Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

ज्ञानेन्द्र शाह - जहिर शाह बन्ने कि नरोद्दम सिंहानुक ?

राजन कार्की

०८ मंगलबार , फाल्गुण २०८०९ महिना अगाडि

ज्ञानेन्द्र शाह - जहिर शाह बन्ने कि नरोद्दम सिंहानुक ?

राजतन्त्र वर्तमान कालखण्डमा नेपालको राजनीतिक मुद्दा बनेको छ । २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन गर्नेहरू नै यो मुद्दामा अल्झिन पुगेका छन्, गणतन्त्र कार्यान्वयन गर्न असफल शिद्ध भइसकेका छन् ।
अफगानिस्तानका राजा जहिर शाहलाई किनारा लगाएपछि उनी फर्केर आएनन्, अफगानिस्तान बम बारूदको धुवाँमा रङ्मङ्गिरहेको छ । कम्बोडियामा नरोदम सिंहानुकले पुनरागमन गरेपछि शान्ति र समृद्धिको मार्गमा लागिरहेको छ । १४ वर्ष भयो राजतन्त्र फालिएको, अराजकताको रोगले नछाडेले नेपालमा सिंहानुकको चर्चा सुरू भएको छ । किनकि राजा आउ देश बचाउ भन्दै देशैभरिका नागरिक सडकमा निस्कन थालेका छन् । नागरिक राष्ट्र हो । राष्ट्र सडकमा निस्कदा बहदुल आयो, लोकतन्त्र आयो, राजतन्त्र गयो, राजतन्त्र फेरि आउँछ ।
सन १९५३ मा स्वतन्त्र भएपछि १७ वर्ष राजतन्त्र रहेको कम्बोडियामा राजा थिए नरोदम सिंहानुक । उनीमाथि ठूलो षडयन्त्र गरेर १९७० देखि ७५ सम्म खमेरूजको आतंकपूर्ण शासन चल्यो । राजा लखेटिए । १९७५ देखि १९९३ सम्म जनगणतन्त्र कम्बोडिया बनेर चल्यो र लाखौंलाख जनता काटिए, मारिए, लुटिए । अन्तमा जनताले नै बिद्रोह गरेपछि १९७३ मा पुनःराजतन्त्र स्थापित भयो र कम्बोडिया आफ्नै तरिकाले शान्तिपूर्ण सुशासन र स्वाधीतामा फर्किएको छ । तर, १९७३ मा अफगानिस्तानबाट राजा जहिर शाह लखेटिए । त्यसपछिका ४८ वर्ष अर्थात आजसम्म पनि कावुल आतंकको छायाँमा छ । बैधानिक र अवैधानिक शासनवीच आतंककारी साँढे जुधाइ जारी छ । अमेरिकनदेखि अनेक देशका सैनिकले अफगानिस्तानमा अड्डा जमाउँदा पनि अफगानिस्तानमा शान्ति हुनसकेन । हरेक दिन बम पड्किरहेका छन्, मान्छे मार्नेक्रम जारी छ । अफगानिस्तानको भाग्य र भविष्य बमगोला पड्किनु र मृत्युको समाचार बनिरहनुमा सिमित हुनपुगेको छ । चीनबाहेक विश्वले अझै अफगानिस्तानको तालिवानी शासन स्वीकारिसकेको अवस्था छैन ।
अफगानिस्तानमा झैं नेपालमा पनि २०६५ साल जेठ १५ गते ‘ह्वाइट कू’ भयो । राजतन्त्र किनारा लाग्यो । तर नेपालमा हिन्दुधर्म र राजतन्त्रको मुद्दा उठिरहेकै छ र यतिबेला त आमनागरिक राजतन्त्र पुनःस्र्थापना गर्न सडक आन्दोलनमा निस्किएका छन् । धन्न नेपालमा विदेशी सेना तैनाथ भएको छैन, अहिलेसम्म नेपालीले आफ्नो निर्णय आफै गर्नसक्ने वातावरणमा छन् ।
पद्धति परिवर्तन भए पनि नेपाल शान्त, स्थिर र सकारात्मक रहनसकेन । कुनै पनि पार्टी अथवा नेताले नेपाल र नेपालीको विश्वास जित्न सकेनन् । बिगत १५ वर्षको राजतन्त्रबिहीन दिनहरूमा पार्टीतन्त्र र नेताको हैकमतन्त्र चलिरह्यो । सेटिङ र सिण्डिकेटका कारण नेपालमा नाम लोकतन्त्र रहे पनि लूटतन्त्र चलिरह्यो । यहीकारणले हो आम नागरिक यो पद्धिसँग खुशी छैनन् । हरेक नेतालाई घृणा गर्छन् । नेपाली जाति जतिपनि कष्ट सहेर सबर गर्न सक्छन् । त्यो सबरको सीमा नाघेछ, जनता सडक बिद्रोह गर्न बाध्य भएका छन् ।
