शहीदका सालिक, घोढा चढेका जंगबहादुर र त्रिभुवन पनि जिल्लाराम छन्– टुडिखेलको शहीद दिवस देखेर । बसन्तपुर स्थित जुद्धशमशेरको सालिक र त्रिपुरेश्वरबाट त्रिभुवनको सालिक पूर्व र उत्तरतिर फर्केर मुसुमुसु हाँसिरहका देखिन्छन् । यी दुईको पूर्वीय मोहडा र उत्तरी मोहडाले कता कता के कस्ता उत्सुकता थपिरहेको होला ?
यता १९९७ मा निरंकुश राणा शासनका विरूद्ध लागेका राजा त्रिभुवन र त्यही राणा शासनका अन्तिम प्रधानमन्त्रीको मुहार चम्किरहेको देखेर सिंहदरबार हेर्दै राणाहरूले मृत्युदण्ड दिएका चार शहिदहरू खित्का छाँडेर हाँसिरहेका छन् । शहिदहरूको अट्टाहस हाँसोले सैनिक मञ्चमा दक्षिण फर्केर विराजमान भएका सत्ताधारीहरू रीसले चुर हुन्छन् होला ? हरेक फागुन सात गर्ने यस्तै यस्तै रमिता देखिन्छ ।
टुँडिखेलको पूर्वी छेउमा रहेको बुढो रूख पनि मरिमरी आफ्ना भएभरका जगल्टा हल्लाउँदै खुच्चिङ्ग खुच्चिङ्ग भन्दै भाँचिएका कुम हल्लाईरहेका छन् । बुढो रूखले आफ्ना जगल्टा हल्लाउन थालेपछि चार शहिदका सालिकहरू प्याट्टप्याट्ट ताली पट्काएर खिसिटिउँरी गर्दैछन् ।
उता जुद्ध सम्शेर रिसले चुर भएर न्यूरोड गेट मै पुगौला जस्तो गरिरहेका छन् । जुद्ध शम्शेरको आक्रोश देखेरै होला धर्मभक्त, गंगालाल, शुक्रराज र दशरथ चार जना हेराहेर गर्छन् । धर्मभक्त गंगालालसँग कानेखुशी गर्दै भन्छन्, होइन हो गंगाजी जिउँदोमा त यिनको आक्रोशमा नडराएका हामी, अव सालिक हुँदा डराउँछौ होला र ? धर्मभक्तको कुरा सुनेर गंगालाल भन्छन्, ‘हामी नडराएकै भएर त आज सालिक भएका छौं नि ! डराएका भए त हामी कहाँ यहाँ हुन्थ्यौं र ऊ ती अपराधीहरू बसेका ठाउँमा हुन्थ्यौं नि ?
गंगालालको कुराले अर्का शुक्रराज खित्का छाड्न थाल्छन् । उनको खित्काले गंगालाललाई अलि पारा चढेछ क्यार ? शुक्रराजलाई अलि हपार्दै भन्छन, किन हाँस्नु भो ? अलि बढी भएन र ?
शुक्रराज उत्तर दिईहाल्छन्, तपाईका कुरा सुनेर हाँसेको । बढी भए होस् । त्यो सैनिकमञ्चमा दक्षिण फर्केर बसेकालाई अपराधी नामाकरण गरिदिनु भो । त्यही भएर हाँसो उठेको हो मलाई ।
गंगालाल भन्छन्– गल्ती भो र ?
शुक्रराजले भने, ‘के गल्ती के सही अहिले त भन्न पनि गाह्रो भएको छ ’। तपाईलाई जत्तिकै रीस ती जुद्ध शम्शेरलाई पनि उठेको रहेछ । त्यही भएर हो उनी पनि आक्रोशित भएका तपाई हामीलाई देखेर होइन, ती जिउँदा शहिदहरूको ठाँट देखेर नै ती राणा आक्रोशित भएका हुन् !
शुक्रराज र गंगालालको गफ सुनिरहेका धर्मभक्तलाई कता कता चिसो पसे जस्तो भईरहेको छ । पूर्व फर्केर उत्तर नियाली रहेका धर्मभक्तले सोधी हाले,‘ किन यो प्रसंग चलाईरहनु भएको छ ? कथा अन्त्यै पो मोडियो कि ?
हो तपाईले भनेको कुरा जस्तै भयो । हामीले जे सपना देखेका थियौं त्यो सपना अहिले मोडियो । सवै आफ्नो स्वार्थ अनुकूल अगाडि बढ्न थाले । देश ओरालो लागिरहेको छ । हामीले प्राण आहुती दिएपछि पनि पटक पटक भएका आन्दोलनमा धेरै नै प्राण दिएँ र पनि मुलुकले काँचुली फेर्न सकेन । धर्मभक्तले मनका कुरा भनिहाले ।
दशरथ आज त्यत्ति बोलिरहेका छैनन् । उता त्रिपुरेश्वरबाट नियाली रहेको त्रिभुवन पनि मुसुमुसु हाँसिरहेका । जुद्ध सम्शेरको निकै रौद्र रूपमा देखिएका छन् । राणाहरू सकाएर जनतालाई अधिकार सुम्पने त्रिभुवनको मन्द मुस्कानले केही न केही त संकेत गरेको छ नै ।
त्रिभुवनको मन्द मुस्कानलाई भद्रकाली छेउको बुढो ठुटो रूखले आफ्ना करङ्गहरू बजाउँदै शंखघोष गरे झै ट्वाङ्ग ट्वाङ्ग पारिरहेको छ । बुढो ठुटो रूखका कर्रकसो आवाजले मौन बसिरहेका दशरथलाई अलि सह्य भएन र सोधिहाले । आज तिमी किन कर्कसो भईरहेका छौ । के भो तिमीलाई उनले प्रश्न गर्छन् ?
