चरीमाई नेपाली समाजको यथार्थ चित्र बोकेको उपन्यास हो । यो हामी सबै पाठकले पढ्नै पर्ने कृति हो । यो उपन्यास अन्जना पौडेलले लेख्नुभएको हो । उपन्यासले सामजको सटिक विश्लेषण गरी परिवार ,समाज र राज्यलाई समेत जिम्मेवार बन्न आग्रह गरेको छ ।
चरीमाई उपन्यास नेपाली, समाजले देखे÷भोगेका यथार्थ घटनामा आधारित छ । यसमा आफ्नै दाजुभाइ, श्रीमान् बुबा, भाइभतिजबाट पैसाको लोभमा परेर आफ्ना कोमल चेली छोरीहरूको मनको भावना नबुझी कलिलै उमेरमा बिहे गरिदिएकाले बम्बैको कोठीमा बेचिन पुगेका नारीहरूको दर्दनाक कथा व्यथा समेटेर तयार पारिएको उपन्यास हो । विशेषत यो उपन्यास चेलीबेटी बेचबिखनमा परेका सम्पूर्ण सीमान्तकृत दर्दनाक पीडा खेपेका चेलीहरूको सामूहिक स्वर हो भन्न पछि परिन म । सरकारले जतिसुकै कडा कानुन बनाए तापनि आजसम्म चेलीबेटी बेचबिखन जस्तो अपराध रोकिन सकेको छैन । समाजका नारीहरू शिक्षित र विकसित हुँदै गएका छन् भनिन्छ यसो भन्नुको अर्थ पनि कोरा कागजमा मात्र सीमित भएको र व्यवहारमा लागु नभएको तितो सत्य हामीलाई अवगतै भएको कुरा हो ।
चेलीबेटीहरू आफ्ना घरपरिवारकै सदस्यहरूबाट सुरक्षित हुन नसक्नु यो चेलीबेटीको कमजोरी भन्दा पनि स्त्रीलम्पट पुरूषको मनोविकार र अपराधीलाई सरकारले कानुनी कठघरामा उभ्याउन नसक्नु मूल समस्या हो । समाजसँगै सरकारी निकायको कमजोरी छ जस्तो मलाई लागेको हो । हामी सबैले भन्दै आएको कुरा हो चेलीबेटी बेचबिखन अपराध हो यो बन्द हुनुपर्छ र बेचिएका चेलीहरूको सकुशल उद्धार । उद्धार गरिएका चेलीहरूले सम्मानित पेसा गरी सुखद जीवन बाँच्न पाउनुपर्छ । यसका लागि परिवार, समाज र सरकार जिम्मेवार बन्नु जरूरी छ ।
प्रस्तुत उपन्यासमा उल्लेख गरिएको सङ्घर्षका धेरैजसो कथावस्तु यही मूल मर्म बोकेकी सामाजिक अभियन्ता चरीमाया तामाङको जीवन भोगाइसँग मेल खाएको मैले पाएँ । घटनावस्तु मिल्ने र नाम पनि मिलाएर राखिएको हुँदा धेरै पाठकहरूलाई चरीमाया तामाङकै जीवन सङ्घर्षमा आधारित कथावस्तु उपन्यासको रूपमा ल्याइएको हो कि भन्ने आभास दिइरहेको छ । यो हो कि होइन भन्ने कुरा त लेखक अन्जना वा समाजसेवी तामाङ शक्ति समूह नेपालकी चरीमाया तामाङलाई थाहा होला ।
आफूलाई बेच्ने अपराधीहरू विरूद्ध कानुनी कारबाहीका लागि हिम्मतकासाथ उनी डटेकी र अपराधीहरूलाई सजाय दिलाउनसमेत सफल भएकी चरीमाया तामाङ एक साहसी महिला हुन् । उनी आफ्नै पहलमा अन्य बेचिएर जीवनदेखि हरेस खाएका महिलाहरूको उद्धार गरी प्रेरणाको स्रोत पनि बनेकी छन् । उनले गरेका विभिन्न सामाजिक कार्यहरूमा महिला उत्थान पनि महत्त्वपूर्ण छ । समाजसेवी चरीमायाका कामहरूको मूल्याङ्कन गर्दै नेपाल लगायत विश्वका अन्य राष्ट्रहरूले पनि उनलाई सम्मानित गरेको विषय पनि कतै लुकेको छैन ।
अन्त्यमा यो चरीमाई उपन्यास स्कुलमा पढ़ने किशोर अवस्थाका केटाकेटीहरूले पनि पढ्न पाएको खण्डमा उनीहरूको चेतना स्तर वृद्धि भई दलालहरूको पन्जाबाट बचेर हजारौँ निर्दोष चेलीबेटी नारकीय जीवनबाट मुक्त हुन सक्नेछन् । यिनले जीवनमा भोग्नुपरेको दुर्दशा दोहोरिने थिएन । चेलीबेटी बेचबिखन जस्तो आपराधिक क्रियाकलापमा पनि कमी आउने थियो भन्ने मलाई लागेको छ । यसतर्फ सरकार र सरोकारवालाहरूको ध्यान जाओस् र चेलीबेटीलाई समयमै सुरक्षा दिन सकियोस्, भोलिका दिनमा यो समस्याले भयानक स्थिति नल्याओस् भन्दै सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु । उपन्यासकार अन्जना पौडेललाई समाजलाई घचघच्याउने खालको सामाजिक समस्या उठाएर उपन्यास जस्तो गहन कृति दिन सफल भएकोमा बधाई । आउँदा दिनमा अझ सशक्त उपन्यास पढ्न पाइयोस् भन्ने अपेक्षा सहित कृति सफलताको हार्दिक कामना पनि छ । – सुशीला ढकाल अधिकारी