प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको रिक्त रहेको एक-एक पदको उपनिर्वाचन आगामी वैशाख १५ गते हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।
निर्वाचन आयोगले रिक्त रहेको दुई पदको निर्वाचन आगामी वैशाख १५ गते शनिबार गर्ने निर्णय गरेको बताईएको छ । नेपाल सरकारसँगको परामर्शमा आयोगले उपनिर्वाचनको मिति आगामी वैशाख १५ गतेलाई तोकेको आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालले जानकारी दिएका छन् ।
प्रतिनिधि सभा सदस्यतर्फ इलाम-१ र प्रदेश सभा सदस्यतर्फ बझाङ-१ (१) रिक्त छ । प्रतिनिधि सभा सदस्यतर्फ इलाम-१ का एमाले संसदीय दलका उपनेतासमेत रहेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम-१ रिक्त भएको हो । त्यसै गरी प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन हुँदा बझाङ १ (१) रिक्त भएको थियो ।
प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी हुँदा कुनै सदस्यको स्थान रिक्त भएमा निर्वाचन प्रक्रियाद्वारा पूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको हकमा निर्वाचन आयोगले नेपाल सरकारसँगको परामर्शमा उपनिर्वाचनको मिति तोक्ने कानुनी व्यवस्था छ ।