दशरथ चन्दलाई बुढो रूखले भन्छ । म जत्तिकै बुढो यो पर्जातन्त्रको अवस्था देखेर दया लाग्यो । मत कम्तिमा अलि अलि जगल्टा फिँजाउन सक्छु । केही केही संकेत गर्न सक्छु । तिमीहरूले त ठिङ्ग उभिनु बाहेक के नै पो गर्न सक्छौं । तिमीहरूले बगाएको रगतको मूल्य यी जिउँदा शहिदहरूले कसरी तिर्लान् ? भनेर यसो झकझकाएको मात्र हुँ । त्यसै उता जुद्ध शम्शेरको आक्रोशमा यता त्रिभुवन मुन्टो बटार्न सकिरहेका छैनन् । ०७ सालमा आएको पर्जातन्त्र परऽ जाऽ तन्त्र भएछ । तिमी बुढो रूख जस्तै बुढो भएछ क्यार त्यही भएर यो सैनिकमञ्चमा बुढा बुढा दुईचार दर्जन जिउँदा सहीदहरू सेनाको सलामी खाएर मलामी जान खोजिरहेका छन् । दशरथले मुटुमा बिझ्ने कुरा गरे ।
टुडिखेल छेउको बुढो रूख अझै खुशी हुँदै भन्छ, ‘हो नि दशरथ तिमीले भने जस्तै भएको छ । जनतालाई प्रजातन्त्रप्रति कुनै उत्साह नै देखिएन ।
अस्ति पुस १७ गते त्रिभुवन चौरीमा घाम ताप्न आका थिए दुईमाना बदाम लिए । त्यही बेला उनले पनि त्यस्तै दुखेसो गर्दै थे । मेरा नातीले थोरै गल्ती गर्नाले आज हामीले निर्माण गरेको देश अरूले चलाईरहेको छ । अनि हामीले हिन्दूस्थानसँगको सहकार्यमा ल्याएको पर्जातन्त्र कै मलामी पो जानु पर्ने जस्तो भएको छ ।
दशरथ भन्छन्, होइन हो धर्मभक्त जी उ त्यहाँ पर हेर्नुस् त ? पर्जातन्त्रको उत्साह भनेको दुईचार जना सिपाहीले सलामी ठोकेर गर्ने हो ? जसले पर्जातन्त्र ल्याउनका लागि लड्ने सपुतहरूलाई गोलीले उडाए उनैले पो मनाउँदै छन् त प्रजातन्त्र ! कहाँ गए राजनीतिज्ञहरू ? कहाँ गए तपाई हामीले बर्गसंघर्ष गर्न सिकाएका ती कार्जेकर्ताहरू ? हत्याराहरुको पो हालीमुहाली छ त ?
दशरथको प्रश्नको उत्तर विचरा धर्मभक्तसँग के हुन्थ्यो । त्यो उत्तर न त गंगालालसँग छ शुक्रराजसँगै थियो । उनीहरू त त्यही पर्जातन्त्र ल्याउनका लागि फाँसी चढे र आज यो दिन आयो ? तर यही दिन ल्याउनेहरू सालिक बनिरहँदा ७३ बर्षिय बुढा प्रजातन्त्र मासिने खतरा बढ्दै गयो भन्छन् नयाँ सडकबाट जुद्धशम्शेर । जुशशम्शेरको रौद्र रूप त त्यही सैनिकमञ्च भित्र दक्षिण फर्केर बसेका जिउँदा शहिदहरूका लागि पो रहेछ । जसले जनताले महसुस गर्ने र उत्लास हुने गरी पर्जातन्त्र ल्याउन नै सकेनन् । पर्जातन्त्र त यिनीहरूका लागि कमाई खाने भाँडो पो भएछ त ?
यता चारजना शहिदहरू सैनिक मञ्चमा बसेका बज्रस्वाँठहरूलाई धारे हात लगाउँदै छन् । उताबाट त्रिभुवनले त्रिपुरेश्वरबाट नै देश साइँदुवाहरू भनेर गाली पो गर्दछन् । विचरा प्रजातन्त्र जस्तै ७३ बर्षे बुढा रूख आफ्ना जगल्टा नभएका करङ्गहरू बजाउँदै सचेत गराउँदै छन् ।
तर पर्जातन्त्रको ढोल पिट्नेहरू सैनिकको हेलिल्याडबाट खसाएको पुष्पबृष्टिमा दंग पर्दै सेनाको टुकडीले बजाएको बाजामा रमाउँदै आफ्नै भाग्यमा खरानी धस्दै जनतालाई आतंकित पो पार्दैछन् । बुढो प्रजातन्त्रलाई पुष्पाञ्जलीसँग तिलाञ्जली दिँदैछन् । चार शहीद मात्र होइन जुद्धशम्शेर र त्रिभुवन पनि यिनका चर्चिकलाबाट दिक्क भएर गहभरी आँशु पो बगाउँदैछन् अव कहिल्यै नआओस् फागुन ७ भनेर ।