२०६५ सालसम्म राजतन्त्र थियो । राजा निरंकूश भए भनेर जनतालाई राजाविरूद्ध सडकमा उतारियो र त्यही बलमा राजतन्त्र निर्मूल पारियो । जनादेशका नाममा ‘ह्वाइट कू’ गरियो । तर आमनागरिक यो परिवर्तनलाई अव मान्ने पक्षमा छैनन् । जनताले राजा आउ देश बचाउ भनेर झन झन चर्का नारा लगाइरहेका छन् ।
पूर्वराजाको आह्वान छ– मिलेर राष्ट्रिय संकट दूर गरौं, सहमतिको राजनीति गरौं । उनको आवाज दलहरूको बेवास्तामा परेको छ ।
ठूला पार्टीहरूले पेलेरै अघि बढ्ने नीति लिएका छन् । अहिले गरेको भूल पछि न्याउरी मारी पछुतो नहोस् ।
स्मरणीय छ, राजपरम्पराअनुसार हरेक पर्वपर्वमा पूर्वराजाले जनताप्रतिको आफ्नो सान्निध्यता जनाइरहेका छन् । जनताले स्वागत र अभिनन्दन गरिरहेकै छन् । यो क्रम दिनदिनै बढेर गएको छ । पूर्वराजाको लोकप्रियता शिखरमा पुग्यो, शिखरमा पुगेका राजनीतिक नेतृत्व भुइबाट खाडलतिर जाकिदो छ । यही सन्दर्भमा पछिल्लो सन्देशमा पूर्वराजाले ‘देश र जनता अभिभावकविहीन भएको अनुभूतिसहितको सन्देश दिए । सहमतिका साथ अघि बढौं भने । यो सन्देश सार्वजनिक भएपछि देशैभरिका जनता झन उर्लिएर संवैधानिक भनिएको लूटतन्त्रको बिरोधमा सडकमा निस्किएका छन् । राज्य दमनले राजतन्त्र पुनस्र्थापना गर्ने आन्दोलन रोकिन्न भनिरहेका छन् ।
जनता सडकमा निस्किएकाले ‘जनता अभिभावकविहीन भए’ भन्ने सन्देश दिएर पूर्वराजालाई चुपचाप बस्ने छुट छैन । पूर्वराजाले निर्णय गर्नैपर्छ– जहिर शाह बन्ने कि सिंहानुक ? सम्भवतः पूर्वराजा आमनागरिकका साथ जुन तरिकाले अन्तरकृयामा जुटेका छन्, सांकेतिक निर्णय हो ।
पूर्वराजा जनताका माझ गइरहेका छन्, देशैभरिबाट पूर्वराजाको अभिनन्दनका लागि आग्रह आइरहेका छन् । पूर्वराजा सहभागी भइरहेका छन् । देखिन्छ, पूर्वराजा सिंहानुकको मार्गमा छन् ।
जहिर शाहले गद्दी त्याग गरेपछि दावी गरेनन् । सिंहानुकले आफूलाई पदच्यूत गर्नेहरू विरूद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय समर्थन गुहारे, चीनमा बसे र आमनागरिकसँग जुटिरहेका थिए, अन्नत १९९३ मा २३ वर्षपछि सिंहासन पुनः हासिल गर्न सफल भए । उनले देश र जनताप्रति नतमस्तक भएको बरदानमा पाएको सफलता थियो त्यो । नेपालमा पनि अवैधानिक रूपमा हिन्दुराष्ट्र र राजतन्त्र किनारा लगाएको १७ वर्ष हुनलाग्यो । परिवर्तनकारीहरूले आफू र आफन्तलाई मात्र परिवर्तन गरे, लोकतन्त्रको अस्लिल दृश्य देखाए । देश र जनताको बेवास्ता गरेकाले जनतामा नैराश्यता छाउँदै गएर आज बिद्रोहको अवस्थामा पुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहले देश र जनताका पक्षमा उभिने साहस गर्दैछन् ।
