ, लोकाचार हुन्छ । पदमा बस्नेहरूको जिम्मेवारी हुन्छ, जवाफदेहीता हुन्छ । छैन, सदाचार छैन । यतिबेलाको नेपालमा नाङ्गाहरू नाचिरहेका छन् । २१औं शताब्दीमा फड्को मार्ने जमर्को कुवाको ब्याङ् भएर सम्भव छैन । नक्कली जनयुद्ध र जनआन्दोलन साबित गर्नेहरू सोल्जर होइनन् । खाँटी सोल्जर नभएकाले देश व्यवसाय, बजार र व्यापार बन्दै गएको छ । व्यापारीहरू जनतालाई मुस्ताङ्को चौंरीको जसरी रगत झिकेर बेचिरहेका छन् । यी जुका हुन्, रगत चुसिरहेका छन् ।
औरङ्गजेबको व्यक्तिगत हतियार थियो– खञ्जर (छुरा) । सार्वजनिक रूपमा दण्डित गर्नुपरे काँडे कोर्रा
(बागन्याक–फलामको काँडे पञ्जा) थियो । जसले स्वराजप्रति घात गर्छ, त्यसलाई औरङ्गजेवले फलामको काँडे पञ्जा छाती र भुँडीमा धस्थे । त्यसैले त सन १६५७ देखि १७०७ सम्म सोल्जरको जीवन बाँचे, सोल्जरको मृत्युवरण गरे । उनको समय स्वाधीन थियो ।
के के न हुन्छ भनेर जनताले बहुदल ल्याए, भ्रष्टाचारमात्र आयो । लोकतन्त्र ल्याए, नैतिकपतनमात्र जन्मायो । स्वराजमाथि पलेटी कसेर खाने भोजनभट्टहरू जनताको खोज थिएन । जनताले अस्ती, हिजो र आज पनि पाएको धोकामात्र हो । नेपालको स्वराज संकटग्रस्त भइसकेको छ । यो संकटको समाधान स्वराजमाथि घात गर्ने प्रवृत्तिको छाती र भुँडीमा औरङ्गजेवले हानेजस्तो काँडे कोर्रामात्र हुनसक्छ । कोर्रा हान्ने कसले ? समयले उठाएको यक्ष प्रश्न यही हो ।
भारतले कालापानी, लिपुलेक सबै खाइसक्यो । ६७ हजार हेक्टरभन्दा बढी नेपाली भूभाग निलिसक्यो । कसैलाई चिन्ता र चासो छैन । जो उभिएको भूमिको रक्षा गर्न सक्दैन, ऊ लोकतन्त्रवादी ? असंलग्नता किन कमजोर भयो, यसबारे कोही छलफल नै गर्दैनन् । सार्क किन मारियो, यो विषय कुनै मुद्दा नै बनेको छैन । राजतन्त्र र हिन्दुराष्ट्र किन मिल्काइयो, ०६३ सालदेखि १४ वर्षमा पनि यसबारेमा छलफल भएकै छैन । हामी अग्रगमनकारी ?
लोकतन्त्रको १७ वर्षमा के के परिवर्तन भयो ? कसैले भन्नसक्छ ? बोल्न पाउनुमात्र लोकतन्त्र हो ? बोलीको ओजन हुनुपर्दैन ? कति रोजगारी बढे, कति उद्योगधन्दा खुले, युवायुवतीहरू विदेश किन भागिरहेका छन् ? तिनले स्वदेशमै गरिखान किन पाएनन् ? सुशासनको प्रत्याभूति कति बढ्यो ? इमान र विश्वासमा कति बढोत्तरी भयो ? जवाफ दिने लोकनेता को को छन् ?
संविधानसभाले संविधान बनायो, संविधानले दुईपल्ट चुनाव गरायो, उपलब्धि भनेको भ्रष्टाचारको महामारीमात्र हो ।
हरेक पार्टी प्रश्नमाथि उभिएका छन्, सत्ता सडकमा छ, संविधान सडकमा छ, निर्वाचन आयोगदेखि सर्वोच्च अदालतका न्यायाधीशसम्मलाई घेर्ने र तानेर घिसार्ने सम्मको अतिवाद सडकमा छ । जनयुद्ध र जनआन्दोलनको उपलब्धि भनेर नथाक्नेहरू कत्ति हिचकिचाउँदैनन् र भन्छन्– देश र जनताप्रति जिम्मेवार छौं । यो भ्रम हो र यो भ्रमको खेती भइरहेकै छ ।
गोहीले आँसु झारी झारी मान्छे खानु र लोकतान्त्रिक अपराधिकरणमा नागरिक अन्यायमा पर्नु उस्तै उस्तै हो । नेपालमा लोकतन्त्र सतीको सरापभन्दा कडा रोग बन्नपुगेको छ ।
कांग्रेसका शेरबहादुर असफल भए, एमालेका ओलीमात्र होइन, माओवादीका प्रचण्ड पनि असफल भए । निरङ्कूश हटाउन परिवर्तन आयो, हदैसम्मको निरंकूशता हावी छ ।
केही समयअघि भारतको त्रिपुरा राज्यमा पुगेर गृहमन्त्री अमित शाह र मुख्यमन्त्री विप्लव देवले अब नेपाल र श्रीलंकामा भाजपाको सरकार गठन गर्न बाँकी छ भनेर बोले । देशै उल्ट्याउने खालको यति गम्भीर मामिलामा राजनीतिक नेतृत्व बोलेनन् । भारतका विदेशमन्त्री नेपाल आए, पूर्वप्रधानमन्त्रीसम्म लाइन लागेर भेट्न पुगे । यस्तो चरित्र कसरी स्वराज, सार्वभौम, स्वाधीन हुनसक्छ ? यसैले भनिएको हो– औरङ्गजेवले स्वराजविरोधीको छातीमा हानेजस्तो बागन्याक उठ्न जरूरी छ । सोल्जर छैनन्, काँडे कोर्रा हान्ने कसले ?
अक्षम राजनीतिका कारण आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रहरू अतिक्रमणमा पर्दै गएका छन् । देशको स्वाधीनता, संवेदनशीलताका अङ्ग प्रत्यङ्गहरू हरेक दिन बलात्कारमा पर्दै गएका छन् । यो स्थिति फिजीकरण, सिक्किमीकरण उन्मुख अवस्था हो । स्वराज घाऊ चहराएर घाइते छ, स्वराजका अङ्गरक्षकहरू हत्याराहरूको साजिसका मतियार बनिरहेका छन् ।
समय समृद्धि र शान्तिको हो । नेतृत्वमा बस्नेहरू समयको आहटलाई सुन्दैनन्, विदेशीको कानुखुशीलाई महत्व दिन्छन् । स्वार्थ पूरा गरेर आत्मरतीमा रमाउनैकै लागि हाम्रा नेताहरू स्वाधीन राष्ट्र, स्वतन्त्र नागरिक, सार्वभौम माटोमा उभिन सकेनन् । रक्षा गर्न असफल भए । नेतामा नैतिक पतनको महगो मूल्य देश र देशवासीले चुकाउनु परिरहेछ ।