स्मरणीय छ, १७७६ मा स्वतन्त्र भएको अमेरिका आज विश्वशक्ति बनेको छ । बेलायतमा राजा जोनको कार्यकाल । जनताले दुःख पाएको उनले कहिल्यै देखेनन् वा देखेर पनि बेवास्ता गरे । अति भएपछि जनताले रन्निमिड भन्ने ठाउँमा गएका बेलामा राजा जोनलाई घेरा हालेर छाड्दै छाडेनन् । सन १२१५ को जुन १५ को दिन थियो, यही दिनमा जनताले राजालाई झुकाए र जनअधिकार अर्थात म्याग्नाकार्टामा सही गर्न बाध्य पारे । यही म्याग्नाकार्टा आज पनि बेलायतको संविधानसरह संसद, अदालत, प्रशासन सबैतिर सर्वमान्य छ । रोबर्ट ब्ल्याकबर्न यो पद्धतिको ब्याख्याता हुन् । इमान, नैतिकता र लोकलज्जाको भय र जनताप्रतिको जवाफदेहीता नै बेलायतको संविधान हो ।
नेपालमा ६ थान संविधान जारी भइसक्यो, स्थिरता आउन सकेन । वर्तमान संविधान सबैभन्दा असफल संविधान बनेको छ । कारण, यो संविधानलाई नेताहरूले यसरी कुल्चिए कि राजनीतिमा छाडा साँढे प्रवृत्ति नै हावी भयो । प्रशासनमा जंगली ध्रुवे हात्तीकै महामारी फैलियो । लोकलज्जा र नैतिक लक्ष्मणरेखा बाँकी नै रहेन । सुन्दर परिवर्तन र सभ्य समाज भन्दा भन्दै परिवर्तन कुरूप बनेको छ । जुन परिवर्तनमा जनताको आस्था बाँकी नै रहेन । यतिबेला राजतन्त्र चाहियो भन्ने हुरी चलेको छ । यो हुरीसँग कस्तो राजा, कस्तो राजतन्त्र भन्ने बहस पनि साथसाथै चलेको देखिन्छ । कारण के हो भने २००७ सालदेखि अनेकपल्ट व्यवस्था परिवर्तन भए, देश र जनताको अवस्था परिवर्तन गर्न सफलता हासिल भएन । जे जति देखियो, सकारात्मक परिवर्तनका दुस्परिणाममात्र देखिए । अहिले देखिएको जनताका तीब्र असन्तुष्टि र आक्रोश दुस्परिणामको प्रतिध्वनि हो । यहाँसम्म कि आमनागरिक त सेनाले सत्ता लिएर भड्किएको प्रजातन्त्रलाई सही बाटोमा ल्याउन अग्रसर हुनुपर्छ समेत भनिरहेका छन् । जसरी २०३७ सालमा सुधारिएको पञ्चायत कि यथास्थितिको पञ्चायत भन्ने प्रश्नमा जनमत संग्रह भएको थियो, १२ वर्ष पनि चलेन । ठिक त्यसै गरी अहिलेको लोकतन्त्रलाई सुधार्न सकिन्छ भन्नेहरू पनि बहसमा छन् । यही नेतृत्वले चल्छ भनेर पत्याउन कोही तैयार छैन । हिन्दु र राजतन्त्रवादीहरू लोकतान्त्रिक राजतन्त्रकै माँग गरिरहेका छन् । एउटा अभिभावक चाहिन्छ, हजार राजा पाल्न सकिन्न भन्ने आन्दोलनकारीको आवाज सुनिन्छ । यसैवीच आन्दोलनकारीहरू सर्वोत्कृष्ठ भनिएको २०४७ को संविधान ब्यूँताए सबै समस्याको समाधान निस्कने कुरा गर्छन् । स्मरणीय के छ भने २०४७ सालको संविधान निर्माताहरू नै लोकतन्त्रमा पनि मुख्य दलहरूकै रूपमा स्थापित रहेका छन् । आन्दोलनकारीहरू भन्छन्– २०७२ सालको संविधान आयातित विचारको प्रतिनिधित्व गर्छ, ०४७ को संविधान नेपालको माटो सुहाउँदो छ । जेहोस्, जनता र माटोले सुहाउँदो पद्धति खोज्यो । राजनीतिक हुरी चलिसक्यो, सुनामी नबनोस् । सबैमा चेतना रहोस् ।
राजतन्त्रवादीको आन्दोलनमा सत्तापक्ष र प्रतिपक्षका नेता, कार्यकर्तासमेत सामेल भएबाट स्पष्ट हुन्छ– लोकतन्त्र दुर्घटनामा परिसकेको छ । संविधानले काम गरेन । प्रश्न छ– राजतन्त्र आउने मार्ग छैन । देशको, जनताको आवश्यकता परेपछि राजतन्त्र आउने मार्ग जनविश्वास हो । जनता योभन्दा बढी आक्रोसित भए भने बेलायतमा कुन बिधिबाट राजतन्त्र पुनस्र्थापित भयो र  त्यो इतिहास पढ्दा उचित हुनेछ ।